कोरोना भाइरस दोस्रो विश्‍वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती : महासचिव गुटेरेस

चैत्र १९, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका करिब २ सय मुलुकमा फैलिइसकेको छ ।  बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ८ लाख ५९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरसको संक्रमण दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट हुन सक्ने सामाजिक तथा आर्थिक प्रभावबारेको रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुटेरेसले विश्वसामु दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो चुनौती आएको बताएका हुन् ।

महासचिव गुटेरेसले कोरोना भाइरसको प्रभावले विश्व अर्थतन्त्रलाई ठूलो धक्का पुग्ने पनि बताएका छन् । अहिलेसम्म कहिल्यै नदेखिएको तहको आर्थिक मन्दी निकट भविष्यमा निम्तन सक्ने चेतावनी उनले दिएका छन् । 

महासचिव गुटेरेसले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी रुपमै अझ कडा र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । राजनीतिक खेलबाट बाहिर आएर सबै एकठाउँमा उभिए मात्रै कोरोना महामारीविरुद्ध जित हात पर्ने पनि उनले बताएका छन् । ‘संयुक्त राष्ट्र संघको ७५ वर्षको इतिहासमा हामीले यस्तो खालको विश्वव्यापी स्वास्थ्य संकट देखेका थिएनौं ।’  महासचिव गुटेरेसले अगाडि भने, ‘कोरोना भाइरस संक्रमण स्वास्थ्य संकट मात्रै होइन ।  यो मानव संकट पनि हो । कोरोना भाइरस संक्रमणले समाजको कन्द्रमा प्रहार गरेको छ ।’

महासचिव गुटेरेसले धेरै देशले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को गाइडलाइन पालना नगरी आफूखुसी कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा लागेको पनि बताए ।

कान्तिपुर

Link copied successfully