वृद्धाश्रममा सामाजिक दूरी

आश्रममा बाहिरी व्यक्तिको आवागमन नियन्त्रण गरिएको छ । अत्यावश्यक सामग्री लिएर आउनेलाई पनि ज्येष्ठ नागरिकको निकट आउन दिइँदैन । मास्क अनिवार्य लगाउनुपर्छ । 

चैत्र १९, २०७६

जितेन्द्र साह

विराटनगर — कोभिड–१९ संक्रमणको सबैभन्दा बढी जोखिम ज्येष्ठ नागरिकलाई छ,’ ७९ वर्षीय जगतप्रसाद अर्ज्याल भन्छन्, ‘नागरिक समाजको आवागमन भइराख्ने वृद्धाश्रममा बस्ने त यतिखेर झन् सचेत हुनुपर्छ ।’ 

उनी विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रमका संस्थापक अध्यक्ष हुन् । यो आश्रममा २६ महिलासहित ४४ ज्येष्ठ नागरिक र उनीहरूको हेरचाहका लागि सात कर्मचारी छन् । यहाँ चार नेत्रहीन र हातगोडा नचल्ने नागरिक पनि बस्छन् । 


आश्रितलाई जोगाउन सामाजिक दूरी पालन गरिरहेको अर्ज्यालले बताए ।  उनका अनुसार आश्रममा बाहिरी व्यक्तिको आवागमन नियन्त्रण गरिएको छ । अत्यावश्यक सामग्री लिएर आउनेलाई पनि ज्येष्ठ नागरिकको निकट आउन दिइँदैन । 


‘वृद्धवृद्धा पनि आआफ्नै कोठामा बस्छन्, काम परे मात्र निस्कछन्,’ अर्ज्यालले भने, ‘दाताबाट सामग्री लिएर आफैंले बाड्छौं, भित्र बोलाउनै पर्ने भए हात नधोई आउन दिँदैनौं, मास्क नलगाई यहाँका बाआमासँग बोल्न दिँदैनौं ।’


खाँदा, बस्दा, टहल्दा र कुरा गर्दा आफूहरूले दूरी राखिरहेको सोलुखुम्बुकी ८० वर्षीया चन्द्रकुमारी कार्कीले बताइन् । उनले भनिन्, ‘दाताले धुन मिल्ने मास्क दिनुभएको छ, बाहिर डुल्न निस्कँदा सबैले लगाउँछौं ।’


छिमेकी भारतमा एक–एक व्यक्तिको लापरबाहीले पूरा समुदाय संकटमा परिरहेको आफूले टीभीमा हेरेपछि भाइरसबाट बच्न सामाजिक दूरीको महत्त्व बुझेको संस्थापक अध्यक्ष अर्ज्यालको भनाइ छ । 


‘आश्रितलाई धेरै कुरा नगर्न र तीन/चार फिटको दूरी बनाएर बस्न भनेको छु,’ उनले भने, ‘दुई समाजसेवीले पुग्ने गरी ७५ वटा मास्क पनि ल्याइदिनुभएको छ, हराइरहने हुनाले उहाँहरूसँग अतिरिक्त मास्क पनि मागेका छौं ।’ 


कोहीसँग लामो कुरा गर्दा मास्क फुकाल्नुपरे पनि कम्तीमा तीन फिटको दूरी राखेर आफूले गफ गर्ने गरेको अर्ज्यालले बताए । आश्रममा धेरै दिनसम्म पुग्ने गरी खाद्यान्न, तरकारी, तेल र औषधि रहेको उनले सुनाए । 

उदार मुटु भएका नागरिकको ठाउँ भएकाले अत्यावश्यक सामग्री माग्दा यहाँ जसले पनि दिने गरेको अर्ज्यालको भनाइ छ । आश्रमले जरुरी सामग्री पुर्‍याउन र सेवा गर्न आउनेका लागि हात धुनलाई मुख्य द्वार, खानेपानीको धारा र भान्छामा साबुनपानीको प्रबन्ध गरेको छ । ‘म आफैं र म नभएका बेला मेरा सहयोगीहरूले आश्रमको द्वारमै बसेर बाहिरबाट आउनेमाथि निगरानी गरिरहेका हुन्छौं,’ उनले भने । 



बाआमाका लागि खाना पाक्ने भान्छादेखि सुत्ने कोठासम्म सरसफाइको ध्यान राखेको आश्रमकी सहयोगी ४२ वर्षीया सरिना खातुनले बताइन् । ‘यतिखेर अत्यावश्यक कामबाहेक बाहिरी मान्छे नआइदिऊन् र आए पनि बाआमाको नजिक नबसिदिऊन् भन्ने चाहन्छौं,’ उनले भनिन् । आश्रितलाई पनि सकेसम्म कोठाभित्रै बस्न भनिएको छ । 


दाताहरूबाट प्रशस्त मात्रामा खाद्यान्न, तरकारी र नगद सहयोग प्राप्त भइरहेकाले बूढाबूढीलाई खानपिनमा कुनै समस्या नभएको अर्ज्यालले बताए । ‘के चाहिन्छ भनेर दाताहरूले फोन गर्नुहुन्छ, अपुग भएको भन्नेबित्तिकै ल्याइदिनुहुन्छ,’ उनले भने । 


आश्रममा दिनहुँ हुने तीन–चार सामूहिक भोजन कार्यक्रममा अहिले रोक लगाइएको संस्थापक अध्यक्ष अर्ज्यालले बताए । यो आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, पुण्य–स्मृति, तीज, दसैं, तिहार, बाबुआमाको मुख हेर्ने दिन, माघे संक्रान्ति तथा अन्य महत्त्वपूर्ण चाडबाडमा बाआमालाई आफैंले खुवाउने, लुगाफाटा र भाडावर्तन दिने चलन छ । ‘आफैंले खुवाउँछु भन्ने चाहना राख्ने पनि हुन्छन् तर त्यसको निगरानी आश्रमका कर्मचारीहरूले गर्छन्,’ उनले भने, ‘अचेल दिनमा एक दातालाई मात्र अनुमति दिन्छौं ।’ 


आश्रमको दिनचर्या बिहान ४ बजे सुरु भएर साँझ साढे ५ बजेसम्म जारी रहन्छ । यसपछि आश्रितहरू आराम गर्छन् । यो अवधिमा उनीहरूलाई चियासहित दुई छाक खाजा र दुई छाक खाना दिइन्छ ।


वृद्धवृद्धा अधिकतर पूर्वी पहाडी जिल्लाका छन् । ९९ प्रतिशत गरिब र एक प्रतिशत परिवारबाट अपहेलित छन् । २०६० मा पाँच लाख जनाबाट जनही पाँच रुपैयाँका दरले २५ लाख रुपैयाँ संकलन गरी अर्ज्यालले यो वृद्धाश्रम खडा गरेका हुन् । 


छ कठ्ठा तीन धुर जग्गामा सुरु भएको आश्रमसँग अहिले १२ कट्ठा जग्ग्गा छ । आश्रम परिसरको उत्तरपट्टि अढाई कट्ठा जग्गामा वृद्धवृद्धाले आफूलाई खानपुग्ने गरी मौसमी तरकारी र सागपातको खेती गर्छन् । 

जितेन्द्र

Link copied successfully