कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दृष्टिविहीनको लकडाउन : भोलि उठी के खाने केही थाहा छैन !

जनकराज सापकोटा

काठमाडौँ — लकडाउन अघिसम्म कपन छेउ हुँदै काठमाडौंका केन्द्रतिर सोझिएर बग्ने धोबीखोला उत्पातै गन्हाउँथ्यो । लकडाउनपछि खोला कम गन्हाएको छ । खोलाछेउका रेष्टुरेन्ट बन्द भएर होला कि मान्छे नै फोहोर फाल्न त्यतातिर धाउन छाडेर होला ?

दृष्टिविहीनको लकडाउन : भोलि उठी के खाने केही थाहा छैन !

यकिन थाह छैन, ३४ बर्षीय पूर्ण दृष्टिविहीन पदम लामालाई ।

कपन साततलेस्थित पाथीभरा टोल भनिने यही खोला किनारको गुजुमुज्ज झुपडपट्टीको घर नम्बर ४२ मा उनी आफूजस्तै पूर्ण दृष्टिविहीन श्रीमती सुजाता, पक्षघातले थलिएका बाबु र तीन कक्षमा पढ्दै घरेको छोरासहित बसिरहेका छन्।

लकडाउन हुन्नथ्यो भने पदम साँझ ढल्किने बेला सुन्धाराको इन्द्रेणी दोहोरी साँझमा अक्टोप्याड बजाउन पुगिसकेका हुन्थे । अनि सुजाता आफूजस्तै दृष्टिबिहीन साथीको समूहका महानगरपालिकाका कर्मचारी र पुलिसको आँखा छल्दै काठमाडौंको काँठतिर गीत गाइरहेकी हुन्थिन् ।

सरकारले पहिले घोषणा गरेको र पछि थपिएको समेत गरी दुई हप्ते लकडाउनले यो दम्पतीको दिनचर्या बिथोलिदिएको छ । ढोकाछेउको सानो बाल्टिनमा प्रत्येक दिन चामल घट्दो छ । नुन र तेलको बट्टा रित्तिँदो छ । पदमले सुस्तरी सुनाए, ‘लकडाउन सकिने दिन गनेर बस्याछु । कमाउने काम बन्दै भयो । कसरी पो छाक टार्ने हो !’

सुजाताको बुझाइमा लकडाउनले आफूजस्तो दृष्टिविहीनलाई झनै ‘डाउन’ पार्दो रैछ । उनले भनिन्, ‘आँखा देख्ने त जसोतसो जुगाड गर्लान् तर हामी कहाँ जाने भन्नुस् त ? न बाहिर निस्कन मिल्छ । न घरमा खानेकुरा नै पर्याप्त छ ।’ लकडाउनको दुई दिन अघिसम्म पनि सुजाता गीत गाउन हिँडेकी थिइन् । त्यतिबेलासम्म जसोतसो चलेकै थियो । तर दैनिन्दिनको कमाइमा भर पर्ने मान्छे, आम्दानीको मूल सुकेपछि त आपत हुने भइगयो ।

यो दम्पतीले लकडाउनपछि पनि अनेकतिर भनेर एक सिलिन्डर ग्याँस जुटाएका थिए । उनले भनिन्, ‘ग्याँस त छ । तर चामल र दाल भने सकिनै लाग्या छ । त्यो पनि सकिएपछि के पो पकाएर खाने ?’ सुजाताले बाल्टिनमा बाँकी ५ केजी चामलले कति दिन पुग्छ भन्ने हिसाब सुनाइन् र सोधिन, ‘फारु गरेर खाए ५ दिन कसो नपुग्ला है ?’

पदमको काम त लकडाउन भन्दा ५ दिन अघिबाटै बन्द भइसकेको थियो । ५ चैतमा नै सरकारले सांस्कृतिक केन्द्र, रंगशाला, जिमहाउस, फिल्म हलजस्ता भीड हुने ठाउँ बन्द गर्न निर्देशन दिइसकेको थियो । पदमले सुनाए, ‘तलब आउने बेला हुन लाग्याथ्यो । फ्याट्टै लकडाउन भइहाल्यो ।’ अलिकति भए पनि तलब दिइहाल्छन् कि भन्ने आशले उनले लकडाउनको कुरा सुन्नेबित्तिकै दोहोरी साँझका साहुलाई फोन पनि गरेका थिए । उनले सुनाए, ‘साहु त रामेछाप घर जान हिँडिसकेछन् । म त भकुण्डेबेसी आइपुगेँ । अब लकडाउनपछि दिम्ला भने ।’

लकडाउनपछि पनि के–के हुने हो भन्ने अत्याशभन्दा पनि लकडाउनकै बेला भोकभोकै परिने चिन्ताले पदमलाई सताएको छ । उनले सुनाए, ‘पसलमा सामान त छ भन्छन् नि । तर आफूसँग किन्ने पैसा हुनुपर्‍यो नि ! भोलि के खाने भोलि नै थाह लाग्ला ?’

..........

पदमकै जस्तो प्रश्न छ, एक सन्तानसहितका दृष्टिविहीन विक दम्पतिको पनि । लकडाउन अघिसम्म पनि २८ वर्षीय कृष्ण विक सडकमा गीत गाउँदै हिँड्थे । महानगरपालिकाले मूल सडक छेउछाउ गीत गाएको देख्नेबित्तिकै पक्राउ गर्न थालेपछि उनको टोली काँठ क्षेत्रतिर डुल्थ्यो । दिनभर गीत गाएपछि हात पर्ने थोरै आम्दानीले जसोतसो गुजारा चल्थ्यो । तर, लडडाउनपछि त उनलाई आपतै परेको छ ।

मासिक सात हजार भाडाको एक कोठे डेरामा बस्दा–बस्दा उनलाई पट्यार लागेको छ । त्योभन्दा पनि पीरचाहिँ खानेकुरा सकिँदै जाँदा लागेको छ । र, साथमा पैसा नहुँदा अत्यास लाग्न थालेको छ । गोर्कणेश्वर नगरपालिका–६ बस्ने कृष्ण सोमबार बिहान आफूजस्तै केही दृष्टिबिहीन साथी लिएर वडा कार्यलयमा राहतबारे बुझ्न गएका थिए । उनले सुनाए, ‘वडाका मान्छेले माथिबाट केही निर्णय आएको छैन भनेर फर्काइदिए ।’

कोठाको एउटा कुनामा रहेको दाल र चामलको भरमा उनले सात दिनको लकडाउन कटाइसके । तर, दाल चामलको पोको रित्तिदै जाँदा उनको बेचैनी बढ्दोछ । त्यसो त स्वाद फेर्न भन्दै उनी बचेखुचेको पैसा बोकेर एकपटक तरकारी किन्न पसलतिर पनि धाए । सुनाए, ‘पसल एकैछिन खुल्छ । आँखा देख्नेले टापटिप पारेर लगिहाल्छन । अनि केही बाँकी रहन्न । खाए पनि दाल–भात नखाए पनि त्यही भनेजस्तो भएको छ ।’

पूर्ण दृष्टिविहीन विष्णु विकको व्यथा झन् चर्को छ । नारायणटारमा चार छोराछोरी र दृष्टिविहीन श्रीमानसँग एक कोठे डेरामा खुम्चिएर लकडाउनका दिन कटाउँदा उनलाई औधी सास्ती भएको छ । अरु बेलामा उनी पशुपतितिर गीत गाएर बस्थिन् । मनकारीले दिएको पैसाले गुजारा चलाउँथिन् । लकडाउनपछि त उनलाई महिना मरेपछिको साढे चार हजार भाडा कसरी बुझाउने भन्ने भएको छ । त्योभन्दा पनि रासन पानी सकिँदै गएपछि मनमा ताप बढ्दै गएको छ ।

कृष्णसँगै सोमबार बिहान उनी पनि केही राहत पाइन्छ कि भनेर वडा कार्यलय धाएकी थिइन् । उनले भनिन्, ‘आज त केही पाइएन । तैपनि भोलि–पर्सि केही आउला कि भनेर वडाध्यक्षको नम्बर लिएर आको छु ।’

महामारीका बेला घरबाहिर निस्कन हुन्न भन्ने उनलाई थाहा छ । उनले भनिन्, ‘बस्न सके त आफ्नै लागि हो । तर, सानो कोठामा ६ जनाको परिवार खुम्चिएर बस्दा झर्को लाग्दो रछ ।’

लकडाउनमा परेर बानेश्वरमा काम गर्ने उनका भान्जा पनि अहिले थपिएका छन् । उनले भनिन्, ‘सबै गरेर सातजना कामै नगरी बस्दा र खाँदा खर्च उत्पात पर्दोरछ ।’ लकडाउनको पहिलो किस्ता सकिँदा उनीसँग बचेखुचेको सबै पैसा सकिइसकेको छ । डेराघरको पानी खान नसकिने भएपछि उनले ३५ रुपैयाँ पर्ने जारको पानी खाने गरेकी थिइन् । भनिन्, ‘अब त पानी किनेर खाने पैसा पनि छैन । बोरिङकै पानी उमालेर खानुपर्ला । हल्का गनाउने त हो !’

प्रकाशित : चैत्र १९, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?