सीमामा अलपत्र परेका १३ को प्रहरीद्वारा उद्धार

विदेशबाट आएकाको तथ्यांक संकलन गर्दै महानगरपालिका

चैत्र १९, २०७६

माधव घिमिरे

विराटनगर — भारतसँग सीमा जोडिएको जोगबनी नाकामा अलपत्र परेका १३ जनाको प्रहरीले उद्धार गरेको छ । उनीहरूको स्वास्थ्य परीक्षण गरेर घर पठाएको प्रहरीले जनाएको छ ।

भारतका विभिन्‍न सहरबाट आएका उनीहरू सीमामा अलपत्र परेका थिए । प्रहरीले उद्दार गरिएका व्यक्तिरूबारे थप जानकारी दिएको छैन ।

त्यस्तै, प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा विदेशबाट आएकाको तथ्यांक संकलनको काम भइरहेको छ । हालसम्म संकलित तथ्यांकअनुसार भारतबाहेकका अरु देशबाट आएकाको संख्या २ सय ६४ रहेको छ । महानगरले हरेक वडामार्फत तथ्यांक संकलन गरिरहेको हो ।

महानगरपालिका प्रमुख भीम पराजुलीले विदेशबाट फर्केकाहरूलाई अन्यत्र नगई घरमै बस्न भनिएको बताए । केहीलाई भने महानगरले स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

माधव

Link copied successfully