चर्चित अमेरिकी जाज संगीतकार वालेस रुनीको कोरोना संक्रमणबाट मृत्यु

चैत्र १९, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको कोरोना भाइरसको संक्रमणबाट मंगलबार मृत्यु भएको छ । उनको उपचारका क्रममा न्यु जर्सीको सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु भएको सीएनएनले जनाएको छ । उनी ५९ वर्षका थिए । 

रुनीको निधनको पुष्टि गर्दै उनकी प्रचारक लिडिया लिब्म्यानले भनेकी छिन्, ‘कोरोना भाइरसको संक्रमणबाट प्रसिद्ध ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको मंगलबार निधन भएको खबर सुनाउनुपर्दा म एकदमै दुखी छु ।’ रुनी गत बुधबार अस्पताल भर्ना भएका थिए । 

रुनीको निधनमा शोक व्यक्त गर्द अर्का अमेरिकी जाज संगीतकार माइल्स डेभिसले रुनी विश्वभरका जाज समुदायका लागि प्रेरणाको स्रोत रहेको र उनको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । 

रुनीले सन् १९९५ मा ग्रामी अवार्डसमेत प्राप्त गरेका थिए । ४० वर्षको सांगीतिक करियरमा उनले २० भन्दा बढी एल्बम निकालेका छन् । उनको पछिल्लो सांगीतिक एल्बम ‘ब्लू डन, ब्लू नाइट्स’ हो । 

कान्तिपुर

Link copied successfully