यूएईमा कोरोना भाइरसबाट थप दुई नेपाली संक्रमित

संक्रमित नेपालीको संख्या ८ पुग्यो

चैत्र १९, २०७६

होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको संख्या आठ पुगेको छ । मंगलबार थप दुई जनामा संक्रमण देखिएको छ । 

यूएईको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दुई नेपाली सहित ५३ जनामा संक्रमण देखिएको जानकारी दिइएको छ । ५३ जनामध्ये ३१ जना भारतीय छन् । यूएईमा संक्रमितको संख्या ६६४ पुगेको छ । साथै थप एक जनाको मृत्यु भएको छ । अहिलेसम्म युएईमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

आठ जना नेपालीमध्ये दुई जना निको भएर काममा फर्किसकेका छन् । ६ जना नेपालीको अवस्था स्थिर छ । नयाँ संक्रमितमध्ये अधिकांश संक्रमित व्यक्तिको सम्पर्कमा गएकाहरु रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।  

साउदीमा एकैदिन ११० जनामा देखियो 

साउदी अरबमा मंगलबार एकैदिन ११० जना कोरोना भाइरसको संक्रमण देखिएको छ । 

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५६३ पुगेको छ । संक्रमितमध्ये १६५ जना उपचार पश्चात् निको भएका छन् भने  १० जनाको मृत्यु भएको छ । नेपाली कामदारमा संक्रमण देखिएको छैन ।

कतारमा आप्रवासी कामदारको मृत्यु

कतारमा मंगलबार ८८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ५८ वर्षीय आप्रवासी कामदारको ज्यान गएको छ । उनी पुरानो रोगबाट ग्रसित थिए । ती कामदार कुन देशको भन्ने खुलाइएको छैन । 

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार दुई हजार २ सय ५१ जनामा परीक्षण गर्दा ८८ जनामा  कोरोना देखिएको हो । कोरोना संक्रमितको संख्या ७ सय ८१ जना पुगेको छ । ६२ जनालाई निको भएको छ । 

क्वारेन्टाइनमा राखिएकाको स्वास्थ्य परीक्षणबाट नै कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरु विदेशबाट फर्केका व्यक्तिहरुको सम्र्पकमा थिए । मन्त्रालयले कोरोना भाइरस संक्रमणलाई फैलिन नदिनको लागि लागु गरिएका निर्देशिकाहरुलाई प्रभावकारी रुपमा पालना गर्न नेपाली सहित सबै आप्रवासी कामदारलाई आग्रह गरेको छ । क्वारेन्टाइनमा नबस्ने २० जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई स्वास्थ्य अपराधसम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

कतारले जोखिम क्षेत्र पहिचान गरी झन्डै ५० हजार नेपाली सहित आप्रवासी कामदारलाई मार्च १७ देखि निगरानीमा राखेको छ । उनीहरुलाई क्याम्पबाट बाहिर आउजाऊ गर्न दिइएको छैन । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully