कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना प्रकोप : अमेरिकामा एकैदिन ८ सय बढीको मृत्यु

आउँदाे दुई हप्ता निकै कठिन र पीडादायी हुने राष्ट्रपति ट्रम्पको भनाइ
एजेन्सी

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा  ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना प्रकोप : अमेरिकामा एकैदिन ८ सय बढीको मृत्यु

जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप २४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६७ पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ ।

अमेरिकामा संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ भने निको हुनेको संख्या ६ हजार ४ सय ६१ पुगेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा अमेरिकामा मृत्यु हुनेको संख्या धेरै भएको छ । साथै चीनमा भन्दा अमेरिकामा संक्रमितको संख्या पनि दोब्बरले बढेको छ । बुधबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ५ पुगेको छ भने संक्रमितको संख्या करिब ८१ हजार रहेको छ । चीनमा निको हुनेको संख्या नै करिब ७६ हजार रहेको छ ।

न्युयोर्कमा मात्रै एक हजार बढीको मृत्यु

अमेरिकाको न्युयोर्कमा मात्रै एक हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगलबार मात्रै न्युयोर्कमा १८२ जनाको मृत्यु भएको छ । न्युयोर्क स्वास्थ्य विभागका अनुसार बुधबार बिहानसम्म न्युयोर्क सहरमा मात्रै करिब ४१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यस्तै पूरा न्युयोर्क राज्यमा करिब ७१ हजार संक्रमित पुगेको पनि विभागले जनाएको छ । न्युयोर्कलाई कोरोना भाइरसको नयाँ इपिसेन्टर मान्न थालिएको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा ६७ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको थियो ।

आगामी दुई हप्ता निकै कठिन र पीडादायी हुनेछन् : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ता निकै कठिन र पीडादायी हुने बताएका छन् । मंगलबार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले राष्ट्रव्यापी रुपमा सामाजिक दूरी कायम नराखे मृत्यु हुनेको संख्या अझ बढ्ने चेतावनी पनि दिएका छन् । ‘प्रत्येक अमेरिकी नागरिक आउने कठिन दिनका लागि तयार हुनुपर्छ । आउँदो दुई हप्ता अमेरिकाका लागि निकै पीडादायी र कठिन दिन हुनेछन् ।’

त्यस्तै ह्वाइट हाउसकी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण टिमकी संयोजक डाक्टर डेबोरा बिर्क्सले कोरोना भाइरससम्बन्धी संघीय गाइडलाइन पालना नगरे एक लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुन सक्ने चेतावनी दिएकी छिन् ।

त्यस्तै मंगलबार इटालीमा ८३७, स्पेनमा ७४८, फ्रान्समा ४९९, बेलायतमा ३८१, जर्मनीमा १३०, इरानमा १४१, बेल्जियममा १९२ र नेदरल्यान्ड्समा १७५ जनाको मृत्यु भएको छ ।

कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ४२ हजारको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या ८ लाख ५८ हजारभन्दा बढी पुग्दा एक लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।

प्रकाशित : चैत्र १९, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?