कोरोना भाइरसको संक्रमणबाट कंगोका पूर्वराष्ट्रपतिको मृत्यु 

एजेन्सी

पेरिस — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपाङ्गीको मृत्यु भएको छ । ८१ वर्षीय ज्याक्सको उपचारका क्रममा फ्रान्सको पेरिसमा मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । 

ज्याक्स कोरोना भाइरसको संक्रमण हुनुभन्दा पहिलेदेखि नै बिरामी रहेको उनका छोराले जानकारी दिएका छन् । ज्याक्स सन् १९७७ देखि १९७९ सम्म कंगोका राष्ट्रपति भएका थिए । उनलाई सन् १९७९ मा सत्ताच्यूत गरिएको थियो ।


सन् १९३९ मा कंगोको उत्तरी क्षेत्रमा जन्मिएका ज्याक्स सेनामा अधिकृत थिए । राष्ट्रपति मरियन एन्गौबीको हत्यापछि उनी कंगोको सत्तामा आएका थिए । उनलाई कंगोमा लामो समय शासन चलाएका डेनिस सासौ एन्गुएसोले पदच्यूत गरेका थिए । पछि उल्टै डेनिसको सरकार ढाल्न ‘कू’ को प्रयास गरेको भन्दै उनलाई सन् १९८७ देखि १९९० सम्म जेल हालिएको थियो ।


सन् १९९१ मा मुलुकमा बहुदलीय शासन व्यवस्था लागू भएपछि उनलाई रिहा गरिएको थियो । जेलबाट रिहा भएपछि उनीले र्याली फर डेमोक्रेसी एण्ड डेभलेपमेन्ट नामक पार्टी खोले । उनी सन् १९९२ को राष्ट्रपति निर्वाचनमा पनि उठेका थिए तर हारे । पछि उनले निर्वाचित राष्ट्रपति पास्कल लिसोबासँग गठबन्धन गरेर सन् १९९४ देखि १९९६ सम्म प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाले ।


सन् १९९७ मा कंगोमा गृहयुद्ध सुरु भएपछि ज्याक्स फ्रान्समा निर्वासनमा गएका थिए । त्यसपछि उनी सन् २००७ मा कंगो फर्किए । तर स्वास्थ्यमा समस्या आइरहेकाले उनी कंगो र फ्रान्स आउनेजाने गरिरहेका थिए ।

प्रकाशित : चैत्र १८, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भम्रण वर्ष २०२० खारेज, वैशाखदेखि सचिवालय विघटन

सुरज कुँवर

काठमाडौँ — कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले भम्रण वर्ष खारेज गरिएको बताउँदै यो वर्ष केही कार्यक्रम नहुने कान्तिपुरसँग बताए । 

यसअघि फागुन १८ गते उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले भम्रण वर्षलाई तत्काल स्थगन गर्ने निर्णय गरेको थियो । ‘यो निर्णयपछि नेपाल सरकारले चैत ९ गते भम्रण वर्ष कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो,’ पर्यटन सचिव अधिकारीले कान्तिपुरसँग भने, ‘बैसाख १ गते देखि सुरज वैद्य नेतृत्वको सचिवालय पनि बिघटन हुनेछ ।’

उनका अनुसार योबीचको अवधि कर्मचारीहरुको तलब, भुक्तानी, हिसाबकिताब मिलान तथा बरबुझारथका लागि हो । भम्रण वर्ष सचिवालयले सबै कागजात भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डलाई बुझाउने उनले बताए । सरकारले यस वर्ष भम्रण वर्षका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । वैद्यले हालसम्म करीब २० करोड रुपैयाँ खर्च गरिसकेको सचिवालयका एक कर्मचारीले बताए ।

भम्रण वर्ष सचिवालयमा राजनीतिक नियुक्ति र वैद्यले राखेका २२ जना कर्मचारी छन् । यो अभियान संचालन गर्न पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा करीब एक सय संस्था तथा व्यक्तिको मूल आयोजक कमिटि थियो भने सचिवालय संचालनका लागि १९ जना कार्यक्रम कार्यान्वयन उपसमितिमा थिए ।

सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठले हालसम्म गरेका कामसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउने र भौतिक सामाग्री पर्यटन बोर्डमा दिइने बताए । सचिवालयको आफ्नै कार्यालय भवन थिएन । केशरमहलमा राखिएको सचिवालय पछिल्लोपटक नागपोखरीस्थित निजी घरमा राखिएको थियो ।

कोरोना भाइरसको संक्रमण विश्वभर बढ्न थालेपछि फागुन १८ को मन्त्रीपरिषदमै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव गरेका थिए । यसमा सहमति भएपनि औपचारिकरुपमा सरकारले कुनै निर्णय गरेको थिएन ।

प्रकाशित : चैत्र १८, २०७६ १६:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×