ललितपुर — ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रभित्र डेरागरी बस्ने र दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने श्रमिकहरुको लगत संकलन थालेका छन् ।
नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण कोही पनि मजदुरहरु भोकै रहन नपरोस् भन्ने उद्देश्यले वडामार्फत लगत संकलन थालेको हुन् । गोदावरीका वडा कार्यालयले विपन्न, एकल, सुत्केरी, अपांगता भएको व्यक्ति, घरधनीको नागरिकताको फोटोकपी र परिवारको संख्याको समेत विवरण संकलन गरेको छ ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले दाता आएपछि प्याकेजमा राहत वितरण गर्ने बताए । ‘साता दिनका लागि पुग्ने दैनिक खाद्यवस्तु घरघरमा पुर्याउने योजना छ,’ उनले भने ।
महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले राहत वितरण गर्न आन्तरिक स्रोतबाट ५० लाख रुपैयाँ व्यवस्था गरेको बताए । ‘अति विपन्न, स्थानीय स्रोत नभएका, अनाथ र असाहयलाई वडाले गरेको प्रमाणितको आधारमा रासन दिने व्यवस्था मिलाएका छौं,’ उनले भने ।
महालक्ष्मीले अहिले प्रत्येक वडामा कीटाणुनाशक रसायन छर्कर्ने काम तीव्र गतिमा गरिरहेको जनाएको छ । गोदावरीले कोही बिरामी परेमा अस्पताल लैजान निःशुल्क एम्बुलेन्सको पनि व्यवस्था गरेको छ । नगरपालिकाको आकस्मिक कोषमा रकम सहयोग गर्न इच्छुक व्यक्तिले गोदावरी नगरपालिकाको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यस्तै ललितपुर महानगरपालिकाले पनि मातहतका वडाहरुलाई दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने श्रमिकहरुको विवरण दुई दिनभित्र पठाउन निर्देशन दिएको छ । महानगरद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘महानगरपालिकाको प्रत्येक वडाका अध्यक्ष र सदस्यलाई त्यस्ता व्यक्ति र परिवारको विवरण चैत १९ गते दिन १२ बजेभित्र बुझाउन अनुरोध गरिन्छ ।’ त्यसैगरी महानगरले वडावासीलाई आ– आफ्ना वडाअध्यक्ष र सदस्यसँग सम्पर्क गरी विवरण संकलन गर्ने काममा सहयोग गर्न अनुरोध गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनको निर्णयका कारण दैनिक ज्यालादारी गर्नेहरुलाई जीविकोपार्जन गर्न कठिन भएको छ । त्यस्ता श्रमिकको जीवन धान्न अप्ठ्यारो नपरोस् भनेर महानगरपालिको उक्त विवरण संकलन गर्न लागेको जनाइएको छ । विवरण प्राप्त भएपछि त्यस्ता श्रमिकलाई राहत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
