अलपत्र ३९० जना सल्यान फर्किए

चैत्र १८, २०७६

विप्लव महर्जन

सल्यान — लकडाउनका कारण विभिन्न जिल्लामा अलपत्र परेका तीन सय ९० जना सल्यान फर्किएका छन् । मजदुरीका लागि गएकाहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सल्यानको जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर फर्काएको हो । 

लमजुङबाट एक सय ३३, कास्कीबाट एक सय १७, पर्वतबाट ८२, गोर्खाबाट ३० र काठमाडौंबाट २८ जना फर्काइएका हुन् ।

कपुरकोटस्थित हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । ‘हिजोसम्म जिल्ला प्रशासन कार्यालयबाट समन्वय हुँदै आएको थियो । आजदेखि सीधै गृहले समन्वय गरेर पठाउने भएको छ,’ उनले भने । 

जिल्ला फर्किएकाहरूको स्वास्थ्य परीक्षण स्थानीय तहले पनि गरेका छन् । उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइन कक्षमा बस्न भनिएको छ । 

२० शय्याको क्वारेन्टाइन कक्ष निर्माण

शारदा नगरपालिकाले खलंगाको लुहापिङस्थित त्रिज माविमा २० शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ ।

विदेशबाट आएका नागरिकमा कोभिड–१९ को शंका लागे नगर स्वास्थ्य शाखाको निगरानीमा राख्न क्वारेन्टाइन कक्ष बनाइएको नगर प्रमुख सुरेश अधिकारीले बताए । ‘नगरपालिकाले आफ्नै स्रोतसाधन प्रयोग गरेर क्वारेन्टाइन कक्ष बनाएको हो,’ उनले भने ।

जिल्ला अस्पतालले नजिकै क्वारेन्टाइन कक्ष बनाएको छ । त्यहाँ ठाउँ नपुगे नगरपालिकाले बनाएको क्वारेन्टाइन कक्षमा राखिनेछ । नगर प्रमुख अधिकारीले भारत र तेस्रो मुलुकबाट आएकालाई घरभित्रै बस्न आग्रह गरे । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully