कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कालीगण्डकी करिडोर : घर फर्किने पर्खाइमा ११ सय मजदुर, ठेकेदार बेपत्ता

नारायण शर्मा

पूर्वी नवलपरासी — कालीगण्डकी करिडोरमा कार्यरत झन्डै ११ सय मजदुर घर जान भन्दै सोमबार बिहान आफ्नो झोलासहित तयारी अवस्थामा थिए ।

कालीगण्डकी करिडोर : घर फर्किने पर्खाइमा ११ सय मजदुर, ठेकेदार बेपत्ता

आइतबार मजदुर अलपत्र भएकोबारे समाचार प्रकाशन भएपछि ठेकेदारले घरजाने तयारी गर्नु भनेर उनीहरुलाई टेलिफोनबाट भनेका थिए ।


‘हामीहरु झोला, पोकापन्तुरा ठिक्क पारेर बाटो हेर्दै बस्यौं,’ बुलिङटार गाउँपालिका–६, गौडामा कार्यरत सल्यानका सन्तोष राउतले भने, ‘तर, हामीलाई लिन कोही पनि आएन ।’


सोमबार बिहानदेखि मोबाइल स्विच अफ गरी ठेकेदार बेपत्ता भएको उनले बताए ।राउतका अनुसार केही पैसा पनि दिने र गाडीको व्यवस्था गरीसबैलाई आ–आफ्नो घर पुर्‍याइदिने उनीहरुलाई आश्वासन दिइएको थियो । ठेकेदार बेपत्ता भएपछि पूर्वी नवलपरासीको दुर्गम पहाडी क्षेत्रमा निर्माणाधीन कालीगण्डकी करीडोरमा कार्यरत ११ सय मजदुर अलपत्र परेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन देशभर ‘लकडाउन’ गरिएको छ । जसका कारण करिडोर निर्माणमा संलग्न मजदुरहरु न घर फर्किन पाएका छन्, न सो क्षेत्रमा सुरक्षित रहेको बताउँछन् । ‘लकडाउन भएदेखि नै हामी अलपत्र छौं,’ उनले भने ।


राउतलाई गाउँकै खिमबहादुर गिरी (पेटी ठेकेदार) ले कामका लागि दुई महिनाअघि यहाँ लिएर आएका हुन् । ‘गिरी त हामीसँगै छन् तर उनलाई पनि ठेक्का दिने ठेकेदार बेपत्ता भएकोले उनीसमेत हामीजस्तै अलपत्र परेका छन्,’ उनले सुनाए । खिमबहादुरलाई पेटी ठेक्का दिने आशिषकन्स्ट्रक्सनका सञ्चालक ऋषि गौली एकाएक बेपत्ता भएका हुन् । उक्त कम्पनीका लेखापाल, फिल्ड हेर्ने कर्मचारी सबैजना सम्पर्कबाहिर रहेका उनले सुनाए ।


गौली चितवन निवासी हुन् । निर्माण कम्पनीले मजदुरहरुको चार करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको राउतले दाबी गरे ।‘हामीलाई काममा लगाउँदा गौलीले चैतेदसैं अगाडि नै सबै मदुरहरुको भुक्तानी दिने बताउँदै आएका थिए,’ उनले भने । करिडोरको उक्त खण्डमा हाल सल्यान, प्यूठान, रोल्पा, रुकुम, जाजरकोट, भोजपुर, दैलेख, इलाम, संखुवासभालगायतका मजदुर कार्यरत छन् । ठेकेदार बेपत्ता भएपछि उनीहरु घर फर्किन पाएका छैनन् ।


पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ठेकेदार भागेको भन्ने जानकारीअनुसार उनको खोजीका लागि प्रहरीलाई खटाइएको जानकारी दिए । निर्माण व्यवसायी महासंघसँग सम्पर्क गर्दा पनि ठेकेदारबारेपत्ता लगाउन नसकेको उनको भनाइ छ ।‘दुर्गम पहाडमा मजदुरले खानपनि नपाउने अवस्था आइसक्यो । ठेकेदार मजदुरहरु अलपत्र परेर भागेकोले खोजी भइरहेको छ,’ उनले भने ।


मजदुरहरुलाई निर्माण कमपनीले दिनुपर्ने बाँकी भुक्तानीका लागि आफूहरुले बैंक खुल्ला गरिदिने उनले प्रतिबद्धता जनाए । रकम भुक्तानी दिएर घरघर पठाउने जिम्मा निर्माण कम्पनीकै हुने उनको भनाइ छ ।


कालिगण्डकी करिडोरको सुनौली–कोरल खण्ड चार सय ७५ किलोमिटर लामो छ । त्यसको गैंडाकोट–डेढगाउँ खण्ड (पूर्वी नवलपरासीमा पर्ने) को लम्बाइ ७५ किलोमिटर छ ।उक्त खण्डको ठेक्का पाएको भारतीय कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले धेरै नेपाली पेटी ठेकेदारलाई फरक–फरक खण्ड निर्माणको जिम्मा लगाएको छ ।भारतीय ठेकेदारका प्रतिनिधिका बारेमा समेत केही पत्ता नलागेको प्रजिअ घिमिरे बताउँछन् ।

प्रकाशित : चैत्र १८, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?