कपिलवस्तु — कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलन नदिन बुद्ध जन्मस्थल लम्बिनीस्थित मायादेवी बन्द गरिएपछि ढोका बाहिर पूजाआजा थालिएको छ । मन्दिर बाहिर प्रार्थना गरी अनगारिका र गुरुमाहरु फर्कने गरेका छन् ।
लुम्बिनीस्थित गौतमी भिक्षुणी विहारका अनगारिका र गुरुमा साँझ गएर मन्दिर प्रवेश गर्ने मुख्य गेटअघि र छेउछाउ बसेर परित्रान पाठ गर्ने गरेका छन् । ‘जन्मस्थलमै पूजाआजा नहुनु राम्रो होइन,’ गौतमी भिक्षुणी विहारकी व्यवस्थापक खमेशी गुरुमाले भनिन्, ‘सुरक्षा सतर्कता अपनाउँदै ५/६ जना सहभागी भएर परित्रान पाठ गर्छौं ।’
महामारी फैलिएका बेला रोग न्यूनीकरणका लागि रत्न सूत्र पाठ गरिने बताइन् । ‘१५/२० मिनेटमै पूजाआजा सकेर फर्कन्छौं,’ उनले थपिन् ।
सरकारले मुलुक लकडाउन गरेपछि मन्दिर पनि बन्द गरिएको लुम्बिनी विकास कोष सुरक्षा शाखा प्रमुख खगेन्द्र काफ्लेले बताए । ‘नभए यहाँ शान्तिका लागि भन्दै घुम्न र प्रार्थना गर्न आउने धेरै हुन्छन्,’ उनले भने ।
