अमेरिकामा कोरोना महामारी : ट्रम्पले बेलैमा नबुझ्दा 'भयानक' हुँदै !

दिनेशजंग शाह

न्युयोर्क — कोरोना भाइरस (कोभिड १९)को संक्रमणले अमेरिका त्राही बनेको छ । एक लाख ६० हजार बढीको संक्रमितको संख्या रफ्तारले उक्लिदैछ । मृत्युवरण गर्नेको संख्या तीन हजार बढी भएको छ ।

अमेरिकामा कोरोना महामारी : ट्रम्पले बेलैमा नबुझ्दा 'भयानक' हुँदै !

राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दैछन्, ‘यदि मृतकको संख्या एक लाखकै हाराहारीमै रोकिए, त्यो उपलब्धि ठहरिनेछ ।’


यी हरफहरु काफी छन्, अमेरिकाको कहालीलाग्दो अवस्था चित्रण गर्न । चीन हुँदै युरोपपछि विश्वको ठूलो अर्थतन्त्र आखिर कसरी भाइरसको भयानक चपेटामा फस्यो ? यसका अनेकौं दृटान्तहरु देखिएका छन् । भाइरस अर्थात् प्रकोपको प्रकृति, अमेरिका केन्द्रित विश्व पर्यटनको सञ्जाल, जनसंख्याको विविधस्वरुप आदि ईत्यादि । चिकित्सा विधामा अब्बल मानिने महाशक्ति अमेरिकामा, प्रकोपले यस्तो भयावह स्थिति लेला भन्ने धेरैको कल्पनामा थिएन ।


कहाँनिर चुक्यो अमेरिका ? अर्थात् नेतृत्वले कसरी स्थितिलाई नजरअन्दाज गर्‍यो ? सबैको ध्यान, औंला ट्रम्प प्रशासनतर्फ सोझिएको छ । उसो त संघीय संरचनाले अमेरिकामा यस्तोखाले प्रकोप वा महामारीमा राज्य सरकारहरुलाई बढ्ता अधिकार प्रदान गरेको छ । तथापि संघीय सरकारले चाहेको बखत, स्थितिमाथि हस्तक्षेप गर्न सक्ने व्यवस्था र चलन छ । ट्रम्प चुके वा बेवास्ताको हद पार गरे ?


यो बहसमा यहाँनिर दुई घटनाक्रम उल्लेखनीय छन् । पहिलो– २०१८ को मे महिना, एटलान्टा । लाखौं मानिस मारिएको १९१८ को महामारीको सय बर्ष पुगेको उपलक्ष्यमा कार्यक्रम आयोजित थियो । प्रमुख वक्ताको रुपमा ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षा परिषद अर्न्तगत ग्लोबल हेल्थ एवं सुरक्षा युनिट निर्देशक लुसियाना बोरियोले मन्तव्य दिँदै भनिन्, ‘भाइरस संक्रमित सरुवा माहामारी, अमेरिकाको लागि एक नम्बरको स्वास्थ्य खतरा हो । पूर्व तयारी नगरे, त्यो भाइरसलाई हामीले हाम्रो सिमानामा रोक्ने सक्ने छैनौं ।’


त्यसको अर्को दिन ट्रम्प प्रशासनले उनको नेतृत्वको युनिट नै खारेज गरिदियो । ट्रम्पको तर्क थियो ‘अमेरिकामा सरुवाको प्रकोपको संभावना शून्य छ । यस्तो ‘ब्युरोक्रेसी’ जरुरी छैन ।’ सन् २०१४ मा ईबोला संक्रमणलाई नियन्त्रणका लागि ओबामा प्रशासनले सो युनिट गठन गरेको थियो । हालै एक पत्रकारले सोही बिषय प्रश्न उठाउदा, ट्रम्पले प्रश्न नै हचुवा रहेको तर्क गर्दै भने, ‘मलाई त्यो बारे केही थाहा छैन ।’


दोस्रो, गत जनवरीको पहिलो सातामै अमेरिकी गुप्तचर निकायहरुले चीनमा देखिएको भाइरसले अमेरिकालाई नराम्रो प्रभाव पार्ने चेतावनीसहितको रिपोर्ट ट्रम्प प्रशासनलाई दिएका थिए । प्रशासनले खासै चासो दिएन । उल्टै भनियो, अमेरिकालाई त्यो भाइरसले छुन सक्दैन ।


यी घटनाक्रमहरुले ट्रम्प प्रशासनको लापारबाहीलाई पुष्टि गर्छ । पछिल्लो समय कोरोना भाइरसको स्थितिले अमेरिका आक्रान्त छ । तर, ट्रम्पका अभिब्यक्तिहरु भिन्न मात्रै छैनन्, गैरजीम्मेवारी पूर्ण छन् । जस्तो कि मृतकको संख्या एक लाखसम्म सिमित भए, त्यो उपलब्धि मानिने अभिव्यक्ति, लज्जास्पद हो । ट्रम्प, सही तथ्यांक र विगतलाई चुनौती दिँदै आफू अनुकुल गलत तथ्यांकहरु पस्किदै छन् । जसले कोरोना कहरलाई झनै भयावह बन्न थप मद्दत गर्दैछ ।


तथ्य वा तर्कको राजनीति, ट्रम्पका लागि खासै अर्थ राख्दैन भन्ने पक्षलाई विगतको उनको तीन बर्षेकाले प्रष्टाउँछ । सरुवा रोग नियन्त्रणसम्बन्धी संघीय निकाय (सीडिसी) ले कोभिड १९ को प्रकोपबाट दुई देखि १५ लाखसम्मको मृत्यु हुनसक्ने बताइरहेको छ । तर, जनताको जीवनमरणको सवालमा समेत उनी गम्भीर देखिँदैनन् । गत जनवरीमा कोरोनाको पहिलो केस अमेरिकामा देखिदां, सीडिसीले यो संख्या चाँडै सयौंमा फैलिनसक्ने चेतावनी दिँदासमेत उनले भने, ‘एउटा मानिस चीनबाट आएको छ । तर, हामी पूर्ण नियन्त्रणमा छौं । सब ठीक हुन्छ ।’


जनवरी ३० मा उनको अर्को भनाई आयो, ‘हामी कहाँमात्र पाँच जनामा देखिएको छ । विश्वास छ, सबै कुरा गजब हुनेछ ।’


संक्रमितहरुको तथ्यांक रफ्तार उक्लिरहेको पृष्ठभूमिमा भने उनी गम्भीर बनेनन् । मार्च ५ मा उनले टुईटरमा लेखे, ‘मात्र एक सय २९ केस । अरु देशरुको दाँजोमा धेरै कम ।’ जबकि त्यो मितिमा बेलायत, अष्ट्रेलिया र क्यानडामा, अमेरिकामा भन्दा कम संक्रमित थिए ।


कोरोना भाइरसको सर्न्दभमा पनि ट्रम्पका भनाईहरुमा एकरुपता छैन । मार्च १२ को पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसबारे प्रतिप्रश्न गर्दै भने, ‘यो वास्तवमा के हो ? भाइरस हो कि किटानु वा अरु केही रसायन । मलाई थाहा छैन ।’ यी अभिव्यक्तिहरुले उनको लापरबाहीलाई मात्र पुष्टि गर्दैन, उनको प्रशासनको दुरदृष्टिता माथि सहजै प्रश्न खडा गर्छ ।


संक्रमितको संख्या बढ्दै गएपछि ट्रम्प प्रशासनले चीनलगायतका युरोपका २६ देशलाई प्रतिबन्ध त लगायो । तर, आफना नागरिक, ग्रिनकार्डधारी र तिनका परिवारलाई ती देशहरुमा निस्फ्रिकी आवातजावत गर्न दिइरह्यो । जसले संक्रमणको आगोमा घिउ थपेको विज्ञहरुको दावी छ ।


पूर्णत ‘लकडाउन’, संक्रमण रोक्ने एकमात्र उपाय रहेको पृष्ठभूमिमा समेत यो बिषय, अमेरिकाको हकमा गम्भीर बनेको छैन । मानवअधिकार, स्वतन्त्रताको बिषय उठेको छ । अर्थतन्त्रलाई बढ्ता महत्व दिइएको जस्तो देखिन्छ । अत्याधिक संक्रमित राज्य न्युयोर्क र संघीय सरकारबीच उचित समन्वय देखिदैन । जसले संक्रमणलाई अत्याधिक फैलाउन मद्दत गरिरहेको छ । अमेरिकाका लागि कोरोना कहरभन्दा आर्थिक संकट ‘भयानक’ हुने पटाक्ष गरिरहेका ट्रम्पको यो शैली र रवैयामाथि लगाम लगाउने हैसियतका उनका सल्लाहकार र आसेपासेहरुले राख्दैनन् ।


रिचर्ड निक्सनका सुरक्षा सल्लाहकार एवं चर्चित अमेरिकी कुटनीतिज्ञ हेनेरी किसिन्जरको एउटा चर्चित भनाई छ । खुफिया एजेन्सीको चेतावनीको प्रतिउत्तरमा उनी बारम्बार भन्थे, ‘तिमीहरु मलाई चेतावनी दिन त सक्छौं तर मलाई परिवर्तन गर्न सक्दैनौं ।’ यस्तैखाले ट्रम्पको हठले, अमेरिका एउटा भयानक दुर्घटनाको संघारमा छ ।

प्रकाशित : चैत्र १८, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?