रसुवा — गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ ले तत्काल रसुवागढी नाका खुलाउन नहुने भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । तत्काल नाका खुलाउन नहुने भन्दै सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको वडा अध्यक्ष दावा दिण्डुप तामाङले बताए । रसुवागढी नाका गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ भित्र पर्दछ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआएसम्म तत्काल नाका खुलाउन नहुने उनले बताए । देश लकडाउन भएको अवस्थामा नाका खोल्ने निर्णयले जनतामा त्रास सिर्जना भएको भन्दै यो निर्णय तत्काल फिर्ता लिन वडाले आग्रह गरेको छ ।
अहिलेको अवस्थामा नाका खोल्दा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै जिल्लाबासीले सामाजिक सञ्जालमार्फत तत्काल नाका नखोल्न आग्रह गर्दै आएका छन् । कोरोना भाइरस नियन्त्रण नहुँदासम्म वडा क्षेत्रमा कसैलाई पनि आवतजावत गर्न नदिने तामाङले बबताए । नाका खोल्ने कुराले सीमा क्षेत्रका स्थानीयहरु त्रासमा रहेका छन् उनले भने । रसुवागढी र तातोपानी नाकाबाट अत्यावश्यक सामग्री आयात गर्नका लागि सरकारले हाल बन्द अवस्थामा रहेका दुवै नाका खोल्ने निर्णय गरिसकेको छ ।
