कोरोना भाइरस प्रकोप : इटालीमा ‘लकडाउन’ अवधि थपियो

एजेन्सी

रोम — नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न संघर्षरत इटालीले ‘लकडाउन’ अवधि थप गरेको छ । इटालीले ‘इस्टर’ अर्थात् अप्रिल १२ सम्म ‘लकडाउन’ अवधि थप गरेको हो । 

कोरोना भाइरस प्रकोप : इटालीमा ‘लकडाउन’ अवधि थपियो

पछिल्लो तीन सातादेखि इटाली ‘पूर्ण रूपमा बन्द’ छ । अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन भने मानिस भेला हुने सबै सार्वजनिक क्षेत्र बन्द छन् । देशैभर सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ र ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालित छन् ।


मृतक संख्याका आधारमा कोरोनाबाट विश्वमै सबैभन्दा प्रभावित इटालीमा थप संक्रमित संख्यामा भने सोमबार कमी आएको छ । आइतबार ३ हजार ८ सय १५ जना संक्रमित पुष्टि भएकोमा सोमबार मात्र १ हजार ६ सय ४८ थप संक्रमित पाइएका छन् । नयाँ संक्रमित संख्यामा कमी आए पनि मृतक संख्यामा भने पुनः वृद्धि भएको छ । अघिल्लो दिन ७ सय ५६ जनाको मृत्यु भएको इटालीमा सोमबार थप ८ सय १२ जनाको मृत्यु भएको छ ।


मंगलबारसम्म इटालीमा ११ हजार ५ सय ९१ जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भइसकेको छ भने १ लाख १ हजार ७ सय ३९ जना संक्रमित पुष्टि भएकोमा १४ हजार ६ सय २० जना निको भएका छन् । संक्रमण र मृत्यु दर रोक्न हरसम्भव प्रयासमा रहेको इटालीले अबको एक साताभित्र कोराना संकट उच्च बिन्दूमा पुग्ने र त्यसपछि घट्दै जाने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित : चैत्र १८, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?