लकडाउनमा चलाएको भन्दै चिनियाँ कम्पनीको ४ गाडी तोडफोड

न्यादी जलविद्युत् आयोजनाका प्रशासकीय अधिकृतसहित २ घाइते
आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका—६ ठूलीबेंसीका स्थानीयले गाउा नजिकै निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको गाडी तोडफोड गरेका छन् । लकडाउनको बेलामा सवारीसाधन चलाएको भन्दै स्थानीयले आयोजनाका २ वटा ट्रकसहित एउटा लोडर र निर्माण कम्पनीका प्रमुख चढ्ने गाडी सोमबार तोडफोड गरेका हुन् । 

लकडाउनमा चलाएको भन्दै चिनियाँ कम्पनीको ४ गाडी तोडफोड

स्थानीयले बनाएको मुढासहितको बार (तगारो) भत्काएपछि चिनियाँ कामदार र स्थानीय युवाबीच झडप भएको थियो । स्थानीयले लकडाउनको समय गाउँमा कुनै पनि सवारीसाधन चलाउन नदिने निर्णय गर्दै गाउँका तीनतिरका सडकमा बार बनाएका थिए ।


आयोजना निर्माण गरिरहेको चिनियाँ कम्पनीले टर्बाइन बोकेको २ वटा ट्रक भित्र्याउन खोजेपछि स्थानीय युवाले रोकेका थिए । रोक्ने क्रममा चिनियाँ कामदारले स्थानीयमाथि आक्रमण गर्न खोजेपछि केही बेर झडप भएको र ढुंगामुढा गर्न थालेपछि स्थानीयले चिनियाँ कामदार र आयोजनाका कर्मचारीमाथि कुटपिट गरेका थिए ।


स्थानीयले आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौला र दोभाषे रामेश्वर यादवलाई कुटपिट गरेका छन् । आयोजनाका सहायक जनसम्पर्क अधिकृत विष्णुराज घिमिरेका अनुसार उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ओमप्रकाश पुनसहितको टोली, खुदी प्रहरी चौकी र बाहुनडाँडा प्रहरी चौकीबाट टोली खटिएको थियो ।


सोमबार सांँझ अबेरसम्म स्थानीयलाई सम्झाउने प्रयास गर्दा पनि कुरा नमिलेपछि प्रहरी टोली फर्किएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्रमान गुरुङले घटनाको अनुसन्धान भइरहेको र स्थानीय साथै चिनियाँसँग कुरा मिल्ने प्रक्रियामा रहेको बताए ।


चीनमा कोरोना संक्रमण फैलिरहेको बेला क्वारेन्टाइनमा समेत नबसी चिनियाँ कामदार गाउँमा आएको भन्दै स्थानीयले विरोध गरेका थिए । लकडाउनको बेला चिनियाँले खुलेआम काम गरिरहेपछि स्थानीयले यसको विरोधसमेत गर्दै आएका थिए । न्यादी आयोजनाको निर्माणमा खटिएका चिनियाँ प्राविधिक नयाा वर्ष मनाउन जनवरी पहिलो साता चीन गएका थिए । ६१ जना चिनियाँमध्ये ४ जना यहीं बसेर ५७ जना गएकोमा ३८ जना फर्किएका छन् । १९ जना अझै फर्किएका छैनन् ।


फर्किएकामध्ये फेब्रुअरी अन्तिम साता निर्माणस्थलमा आएको र स्थानीयले क्वारेन्टाइनमा बस्न अनुरोध गर्दा पनि चिनियाँले पालना नगरेको स्थानीयले सुनिल खनालले बताए । सरकार र स्थानीयले भनेको नमान्दै चिनियाँले ज्यादती गर्न थालेपछि प्रतिकार गरेको उनले सुनाए ।


आयोजनाको निर्माण चिनियााँकम्पनी झि ज्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले गरिरहेको छ । चिनियाँको सुपरभिजनमा नेपाली कामदारले समेत निर्माण गर्दै आएको न्यादी आयोजनामा यसअघिका नेपाली कामदारसमेत प्रायः फर्कन नसकेको स्थानीय बताउँछन् ।


मर्स्याङ्दी—६ र ७ बीच ङादीखोलामा बुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजनाको काम करीब ८५ प्रतिशत सकिएको छ ।

प्रकाशित : चैत्र १८, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?