दाङ — घर भाडामा बस्दै आएकी एक नर्सलाई कोरोना संक्रमणको त्रासले कोठाबाट निकालेको भन्दै प्रहरीले मंगलबार घोराहीमा एक घरबेटीलाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी २० वर्षीया सिर्जना खड्कालाई घरबाट निकालेको भन्दै प्रहरीले घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी नारायण आचार्यलाई पक्राउ गरेको हो ।
घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत खड्कालाई हस्पिटल जाँदाआउँदा कोरोना संक्रमण हुनसक्ने भन्दै घरबेटी आचार्यले कोठामा बस्ने नदिएको गुनाशो आएको थियो । उक्त गुनासोका आधारमा आचार्यलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । आचार्य घोराही उपमहानगरपालिका–२ को कार्यालयमा वडा सचिव पद्मा कार्यरत रहेको उनले जानकारी दिए ।
मंसिरदेखि कोठा भाडामा बस्दै आएकी खड्का चैत १५ देखि कोठा भाडामा बस्न नपाएको गुनासो आएको थियो । उनले हाल होटेलमा बस्दै आएको बताएकी छन् ।
अहिले घरबेटी आचार्यलाई पक्राउ गरेर छलफल गराउन खोज्दा पीडित भनिएकी नर्स सम्पर्कमा आउन नचाहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । घटनाबारे यथार्थ बुझेर निष्कर्षमा पुग्ने उनले बताए । कोरोना त्रासकै कारण स्वास्थ्यकर्मीलाई घरभाडामा बस्न कठिन भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गरी सबै घरबेटीहरुलाई यस्तो व्यवहार नगर्न अनुरोध गरेको थियो ।
