काठमाडौं — अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनिफिङबीच कुराकानी भएको छ । चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार शुक्रबार बिहान दुई देशका राष्ट्रपतिबीच टेलिफोनमार्फत कुराकानी भएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चिनियाँ समकक्षी सीसँग कुराकानी भएको बताएका छन् । साथै उनले कोरोना भाइरसको नियन्त्रणका लागि सँगसँगै अगाडि बढ्ने पनि बताएका छन् । ‘भर्खरै चीनका राष्ट्रपति सीसँग प्रभावकारी कुराकानी भएको छ । हामीबीच पूरा विश्वलाई तहसनहस बनाएको भाइरसको बारेमा कुराकानी भयो । चीनले धेरै काम गरिसकेको छ र उसलाई भाइरसका बारेमा राम्रोसँग थाहा छ । त्यसैले हामी मिलेर अघि बढ्दैछौँ । धेरै सम्मान,’ ट्रम्पले लेखेका छन् ।
यसअघि ट्रम्पले कोरोना भाइरसलाई ‘चाइना भाइरस’ बताउँदै आएका थिए । आज भने उनले ‘भाइरस’ मात्रै भनेका छन् । त्यस्तै चिनियाँ सहयोग लिएर अमेरिकामा फैलिएको कोरोना संक्रमण नियन्त्रणमा लिने संकेत गरेका छन् ।
अमेरिका कोरोना भाइरसको संक्रमणका हिसाबले अहिले पहिलो नम्बरमा रहेको छ । शुक्रबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ८५ हजारभन्दा बढी पुगेको छ भने एक हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । चीन, इटालीपछि अब अमेरिकालाई कोरोना भाइरसको इपिसेन्टर मानिएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको नियन्त्रणका लागि पूरा विश्व एक भएर लड्नुपर्ने बताउँदै आएका छन् । पछिल्लो समय चीनमा भाइरसको संक्रमण नियन्त्रणउन्मुख रहेको छ । चीनले पछिल्लो समय विभिन्न देशमा व्यक्तिगत सुरक्षा उपकरण, औषधि र चिकित्सक पठाइरहेको छ ।
यो पनि पढ्नुहोस्
