भारतमा कोभिड–१९ को त्रास : रेलसेवा समेत बन्द

चैत्र ९, २०७६

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्न आइतबारदेखि १० दिनका लागि यात्रुवाहक रेलसेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको रेल मन्त्रालय अन्तर्गतको रेल्वे बोर्डको बैठकले त्यस्तो निर्णय लिएको हो ।

कोरोना पुष्टि भएका १२ जनाले अघिल्लो साता रेलबाट यात्रा गरेको पुष्टि भएपछि बोर्डले यस्तो निर्णय लिएको बताइएको छ । 

बोर्डको निर्णय अनुसार ९ देखि १८ चैतसम्म रेल सेवा बन्द रहनेछ । लोकल रेल र कोलकाता मेट्रो रेल भने आइतबार रातिसम्म सञ्चालन गर्न छुट छ । साथै आइतबार बिहान ४ बजेअघि नै  छुटेका रेलहरुलाई भने गन्तव्यसम्म पुग्‍न दिइने जनाइएको छ । 


देशभर अत्यावश्यक वस्तुको अभाव नहोस् भन्‍नका लागि मालबाहक रेल सेवा भने सुचारु राखिने रेल्वे मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि टिकट काटिसकेकाहरुले दुई महिनाभित्र पैसा फिर्ता लिन पाउने गरी आवश्यक व्यवस्था पनि बोर्डले गरेको छ । भारतीय समाजको धमनीका रुपमा लिइने रेल्वे सेवा नै बन्द भएपछि भारतको सार्वजनिक यातायात पूर्ण रुपमा प्रभावित हुनेछ । 


भारतमा सार्वजनिक यातायातका साधनहरुमध्ये रेल सबैभन्दा बढी लोकप्रिय छ । भारतमा रेल चढेरै दैनिक साढे दुई करोड यात्रुहरु विभिन्‍न गन्तव्यमा पुग्‍ने गर्छन् । भारतीय रेल्वे अन्तर्गत करिब १४ हजार यात्रुबाहक र ९ हजार भन्दा बढी मालवाहक रेल चल्छन् । भारतीय रेल्वेमा १४ लाख भन्दा बढी कर्मचारी रहेको बताइन्छ । 

कोरोना भाइरस

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully