१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारतमा कोभिड–१९ को त्रास : रेलसेवा समेत बन्द

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्न आइतबारदेखि १० दिनका लागि यात्रुवाहक रेलसेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको रेल मन्त्रालय अन्तर्गतको रेल्वे बोर्डको बैठकले त्यस्तो निर्णय लिएको हो ।

भारतमा कोभिड–१९ को त्रास : रेलसेवा समेत बन्द

कोरोना पुष्टि भएका १२ जनाले अघिल्लो साता रेलबाट यात्रा गरेको पुष्टि भएपछि बोर्डले यस्तो निर्णय लिएको बताइएको छ ।

बोर्डको निर्णय अनुसार ९ देखि १८ चैतसम्म रेल सेवा बन्द रहनेछ । लोकल रेल र कोलकाता मेट्रो रेल भने आइतबार रातिसम्म सञ्चालन गर्न छुट छ । साथै आइतबार बिहान ४ बजेअघि नै छुटेका रेलहरुलाई भने गन्तव्यसम्म पुग्‍न दिइने जनाइएको छ ।


देशभर अत्यावश्यक वस्तुको अभाव नहोस् भन्‍नका लागि मालबाहक रेल सेवा भने सुचारु राखिने रेल्वे मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि टिकट काटिसकेकाहरुले दुई महिनाभित्र पैसा फिर्ता लिन पाउने गरी आवश्यक व्यवस्था पनि बोर्डले गरेको छ । भारतीय समाजको धमनीका रुपमा लिइने रेल्वे सेवा नै बन्द भएपछि भारतको सार्वजनिक यातायात पूर्ण रुपमा प्रभावित हुनेछ ।


भारतमा सार्वजनिक यातायातका साधनहरुमध्ये रेल सबैभन्दा बढी लोकप्रिय छ । भारतमा रेल चढेरै दैनिक साढे दुई करोड यात्रुहरु विभिन्‍न गन्तव्यमा पुग्‍ने गर्छन् । भारतीय रेल्वे अन्तर्गत करिब १४ हजार यात्रुबाहक र ९ हजार भन्दा बढी मालवाहक रेल चल्छन् । भारतीय रेल्वेमा १४ लाख भन्दा बढी कर्मचारी रहेको बताइन्छ ।

प्रकाशित : चैत्र ९, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?