कोरोना प्रकोप : भारतमा पनि एक जनाको मृत्यु भएको पुष्टि

फाल्गुन २९, २०७६

एजेन्सी

नयाँदिल्ली — भारतले कोरोना भाइरस(कोभिड–१९) बाट एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । बिहीबार राति कर्नाटक राज्य सरकारले कोभिड–१९ को संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरेको हो । 

कर्नाटकको कलबुर्गीका ७६ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणबाट गत मंगलबार मृत्यु भएको राज्य सरकारका स्वास्थ्य मन्त्री बी श्रीरामुलुले जानकारी दिएका छन् । भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । 


कर्नाटक स्वास्थ्य विभागका आयुक्तका अनुसार ती व्यक्तिको मंगलबार नै मृत्यु भए पनि कोभिड–१९ संक्रमणको आशंका मात्रै गरिएको थियो । तर ल्याब रिपोर्टपछि उनको मृत्युको कारण भाइरस संक्रमण नै देखिएको आयुक्तले जानकारी दिए ।


प्रशासनले ती व्यक्ति को–कोसँग सम्पर्कमा थिए भन्नेबारे अनुसन्धान गरिरहेको र उनीसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्न थालेको पनि कर्नाटक सरकारले जानकारी दिएको छ । मृत्यु हुने व्यक्ति साउदी अरेबियाबाट फर्किर्एको र यसअघि तेलंगानाको एउटा अस्पतालमा उपचार गराएको पनि खुल्न आएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

दिल्लीका स्कुल, कलेज र सिनेमा हल बन्द गर्ने निर्णय

कर्नाटक सरकारले बुधबारसम्म ती व्यक्तिको मृत्यु कोभिड–१९ को संक्रमणबाट नभएको दाबी गर्दै आएको थियो । ती व्यक्तिमा निमोनिया, हाइपरटेन्सन र दमबाट पीडित रहेको नेसनल इन्स्टिच्युट अफ् भाइरोलोजी, पुनेको ल्याब रिपोर्टपछि मात्रै कोभिड–१९ संक्रमणको पुष्टि भएको स्वास्थ्यमन्त्री श्रीरामुलुले जानकारी दिएका छन् । 

गत फेब्रुअरी २९ मा साउदीबाट फर्केलगत्तै ती व्यक्ति बिरामी परेको र मार्च ५ मा कलबुर्गीकै अस्पतालमा भर्ना गरिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कलबुर्गीबाट हैदराबाद लगिएको र त्यसपछि मंगलबार राति हैदराबादबाट एम्बुलेन्समार्फत कर्नाटक ल्याउँदै गर्दा ती व्यक्तिको मृत्यु भएको पनि बताइएको छ । 


कर्नाटक सरकारले मृत्यु भएका व्यक्तिको व्यक्तिगत जानकारी खुलाएको आरोपमा कलबुर्गी जिल्लाका प्रमुख स्वास्थ्य अधिकारीलाई निलम्बन पनि गरेको छ । 


बिहीबार रातिसम्म भारतमा ५७ भारतीय र १७ विदेशी नागरिकमा कोभिड–१९ को संक्रमण देखिएको छ ।  

कोरोना भाइरस

एजेन्सी

Link copied successfully