अस्पतालको सूचना बङ्ग्याएर कोरोना संक्रमणबारे अफवाह फैलाउनेविरुद्ध कारबाही गर्न माग

फाल्गुन २९, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउने क्रम बढिरहेको छ । कहिले विभिन्न उपचारका विधि त कहिले संक्रमणबारे काल्पनिक कुरा फैलाएर त्रास फैलाउने काम भइरहेको छ । 

बिहीबार दिउँसो भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ । भरतपुर अस्पतालले बिहीबार दिउँसो कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालेको आवश्यक कदमका बारेमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो । त्यसमा कोरोनाका बारेमा सही सूचना दिनका लागि पोस्टर, पम्पलेट तथा फ्लेक्स प्रिन्ट तयार पारिएको साथै ५ शय्याको आइसोलेसन वार्डलाई बढाएर १९ शय्या बनाइएको कुरा थियो । 


त्यस्तै विज्ञप्तिमा अस्पतालमा अहिलेसम्म २ जनाको नमुना परीक्षण गरिएको र नेगेटिभ देखिएको जानकारी पनि थियो । विज्ञप्तिमा लेखिएको थियो, ‘यस अस्पतालबाट हालसम्म २ जनाको नमुना परीक्षण गरिएकोमा नेगेटिभ देखिएको र आज फागुन २९ गते थप एकजनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको छ ।’


तर यही सूचनालाई फोटोसपमार्फत ‘नेगेटिभ’ लाई ‘पोजिटिभ’ बनाएर सामाजिक सञ्जालमार्फत केही व्यक्तिले भ्रम फैलाउने काम गरिरहेका छन् । 

भरतपुर अस्पतालले आधिकारिक सूचनालाई तोडमोड गरी अफवाह फैलाउनेविरुद्ध कारबाही गर्न सम्बन्धित निकायमा जानकारी अनुरोध गरिसकेको जनाएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully