चितवन — विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरस(कोभिड–१९)को संक्रमण रोक्न भरतपुरको सरकारी अस्पतालले थप तयारी सुरु गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार अस्पतालको आइसोलेसन वार्डमा बेड संख्या बढाएर १९ पुर्याइएको छ । अस्पतालले शंकास्पद लक्षण देखिएका व्यक्तिलाई सिधै सो वार्डमा लैजाने प्रबन्ध मिलाएको छ ।
अस्पतालका सूचना अधिकारी लिला पौडेलका अनुसार बिहीबार मात्रै शंकास्पद एकजना व्यक्ति वार्डमा आएका छन् । उनको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाएको पौडेलले जानकारी दिए । अस्पतालले यो समेत गरी तीनजना शंकास्पद व्यक्तिको नमुना परीक्षण गरेको छ । अघिल्ला दुईजनामा कोभिड–१९ को संक्रमण नदेखिएको सूचना अधिकारी पौडेलले बताए ।
अस्पतालले जिल्लावासीमा विशेष अनुरोध गरेर सजग र सचेत रहँदै शंकास्पद लक्षण देखिएमा परीक्षणका लागि आउन अनुरोध गरेको छ । ‘पछिल्लो १० दिनभित्र रुघाखोकी वा ज्वरो आएको, कोरानाको जोखिम रहेको देशमा दुई हप्ताभित्र भ्रमण गरेको वा त्यस्ता देशको भ्रमण गरेको व्यक्तिको सम्पर्कमा रहेकाहरुलाई सिधै अस्पतालको कोठा नम्बर २०१ मार्फत सेवा दिने व्यवस्था मिलाइएको छ’ अस्पतालका सूचना अधिकारी पौडेलले भने ।
शंकास्पद लक्षण लिएर परीक्षणका लागि अस्पताल आउने व्यक्तिहरु अन्य सामान्य व्यक्तिको सम्पर्कमा नपुग्नु भनेर अस्पतालले विशेष सावधानी अपनाएको पौडेलले बताए । यसका साथै आइसोलेसन वार्डलाई पनि पहिलाकोभन्दा सुविधायुक्त र परिस्कृत बनाएको उनले बताए । संक्रमण रोक्नका लागि अस्पतालले सचेतना कार्यक्रम चलाउने, भाइरसको बारेमा जानकारी समेटिएका पोस्टर, पम्प्लेट र फ्लेक्सहरु प्रयोग गर्ने योजना बनाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा.श्रीराम तिवारीको अध्यक्षतामा बिहीबार बैठक बसेर यी निर्णयहरु भएका हुन् । बैठकमा र्यापिड रेस्पोन्स टिमका सदस्यहरु र अस्पतालका विभागीय प्रमुखहरुसमेत सहभागी थिए । अस्पतालमा यसअघि तीन सदस्यीय काभिड–१९ आउटब्रेक म्यानेजमेन्ट टिम थियो । बैठकले यसलाई पनि विस्तार गरेर १३ सदस्यीय बनाएको छ ।
