२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

कोरोनाविरुद्ध लड्न भारतले ब्युँत्यायो ब्रिटिसकालीन कानुन

नेपालसँगको सीमामा पनि थप कडाइ गरिने
सुरेशराज न्यौपाने

नयाँदिल्ली — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीको संज्ञा दिएको कोरोना भाइरस’ (कोभिड–१९) को संक्रमणविरुद्ध जुध्न भारत सरकारले करिब १२५ वर्ष पुरानो कानुन लागू गरेको छ । मन्त्रिपरिषदका सचिव राजीव गौबाको अध्यक्षतामा बुधबार बसेको समीक्षा बैठकले १८९७ मा बनेको महामारी रोगविरुद्धको ऐनअन्तर्गतको खण्ड दुईको व्यवस्था लागू गर्ने निणय गरेको हो ।

कोरोनाविरुद्ध लड्न भारतले ब्युँत्यायो ब्रिटिसकालीन कानुन

उक्त व्यवस्था लागू भएपछि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गर्ने कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी निर्देशन तथा सूचनाहरु सबै राज्य र केन्द्र शासित प्रदेशहरुले अनिवायर् रुपमा लागू गर्ने छ । केन्द्रबाट जारी गरिने निर्देशन तथा सूचनाहरुमा प्रदेश सरकारहरुले त्यसलाई सार्वजनिक सूचनाहरु जारी गर्दै कार्यान्वयनमा लग्नुपर्ने छ ।


पुसको दोस्रो साता चीनको वुहानबाट सुरु भएर विश्वका १२० भन्दा बढी देशमा फैलिएको कोभिड–१९ ले हालसम्म सवा लाख बढी मानिस संक्रमित भइसकेका छन् भने त्यसले चार हजार तीन सयभन्दा बढीको ज्यान लिइसकेको छ । भारतमा पनि कोरोनाको संक्रमितको संख्या दिनहुँ बढ्दो छ । बिहीबार बिहानसम्म भारतमा ६२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबारसम्म कोरोनाको संक्रमितको संख्या ५० मात्र रहेकोमा एकै दिनमा थप १२ जनामा कोरोना पुष्टि भएपछि भारत सरकारले संक्रमण थप फैलिन नदिने विभिन्न निर्णयहरु लिएको थियो । त्यसअन्तर्गत सवा सय वर्ष पुरानो महामारीविरुद्धको कानुनलाई पनि लागू गरिएको हो ।

भारतको तत्कालीन ब्रिटिस शासनकालीन उक्त कानुनले कुनै पनि महामारी फैलिएको बेला केन्द्रलाई आवश्यकता हेरी आमनागरिकलाई लक्षित गर्दै विशेष सूचनाहरु जारी गर्न सक्ने अधिकार दिएको छ ।


उक्त कानुनले राज्य सरकारहरलाई रेल वा कुनै माध्यमबाट यात्रा गर्ने यात्रुहरुको परीक्षणका लागि विशेष नियम लागू गर्ने अधिकारी पनि दिएको छ । साथै कुनै पनि बन्दरगाहमा आएको जहाजको परीक्षण गर्ने र यात्रुहरुलाई नियन्त्रण गर्न सक्ने अधिकारको व्यवस्था पनि उक्त कानुनमा छ । करिब सवा सय वर्ष पुरानो कानुन तत्कालिन ब्रिटिस सरकारले प्लेगको महामारीविरुद्ध लड्‍न जारी कार्यान्वयनमा ल्याएको थियो । सन् १८९६ मा फैलिएको प्लेगले एक दशकभित्रै करिब दश लाखभन्दा बढीको ज्यान लिएको थियो ।


साथै बुधबारको बैठकले भारत सरकारले १५ अप्रिलसम्मका लागि विदेशीहरुका लागि प्रवेश निषेध गर्ने निर्णय समेत गरेको छ । शुक्रबारदेखि लागू हुने गरी कुटनीतिक नियोगका अधिकारी र यूएनलगायतका अन्तर्राष्ट्रिय निकायका अधिकारी बाहेकका लागि जारी गरिएको भिसा १५ अप्रिलसम्मका लागि निलम्बलन गरिएको छ । साथै सडकमार्गबाट हुने प्रवेशलाई भने अझै खुला राखिएको छ । तर, सडकमार्गबाट हुँदै भारत आउने विदेशी नागरिकहरुलाई पनि नाकामा कडा स्वास्थ्य जाँच गरेपछि मात्र प्रवेश दिइने भने जनाइएको छ । यसबाट भारत आउन नेपालीहरु पनि प्रभावित हुनेछन् । यससम्बन्धमा गृह मन्त्रालयले बेग्लै सूचना जारी गर्ने जनाइएको छ ।


संक्रमणले विश्वव्यापी रुप लिएपछि बिहीबार मात्र विश्व डब्लूएचओले यसलाई महामारीको संज्ञा दिएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?