भारतले नेपालसँगका साना नाका बन्द गर्ने संकेत

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही प्रमुख नाकाहरुबाहेक अन्य नाकाहरु बन्द गर्ने संकेत गरेको छ ।  बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँग जोडिएका नाकाहरुमा कडाइ गर्ने संकेत गरिएको थियो ।

भारतले नेपालसँगका साना नाका बन्द गर्ने संकेत

‘सडकमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन जाँच चौकीसहितका नाकाहरु सीमित गरिनेछ,’ उक्त सूचनामा भनिएको छ । सूचनामा भनिए जस्तो पर्याप्त स्वास्थ्य परीक्षण सुविधा केही ठूला नाकाहरुमा मात्र उपलब्ध भएको हुँदा अन्य साना नाकाहरु बन्द गर्ने सम्भावना छ । यससम्बन्धमा भारतको गृह मन्त्रालयले बिहीबार नै थप निर्णय लिने सम्भावना छ ।


दिल्लीस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले भारतीय पक्षबाट औपचारिक जानकारी नभए पनि बुधबारको सूचनामा सीमित नाकाहरु खोल्ने संकेत गरेको जनाए । ‘आपूर्ति व्यवस्था अवरुद्ध नहुने गरी ठूला नाकाहरु मात्र खुला राख्ने गरी निर्णय हुने सम्भावना छ,’ ती अधिकारीले भने । यदि साना नाकाहरु बन्द गर्ने निर्णय गरिएकोमा त्यसबाट रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत आउने नेपालीहरु प्रभावित हुनेछन् ।

कोरोनाविरुद्ध लड्न भारतले ब्युँत्यायो ब्रिटिसकालीन कानुन

यसले विशेषगरी तराईका ग्रामीण भेगमा रहेका साना नाकाहरु प्रयोग गर्दै आएकाहरुलाई असर पार्नेछ । नेपाल–भारतबीचको एक हजार ७ सय ५१ किलोमिटर खुला सीमामा औपचारिक रुपमा करिब दुई दर्जन नाकाहरु सञ्चालनमा छन् । जसमध्ये आधा दर्जन प्रमुख नाका पर्छन् । स्रोतका अनुसार भारतले कोरोनाको प्रसारको जोखिम रोक्नका लागि तिनै प्रमुख नाकाहरु मात्र खुला राख्ने गरी निर्णय गर्ने प्रबल सम्भावना छ ।


भारतले म्यानमारसँगको सीमा गत मंगलबारदेखि नै बन्द गरिसकेको छ । यसैगरी भारतले शुक्रबारदेखि लागू हुने गरी सबै विदेशी नागरिकलाई भारत प्रवेशमा रोक लगाउने निर्णयसमेत गरिसकेको छ । बुधबार बसेको उच्च अधिकारीहरुको बैठकले शुक्रबार १२ बजेदेखि लागू हुने गरी विदेशीहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । तर, त्यो भिसा लिनुपर्ने मुलकुका नागरिकहरुका लागि मात्र हो । भुटान र नेपालका नागरिकले भारत आउन भिसा लिनुपर्दैन ।


त्यसैगरी भारतले तेस्रो मुलुकका नागरिकहरुलाई हवाई मार्ग हुँदै आउन रोक लगाए पनि नेपालीहरुका लागि भने अहिलेसम्म कुनै रोकतोक छैन । कोरोना भाइरसको संक्रमणको शंका लागेको खण्डमा भने हवाई मार्ग हुँदै भारत आउने नेपालीहरुले पनि पनि १४ दिनको क्वारेन्टाइनमा भने अनिवार्यमा रुपमा बस्नै पर्छ ।


प्रकाशित : फाल्गुन २९, २०७६ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?