बेइजिङ — चीनले कोरोना भाइरस(कोभिड–१९) को चरम प्रकोप सकिएको जनाएको छ । बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको बताएका हुन् ।
नयाँ संक्रमण नदेखिएको र प्रकोप घट्दै गएको पनि प्रवक्ता फेङले बताए । प्रवक्ता फेङले भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको बताए ।
त्यस्तै बुधबार हुबेईबाहिर जम्मा ७ जनामा संक्रमण देखिएको र त्यसमध्ये पनि ६ जनामा आयातित संक्रमण भएको उनले जानकारी दिए । चीनमा बुधबार ११ जनाको मात्रै मृत्यु भएको छ । बिहीबारसम्म चीनमा ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ६९ जनामा संक्रमण देखिएको छ ।
मंगलबार मात्रै चिनियाँ राष्ट्रपति सी चिनिफिङ हुबेईको वुहानका विभिन्न अस्पताल पुगेर बिरामी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई भेटेका थिए । चीनले पछिल्लो समय बिरामी निको भएको भन्दै १६ वटा अस्थायी अस्पतालहरु बन्द गरिसकेको छ ।
कोरोना भाइरस विश्वव्यापी महामारी : विश्व स्वास्थ्य संगठन
गत डिसेम्बरमा वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमण अहिले विश्वका १२० भन्दा बढी देशमा फैलिइसकेको छ । बिहीबार दिउँसोसम्म एक लाख २६ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ ।
चीनमा पछिल्लो समय संक्रमित र मृतकको संख्या घट्दै गए पनि युरोप र अमेरिकामा ह्वात्तै बढेको छ ।
