दिल्लीका स्कुल, कलेज र सिनेमा हल बन्द गर्ने निर्णय

फाल्गुन २९, २०७६

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको दिल्ली राज्य सरकारले कोराना भाइरस महामारी घोषणा गर्दै ३१ मार्चसम्मका लागि सबै सिनेमा घर, विद्यालय तथा कलेजहरु बन्द गर्न निर्देशन दिएको छ । 

परीक्षा हुन बाँकी कलेज र स्कुलहरुलाई समेत बन्द गर्ने घोषणा गरिएको छ । हालसम्म दिल्लीमा ६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमणको जोखिमलाई न्यून गर्न दिल्लीको अरविन्द केजरीवाल नेतृत्वको सरकारले पछिल्लो निर्णय लिएको हो । 


यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरुको विदेश भ्रमणमा पनि रोक लगाएको जनाएका छन् । मोदीले ट्विट मार्फत् त्यसको जानकारी गराएका हुन् । साथै उनले नागरिकहरुलाई अत्यावश्यक काममा बाहेक यात्रा नगर्न पनि अनुरोध गरेका छन् । 


भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साथै हवाइअड्डामा १० लाख ५७ हजारभन्दा बढी यात्रुको स्वास्थ्य परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरु मध्ये १७ जना विदेशी छन् । 

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully