कोरोना नियन्त्रणका लागि इटालीको कडा कदम : डेढ करोड क्‍वारेन्टाइनमा

विवाहलगायत समारोह आयोजना नगर्न भनिएको छ भने बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै रेस्टुरेन्ट खोल्न अनुमति दिइएको छ । रेस्टुरेन्ट जानेहरूलाई पनि कम्तीमा एक मिटर पर बस्नुपर्ने नियम लगाइएको छ ।

फाल्गुन २६, २०७६

एजेन्सी

रोम — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न संघर्षरत इटालीले आइतबार एक करोड ६० लाख जनतालाई क्वारेन्टाइनमा जान भनेको छ । कुल ६ करोड ४८ हजार जनसंख्या रहेको इटालीमा भाइरस फैलिएको लम्बार्डीसहित उत्तरी क्षेत्रका अन्य १४ प्रान्तका जनतालाई अप्रिल ३ सम्म घरमै बस्न भनिएको हो ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आइतबार पत्रकार सम्मेलन गर्दै क्वारेन्टाइनका लागि घरमै बस्न निर्देशन दिए । उनले यसबाहेक देशैभरका विद्यालय, जिम, संग्रहालय, रात्रीक्लब र मानिस भेला हुने स्थान बन्द गर्ने घोषणा पनि गरेका छन् । जनतालाई विवाहलगायत समारोह नगर्न भनिएको छ भने बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै रेस्टुरेन्ट खोल्न अनुमति दिइएको छ । रेस्टुरेन्ट जानेहरूलाई पनि कम्तीमा एक मिटर पर बस्नुपर्ने नियम लगाइएको छ ।


नयाँ नियमअनुसार कसैले पनि भाइरसले सबैभन्दा धेरै प्रभावित लोम्बार्डी क्षेत्र प्रवेश गर्न पाउने छैनन् भने आपतकालीन अवस्थाबाहेक त्यहाँका बासिन्दा पनि बाहिर निस्कन पाउने छैनन् । इटालीको उत्तरी क्षेत्रमा एक करोड मानिसको बसोबास छ । प्रतिबन्ध मोडेना, पार्मा, पियाकेन्जा, रेग्गियो इमिलिया, रिमिनी, पेसारो र उर्बिनो, एलेस्सान्ड्रीय, अस्टि, नोभारा, भर्बानो कुसिओ ओस्सोला, भर्सेल्ली, पाडुवा, ट्रेभिसो र भेनिसमा पनि लागू हुने प्रधानमन्त्री कोन्टेले जनाएका छन् ।


‘यी क्षेत्रभित्र वा बाहिर आपतकालीन अवस्था वा स्वास्थ्य समस्याबाहेक आवतजावत मनाही छ,’ कोन्टेले सञ्चारकर्मीसँग बताए । ‘हामीले राष्ट्रिय आपत्कालको सामना गर्नु परिरहेकाले भाइरस फैलने दरलाई सीमित पार्न जरुरी छ र अस्पतालमा भीडभाड हुने अवस्थाबाट रोक्नु छ,’ उनले भने, ‘सरकारले घोषणा गरेअनुसार गर्न निकै अप्ठेरो छ भन्ने हामीलाई थाहा छ तर जनताको स्वास्थ्यका लागि सबैले त्याग गर्नुको विकल्प पनि त छैन ।’ क्वारेन्टाइनमा जान गरिएको आग्रहलाई अवज्ञा गरे तीन महिनासम्म जेल हुने चेतावनी पनि दिइएको छ ।


कोरोना भाइरस रोकथामका लागि चीनबाहिर चालिएको हालसम्मकै यो कडा कदम हो । चीनले पनि कोरोनाको उद्गमस्थल वुहानलाई पूर्ण रूपमै बन्द गराएको थियो र अझै पनि केही हदसम्म यो जारी छ । भाइरस संक्रमण नफैलियोस् भनेर चालिएको चिनियाँ प्रतिबन्धलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको थियो । संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठनले इटालीलाई पनि रोकथामका लागि केन्द्रित हुन सल्लाह दिएपछि क्वारेन्टाइनसहितका अन्य उपाय अपनाइएको हो । साथै, संक्रमितको उपचारका लागि थप चिकित्सक र नर्स भर्ना गर्ने तयारी पनि भइरहेको इटालीले जनाएको छ ।


इटालीमा सोमबार बिहानसम्ममा संक्रमितको संख्या सात हजार तीन सय ७५ पुगेको छ भने ३६६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा अहिलेसम्मकै सबैभन्दा बढी १३३ जनाको मृत्यु भएको छ भने थप एक हजार ४ सय ९२ जनामा संक्रमण देखिएको छ ।


अन्यत्रको अवस्था के छ ?


विश्व स्वास्थ्य संगठनका अनुसार डिसेम्बर अन्तिममा चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण विश्वभर एक लाख दश हजारमा पुष्टि भइसकेको छ । मृत्यु हुनेको संख्या लगभग तीन हजार ८ सय पुगेको छ, जसमा अधिकांश चीनका छन् ।


भाइरस उद्गमस्थल चीनमा भने संक्रमित संख्यामा भारी कमी आइरहेको छ । जनवरीदेखि यता पछिल्लो २४ घण्टामा सबैभन्दा कम अर्थात् मात्रै ४० जनामा कोरोना भाइरस पुष्टि भएको छ भने २२ जनाको मात्रै मृत्यु भएको छ । मृतक र संक्रमित सबै वुहानका हुन् । यसको अर्थ चीनका अन्य क्षेत्रमा संक्रमित देखिएका छैनन् भने कसैको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन । क्वारेन्टाइनका लागि प्रयोग गरिँदै आएको चीनको फुजियान प्रान्तस्थित एउटा होटल भत्किँदा १० जनाको मृत्यु भएको छ । अमेरिकाको सान फ्रान्सिस्कोमा रोक्न नदिइएको एउटा पानीजहाजमा रहेका तीन हजार पाँच सय ३३ यात्रुमध्ये २१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नजिकैको ओकल्यान्डस्थित तटमा लगिएको छ । गत साता राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले नै सम्बोधन गरेको एउटा कार्यक्रममा सहभागी भएका एक जनामा पनि कोराना संक्रमण भएको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन् । अमेरिकामा ५ सयभन्दा बढी संक्रमित भएका छन् भने मृतक संख्या २२ पुगेको छ । संक्रमित संख्या ७६ पुगेसँगै न्युयोर्कमा आपतकाल घोषणा गरिएको छ ।


अर्जेन्टिनामा एक संक्रमितको मृत्यु भएसँगै कोभिड–१९ का कारण पहिलो पटक दक्षिण अमेरिकामा पनि कसैको ज्यान गएको छ । अस्ट्रेलियामा एक ८० वर्षीय पुरुषको मृत्यु भएसँगै कोभिड–१९ ले ज्यान जानेको संख्या तीन पुगेको छ । फ्रान्स, जर्मनी, स्पेन, बेलायत र नेदरल्यान्ड्सजस्ता युरोपेली राष्ट्रमा पनि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । चीनबाहिर कोरोनाले प्रभावितमध्येको एक मध्यपूर्वी राष्ट्र इरानमा संक्रमित संख्या ६ नाघेको र मृतक संख्या १९४ पुगको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । नयाँनयाँ राष्ट्रमा संक्रमण देखिने क्रम नरोकिएपछि संगठन प्रमुख ट्रेडोस अधानोम ग्रेहेबेयससले भाइरस रोकथामका उपायलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।


जो कोरोनाविरुद्ध लागिरहेका छन्


बेइजिङ– मार्च ३, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । सदाकै वर्ष झैं यस वर्ष पनि विश्वभर विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइएको छ । धेरैजसो क्षेत्रमा सीमित र औपचारिक कार्यक्रम मात्रै गरिए । कारण एउटै, कोरोना संक्रमणको त्रास । कतिपय देशले भेला हुन प्रतिबन्ध लगाएका कारण पनि यस वर्ष नारी दिवसका दिन ठूला गतिविधि कमै भए । 


कोरोना संक्रमण फैलिएको चीनको हुबेई प्रान्तस्थित वुहानमा यस वर्षको नारी दिवस अस्पताल, आइसोलेसन वार्ड, आईसीयू र बिरामीबीचमै मनाइएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा लडिरहेका महिला स्वास्थ्यकर्मीले कार्यक्षेत्रमै नारी दिवस मनाएका विवरण चिनियाँ सञ्चार माध्यमले प्रकाशन गरेका छन् ।


हालसम्म चीनका विभिन्न क्षेत्रबाट हुबेईमा २८ हजार महिला स्वास्थ्यकर्मी पठाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार हुबेईमा खटाइएका तीन सय ४६ स्वास्थ्य समूहका कुल ४२ हजार ६ सय स्वास्थ्यकर्मीमध्ये महिलाको यो संख्या दुई तिहाइभन्दा बढी हो । ‘विगत दुई महिनादेखि उनीहरू दिनरात नभनी कोरोना भाइरस प्रकोपसँग लडिरहेका छन् । कोभिड–१९ बिरामीको उपचारमा महिला स्वास्थ्यकर्मीले अग्रपंक्तिमा रहेर काम गरेका छन्,’ चीनको राष्ट्रिय स्वास्थ्य आयोगकी अधिकारी गुओ यान्होङले राजधानी बेइजिङमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइन् ।


सामाजिक सञ्जालका चिनियाँ प्रयोगकर्ताले पनि कोरोना प्रकोपसँग लडिरहेका महिला स्वास्थ्यकर्मीको सम्मानमा दिनभरजसो पोस्ट गरेका छन् । राज्य सञ्चालित चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले कोरोना प्रकोपसँग जुध्न खटिएका महिलाका परिवारमा फेरिएको पुरुषको दिनचर्याबारे विवरण प्रकाशन गरेको छ ।


दक्षिण कोरियामा मृत्युदर घट्दै


दक्षिण कोरियामा नयाँ संक्रमणदरमा कमी देखिएको छ । गत साताको मध्यतिर संक्रमण दर दैनिक पाँच सयभन्दा बढी रहेकामा अहिले उक्त संख्या घटेको कोरियाको संक्रामक रोग नियन्त्रण तथा रोकथाम निकायले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र ३४१ जनामा नयाँ संक्रमण पुष्टि भएसँगै दक्षिण कोरियामा संक्रमित संख्या सात हजार तीन सय ८२ पुगेको छ । दक्षिण कोरियामा मृतकको संख्या ५१ पुगेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार कोभिड–१९ संक्रमणका कारण देशभर ३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वव्यापी चिन्ताको विषय बनेको कोरोना संक्रमणका कारण दक्षिण कोरियामा भएको मृत्युदर ०.७ प्रतिशत रहेको छ ।


दक्षिण कोरियाको थेगु सहर र उत्तरी ग्योङसाङ प्रान्तमा मात्र सात हजार एक सय तीन व्यक्तिमा संक्रमण भेटिएको छ । संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी व्यक्ति यही सहरकै छन् । राजधानी सोल र ग्योङ्गी प्रान्तमा क्रमशः एक सय २० र एक सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दक्षिण कोरियाले कोरोना भाइरस संक्रमणका कारण देशभर स्वास्थ्य आपत्कालको घोषणा गरी नियन्त्रण प्रयास गरिरहेको छ ।


करिब २५ लाख जनसंख्या रहेको थेगुलाई दक्षिण कोरियामा भाइरस संक्रमणको उद्गमस्थल मानिएको छ । सरकारले यस क्षेत्रलाई संक्रमण खतराका दृष्टिकोणले ‘विशेष क्षेत्र’ घोषणा गरी नियन्त्रण अभियानमा जुटेको छ । थेगुमा रहेको धार्मिक अल्पसंख्यक समुदाय सिन्चोन्जीबाट चर्चमा प्रार्थनाका लागि पुगेका व्यक्तिबाट यो संक्रमण फैलिएको विश्वास गरिएको छ ।


दक्षिण कोरियामा संक्रमितमध्ये ७९.४ प्रतिशत व्यक्तिमा सामूहिक रूपमा संक्रमण भेटिएको र यसको ६२.८ अर्थात् चार हजार ४८२ संक्रमित व्यक्ति सिन्चोन्जी समुदायका रहेको कोरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् । मास्कलगायत अन्य आवश्यक वस्तुको अभाव हुन नदिन सरकारले प्रतिबद्धता व्यक्त गरेको छ भने सबै जनतालाई अत्यावश्यकबाहेक भीडभाड हुने स्थलमा नजान भनिएको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully