घरैमा मास्क बनाएर बिक्री

फाल्गुन २५, २०७६

कान्तिपुर संवाददाता

बागलुङ — कोरोना भाइरस (कोभिड–१९) को त्रासले बजारमा मास्कको अभाव हुन थालेपछि बागलुङकी एक महिला उद्यमीले मास्क बनाएर बेच्न थालेकी छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका घर भई बागलुङ बजारमा धागो कातेर कपडा बुन्दै आइरहेकी डिलकुमारी तिलिजा पुनले नरम कपडाबाट मास्क बनाएर बेच्न थालेकी हुन् । छेवैको मेडिकलमा दैनिक मास्क खोज्न आउनेको भीड देखेपछि दुई दिनदेखि काम थालेको उनले बताइन् ।

प्रतिगोटा ५० रुपैयाँमा मास्क बेच्ने गरेको उनले बताइन् । धोएर पनि लगाउन मिल्ने भएकाले धेरैले उनीसँग मास्क किन्न थालेका छन् ।

दुई दिनमै दुई सयभन्दा बढी मास्क बेचिसकेको उनले बताइन् । ‘संक्रमण भइहाल्यो भने के गर्ने भनेर केही थान किनेकी छु,’ बागलुङ नगरपालिका–२ की दुर्गा हमालले भनिन्, ‘सतर्क हुनु राम्रो नि ।’ मास्क किन्न आएकालाई सरसफाइमा ध्यान पुर्‍याउन समेत सुझाव दिने गरेको पुनले बताइन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully