रोम — इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।
इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाइ गर्ने एक योजनामा हस्ताक्षर गरेको बताएका छन् । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमा घर, संग्रहालय, थिएटरहरु सबै बन्द गर्न भनिएको छ । 'कोरोना भाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु,' कोन्टेले भनेका छन् । इटालीका अखबारहरु कोरियर डेला सेरा र अन्य सञ्चारमाध्यमले उत्तर इटालीमा आवागमन निषेध भएको भन्दै खबरहरु प्रकाशन गरेका छन् ।
इटालीमा कोरोनाकै कारण झण्डै २३० जनाको मृत्यु भइसकेको छ । चीन बाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखा परेको कोरोना भाइरसका कारण विश्वका ८० भन्दा बढी देशहरुमा फैलिइरहेको छ ।विश्व बैंकका अनुसार जापानपछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ ।
स्थगित गर्नै नसकिने 'गम्भीर' कारण भएमा अन्य जरुरी काम वा पारिवारिक मामिलाहरू भएमा बाहेक मानिसहरूलाई क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति दिइने छैन, कोरियर डेला सेराले लेखेको छ । यसमा सम्पूर्ण लोम्बार्डी क्षेत्रका साथै भेनिस र वरपरका क्षेत्रहरू, र पर्मा र रिमिनी सहरहरू सामेल छन् । यसबाट इटालीको कूल ६ करोड जनसंख्याको एक तिहाइलाई असर पार्नेछ ।
यी ठाउँहरूमा संग्राहलयहरु, रात्रिक्लब, जिमखाना र क्यासिनोहरू बन्द गरिनेछन् । सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त अखबारले यी प्रतिबन्धहरू आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ ।
यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आआफ्ना घर फर्कन दिइनेछ । बारहरू र रेष्टुरेन्टहरूमा ग्राहकहरु एकअर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध सुनिश्चित गरेमा खुला राख्न अनुमति दिइनेछ ।
इटालीमा गरिएको यो प्रबन्ध चीनको हुबेइ प्रान्तकोझैं छ । हुबेइको राजधानी उहानमा भाइरसको प्रकोप देखिएपछि यहाँ जनवरीको अन्त्यदेखि पूरै सहरलाई अन्य क्षेत्रबाट अलग राखिएको छ ।
विश्वव्यापी रूपमा, कोरोना संक्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ५०० जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ ।
