सीमाबाट हुने आउजाउमा कडाइ गर्न र स्वास्थ्यकर्मीलाई उच्च मनोबलमा काम गर्ने परिस्थिति तयार गर्न सांसदहरुको सुझाव
काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पूर्वतयारीका लागि औषधि र खाद्यान्न संकट टार्ने रणनीति बनाउन सांसदहरूले माग गरेका छन् । सीमाबाट हुने आउजाउमा कडाइ गर्न र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उच्च मनोबलमा काम गर्ने परिस्थिति सिर्जना गर्न पनि उनीहरूले सरकारलाई सुझाव दिएका छन् ।
कोभिड–१९ को जोखिम नियन्त्रणबारे कांग्रेस सांसद गगनकुमार थापाले राखेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा सांसदहरूले संकटको मौका छोपेर खाद्यान्न, औषधि र मास्कसमेत कालोबजारी भइरहेकाले त्यसमा ध्यान दिन आग्रह गरे ।
सांसद थापाले सरकार, संसद् र समुदायको संयुक्त प्रयासमा कोभिड–१९ विरुद्ध जुध्न सबैको एकीकृत प्रयास आवश्यक रहेको बताए । उपचारमा संलग्न स्वास्थ्यकर्मीको बिमा, औषधि व्यवस्थापन, अस्पतालको तयारी, सेल्फ–आइसोलेसन र विदेशबाट आउनेमाथि उच्च निगरानीजस्ता विषयमा सरकारको ध्यान जान जरुरी रहेको जनाउँदै उनले संसद्ले विशेष समिति बनाएर निगरानी गर्नुपर्ने प्रस्ताव गरे । अन्तर्राष्ट्रिय विमानस्थलका स्वास्थ्यकर्मीले एउटा मास्क लगाएर यात्रुको जाँच गरिरहेको प्रसंग जोड्दै थापाले उनीहरूलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताए ।
सरकारले एकीकृत कार्ययोजना तयार गर्नुपर्ने प्रस्ताव गर्दै उनले विदेश जाने–आउने विषयमा सरकारको प्रस्ट निर्णय आउनुपर्ने बताए । फरक–फरक सूचना दिँदा नागरिक अलमलमा पर्ने भन्दै उनले सरकारले एकद्वार सूचना प्रणाली लागू गर्नुपर्ने उनको भनाइ थियो । उनले राखेको प्रस्तावमाथि सत्ता र प्रतिपक्षका सांसदले समर्थन गर्दै कोभिड–१९ नियन्त्रणमा राज्यका सबै निकायलाई परिचालन गर्नुपर्नेमा जोड दिए ।
नेकपा संसदीय दलका सचेतक देव गुरुङले सीमा जोडिएका देशमा कूटनीतिक प्रयास गरेर आउजाउको व्यवस्थापन गर्न सकिने बताए । सांसद खगराज अधिकारीले भारतसँग खुला सिमाना भएकाले यसका ख्याल गर्न आग्रह गरे । उनले सेलिब्रिटी र सञ्चारकर्मीलाई प्रयोग गरेर जनचेतना कार्यक्रम सञ्चालन गर्न सुझाए । भीम रावलले कोभिड–१९ प्रभावित भारतको राजस्थान क्षेत्रमा सुदूरपश्चिमका नेपाली कामका लागि गएकाले उनीहरू फर्कंदा हुने जोखिम न्यूनीकरण गर्न सरकारले तत्काल कदम चाल्न माग गरे । ‘कञ्चनपुरको वनवास र झुलाघाटबाट फर्कनेलाई जाँचको प्रबन्ध गर्नुपर्छ,’ उनले भने ।
सांसद राजेन्द्रकुमार केसीले कालोबजारी नियन्त्रण गर्न माग गरे । प्रदीप यादवले कोभिड–१९ नियन्त्रणमा सरकारी प्रयास फितलो रहेको आरोप लगाए । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले कोभिड–१९ लाई भयानक रोग नठान्न आग्रह गरे ।
‘सांसदलाई क्वारेन्टाइनमा राख्ने कि नराख्ने ?’
बैठकमा विदेशबाट सांसदहरू फर्केपछि क्वारेन्टाइमा राख्ने कि नराख्ने भन्दै बहस भएको छ । कोभिड–१९ फैलिएको जापान गएका सांसदको विषयमा प्रश्न उठेको हो । सांसद थापाले पनि कुन देश जाने/नजाने मापदण्ड बनाउन पनि सरकारलाई आग्रह गरे । समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रश्न गरे, ‘सभामुखज्यू, विदेशबाट फर्कने सांसदहरूलाई क्वारेन्टाइनमा राख्ने कि नराख्ने ?’
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, सांसदहरू बलबहादुर साम्सोहाङ, सरलाकुमारी यादव, बोधमायाकुमारी यादव र गणेश पहाडी र केही सञ्चारकर्मी जापान भ्रमणबाट तीन दिनअघि फर्केका छन् । उनीहरू नेपाल वायुसेवा निगमको प्रायोजनमा जापान गएका थिए । उनीहरू फर्केको जहाजमा १ सय ८० जना थिए ।
यस्तै, छक्कबहादुर लामाले रसुवा र तातोपानीबाहेकका नाकाबाट हुने आउजाउमा ख्याल गर्न माग गरे । केन्द्रीय सरकारले ख्याल नगर्ने भएकाले हुम्लाको ताक्लाकोटलगायतका नाकामा जाँच गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
सबै नाकामा ‘हेल्थ डेस्क’ राख्न निर्देशन
कोभिड–१९ विरुद्ध जनचेतना तथा पूर्वतयारीका लागि आवश्यक कदम चाल्न स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायहरूलाई सरकारले थप निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको ‘कोरोना भाइरस प्रभाव, न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति’ को बैठकले भारतसँग सीमा जोडिएका सबै नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न र आवतजावत गर्ने दुवै देशका नागरिकमाथि कडा निगरानी राख्न समितिले निर्देशन दिएको हो । समितिले नेपाली सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायलाई जनचेतना फैलाउनेदेखि सीमा नाकामा स्वास्थ्य जाँचको व्यवस्था मिलाउनेसम्मको निर्देशन दिएको हो ।
कोभिड–१९ को महामारी भारत हुँदै फैलिए त्यसविरुद्ध नाका सिल गर्नेसम्मको तयारी थाल्न पनि समितिले निर्देशन दिएको छ । बैठकमा सहभागी सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले समितिको निर्देशनअनुसार सम्भव भएसम्म सबै नाकामा अन्य निकायसँग समन्वय गरेर स्वास्थ्य जाँचको व्यवस्था मिलाइने बताए । उनका अनुसार सशस्त्र प्रहरीले चीन र भारतसँग सीमा जोडिएका २८ स्थानमा स्वास्थ्य हेल्प डेस्क राखिसकेको छ ।
आइसोलेसनमा मनोपरामर्श
कोभिड–१९ संक्रमणको आशंकामा भर्ना भएका बिरामी अस्पतालबाटै भाग्न थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमै मनोपरामर्श र मानसिक समस्याको उपचार हुने भएको छ । अस्पतालले बहुसांस्कृतिक तथा सामाजिक संस्था (टीपीओ) को सहयोगमा मनोपरामर्शदाता र मानसिक रोग विशेषज्ञ खटाएर उपचार गर्ने भएको हो । हाललाई १० जना मनोपरामर्शदाता चौबीसै घण्टा तयारी अवस्थामा रहेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘आइसोलेसन भर्ना गर्नेबित्तिकै बिरामी मरिहाल्छु भनेर आत्तिन्छन्, घर जान्छु भनेर जिद्दी गर्छन्,’ उनले भने, ‘छटपटाउने, ननिदाउने, नखाने गर्छन् । उनीहरूलाई परामर्श गरेर टेस्टको रिपोर्ट नआउँदासम्म अस्पतालमै राख्नुपर्छ ।’
आत्तिने र डराउने बिरामीलाई अब अस्पतालमै परामर्श र थेरापी गराइनेछ । आइसोलेसनमा पुग्ने परामर्शदाता र मनोचिकित्सकको सुरक्षाका लागि मास्क, गाउनलगायत अन्य सुरक्षा सामग्रीका लागि डेढ लाख खर्च गरिएको डा. राजभण्डारीले बताए । मानसिक रोगकै लक्षण देखिए मानसिक अस्पताल रिफर गरेर या विशेषज्ञलाई अस्पतालमा बोलाएर उपचार गरिने उनको भनाइ छ ।
डा. राजभण्डारीका अनुसार अस्पतालमा परामर्शदाता आउन नसके स्काइप/भिडियो कन्फरेन्सबाट बिरामीलाई परामर्श गर्ने तयारी छ । आइसोलेसन वार्डमा राखिएका बिरामीको निगरानी गर्न ६ वटा सीसीटीभी क्यामेरासमेत जडान भएको छ ।
शंकास्पद बिरामी राख्न अस्पतालमा पाँचवटा बेड छन् । आईसीयू तयार राखिएको छ । पूर्वाधारले थेग्न नसक्ने गरी बिरामी आए पाटन अस्पताल, सिभिल, वीर, पुलिस र अन्य अस्पतालका आइसोलेसन वार्डमा राखिने अस्पतालले जनाएको छ । कोरोना प्रभावित देशबाट फर्किएका व्यक्तिका लागि अस्पतालमा ४० बेडको क्वारेन्टाइनसमेत व्यवस्था छ । अस्पतालले १४ दिनसम्म निःशुल्क बेडका साथै औषधि उपलब्ध गराउँछ ।
