कोरोना भाइरस नियन्त्रण गर्न अमेरिकी सरकारद्वारा नेपाललाई व्यक्तिगत सुरक्षा उपकरण प्रदान

फाल्गुन २३, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोक्न नेपाल सरकारलाई शुक्रबार अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । यी पीपीई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले प्रदान गरेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाललाई हस्तान्तरण गरिएका उपकरणमा ३,००० मास्क, २,५०० चेहरा कवच, २,००० जुत्ता ढाक्ने खोल, २,१०० सर्जिकल टोपी, १,००० ट्राउजर तथा ट्युनिक र १० वटा थर्मोल्यास थर्मोमिटर छन् ।


यी सामग्रीहरू तोकिएका अस्पतालहरूमा कोभिड–१९ लागेको शंका गरिएकाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षामा प्रयोग गरिनेछ । प्रदान गरिएका यी सामग्रीको एक भाग देशमा कोभिड–१९ को प्रकोप फैलिएमा प्रतिक्रिया जनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालभर विद्यमान राष्ट्रिय तथा क्षेत्रीय गोदामहरूमा पनि अग्रिम रूपमा राख्ने जनाइएको छ ।


यसअघि फागुन ६ गते अमेरिकी सरकारको रक्षा सहकार्य कार्यालयले वुहान सहरबाट उद्धार गरिएका विद्यार्थीको क्वारेन्टाइन कार्यमा मद्दत गर्न नेपाली सेनालाई चिकित्सकीय व्यक्तिगत सुरक्षा उपकरणका ७ थान, लेटेक्स पन्जा ४०० थान, र जैविक जोखिमका वस्तु बोक्ने झोला ११० थान हस्तान्तरण गरेको थियो । ती सामाग्री वाल्टर रीड सशस्त्र बल चिकित्सा विज्ञान अध्ययन संस्थानको नेपाल इकाईद्वारा उपलब्ध गराइएका हुन् ।


‘कोभिड–१९ को नियन्त्रणका प्रयासहरूमा नेपाल सरकारसँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा यूएसएआईडीलाई गर्व लागेको छ । अनुदानमा दिइएका यी पीपीई सामाग्रीले गुणस्तरीय, जीवनरक्षक स्वास्थ्यसेवामा सबै नेपाली जनताको पहुँच सुनिश्चित गर्नेप्रति अमेरिकी सरकारको दीर्घकालीन कटिबद्धताको पुनः पुष्टि गर्दछ,’ यूएसएआइडी–नेपालकी कार्यवाहक प्रमुख एड्रिएना हेजले विज्ञप्तिमा भनेकी छन् ।


हस्तान्तरण समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले यी अत्यावश्यक सामग्री अत्यन्त सामयिक रहेको बताए । उनले यी सामग्रीले कोभिड–१९ को रोकथाम गर्न अथक रूपमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा गर्ने बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully