काठमाडौँ — सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी आवश्यक व्यवस्था मिलाउने काम भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणबाट जोगिन सरकारले आवश्यक तयारी गरिरहेको बताए ।
उनले छिमेकी मुलुकमा पनि संक्रमण देखिएकाले हिजोको सर्तकताले मात्रै नपुग्ने भएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरी विभिन्न स्थानमा चेकजाँचको व्यवस्था मिलाउने काम भइरहेको बताए । कोरोना भाइरस प्रवेश गर्न नदिने, सावधानी अपनाउने, मध्यम खालको स्थितिमा कसरी जोगिने र अति जोखिममा पुग्दाको सम्भावित अवस्थाबारे आँकलन भएको र सोही अनुसार आवश्यक तयारी गरिएको उनले स्पष्ट पारे । विभिन्न अस्पतालमा १ सय ५५ वटा आइसोलेटेड वेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबारदेखि नै प्लेनमा चढ्नुभन्दा अगाडि चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था सुरु गरिएको जानकारी दिए ।
उनले कोरोना भाइरसको संक्रमणलाई लिएर प्रधानमन्त्रीकै सक्रियतामा ४ पटक बैठक बसेको र अहिले उपप्रधानको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाइएको र यसको सचिव नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था गरिएको बताए ।
