लन्डन — बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या बढ्न थालेपछि सरकारले नियन्त्रण तथा रोकथामका लागि तयारी तीव्र पारेको छ । उसले जनमानसलाई थप सतर्क रहन अपिल गर्दै एउटा प्रमुख जनस्वास्थ्य अभियान सुरु गरेको छ । अभियानअन्तर्गत सर्वसाधारणलाई कम्तीमा २० सेकेन्ड निरन्तर मिचेर हात धुन भनिएको छ । स्वास्थ्यमन्त्री म्याट हयानककले संक्रमणबाट बच्न नियमित हात धुन महत्त्वपूर्ण हुने बताए । स्वास्थ्यमन्त्री हयानककले भाइरस न्यूनीकरणका लागि छलफल गर्न गत बुधबार लन्डनमा एउटा आपत्कालीन कोब्रा बैठकको अध्यक्षता गरेका थिए ।
पब्लिक हेल्थ इग्ल्यान्डले साबुन र पानी नभए कम्तीमा ६० प्रतिशत अल्कोहल रहेको हयान्ड सेनिटाइजर प्रयोग गर्न सुझाएको छ । सार्वजनिक यातायात चढेपछि हात धुन आवश्यक हुने भएकाले यसमा चनाखो रहन भनिएको छ । बेलायतमा संक्रमितको संख्या १ सय ६४ पुगेको छ । बेलायतका चिफ मेडिकल एड्भाइजर प्रोफेसर क्रिस ह्विटीले तीमध्ये ३६ जना हालै अति प्रभावित देशका भ्रमण गरी फर्किएका वा अरूबाट संक्रमण भएको हुन सक्ने बताए ।
प्रधानमन्त्री बोरिस जोनसनले आपत्कालीन कानुन सार्वजनिक गरेका छन्, जसअनुसार कामदारलाई बिरामी भएको चौथो दिनपछि मात्र तलब दिनुपर्ने कानुनी प्रावधान रहेकामा अब पहिलो दिनदेखि नै तलब दिनुपर्ने छ । यसको अर्थ रोजगारदाताले बिरामी कामदारलाई सातामा थप ४० पाउन्ड दिनुपर्ने छ ।
तल्लो सदन हाउस अफ कमन्स्मा बोल्दै प्रधानमन्त्री जोनसनले भाइरस संक्रमण हुन नदिन आफैंलाई अलग राख्ने मानिसलाई दण्डित गर्न नहुने बताए । सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पानिस फ्लुका कारण विश्वका करिब ५० करोड मानिसमा महामारी भएको दृष्टान्त दिँदै उनले कोरोना भाइरसको सम्भाव्य जोखिमका लागि बेलायतले तयारी गरिरहेको बताएका छन् ।
महामारीको डरले उच्च सतर्कतामा रहेका कतिपया बेलायती नागरिकले रासनपानीको जोहोका लागि आतुरीमा सामान किनेका छन् । मास्क र ह्यान्ड स्यानिटाइजरको अभाव बेलायतमा पनि सुरु भइसकेको छ ।
वार्टफोर्ड जनरल हस्पिटलमा मेडिसिन डिभिजनमा कार्यरत मेट्रोन कल्पना घिमिरेलाई कोरोना भाइरसका कारण अहिले अस्पतालमा थप व्यस्त हुनुपरेको छ । सेफ्टी, इन्फेक्सन कन्ट्रोल र क्वालिटी मेन्टेन उनको प्रमुख जिम्मेवारी हो । उनले काम गर्ने अस्पताल वेस्ट हार्टफोर्डसायर हस्पिटल ट्रस्टअन्तर्गत पर्छ, जसमा अरू दुई अस्पताल हेमल ह्याम्सटेड र सेन्ट अल्बान्स् सिटी छन् । अहिलेसम्म ती अस्पतालमा संक्रमित नभए पनि आपत्कालीन योजना इकाईले पूर्वतयारी गरिरहेको उनले जनाइन् । तिनवटै साइटमा बिरामीको उचित व्यवस्थापनका लागि एसेसमेन्ट पोड्स व्यवस्था गरिएको उनी बताउँछिन् । कर्मचारीको सुरक्षाका लागि पनि तालिम तथा सचेतना अपनाइएको छ ।
