काठमाडौँ — कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको कतार सरकारले आइतबार पुष्टि गरेको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको छ ।
ती कामदारसँग बस्ने अन्य कामदारलाई समेत क्वारेन्टाइनमा राखिएको छ । संक्रमित आप्रवासी कामदार कुन देशका हुन् भन्नेबारे खुलाएको छैन ।
कतारले शनिबार मात्रै पत्रकार सम्मेलन गरेर ३ हजार एकसय जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको थियो । जसमध्ये इरानबाट विशेष विमानमा चार्टर गरेर ल्याइएको १२ जना कतारी नागरिकलाई मात्रै कोरोनाको भाइरस देखिएको जनाएको थियो । उनीहरु कतारमा रहेका अन्य व्यक्तिसँग सर्म्पक नभएको कतारले जनाएको छ ।
कतारले इरानबाट ल्याइएको बिरामीमा मात्रै कोरोनाको संक्रमण देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नभएको भन्दै ढुक्कसाथ आफ्नो काम गर्न आग्रह गरेको छ । सार्वजनिक स्वास्थ्य निर्देशक डा. शेख मोहम्मद विन हमाद अलथानीले जनतालाई कोरोना भाइरसबाट बचाउनका लागि हामीले उच्चस्तरीय प्रविधि जडित प्रणालीबाट प्रभावकारी निगरानी गरिरहेका बताए ।
उनले कोरोना भाइरस संक्रमण देशबाट कतार भित्रिने यात्रुलाई हमाद विमानस्थलमा उच्च प्रविधिबाट जाँच हुने गरेको बताए । हमाद विमानस्थल बाहिर देशबाट कतार आउने एकमात्रै प्रवेश विन्दु हो ।
कतारले सामाजिक सञ्जालमा फैलिने हल्लाको पछाडि नलागेर सरकारबाट जारी भएको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्न आग्रह गरेको छ । कतारमा झन्डै चार लाख नेपाली कार्यरत छन् । कतारमा झन्डैभन्दा सयभन्दा बढी मुलुकका कामदार छन् ।
