१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विदेशी नराेकिएका कारण दार्जिलिङवासी चिन्तित

काेराेना सन्त्रास
मनोज बोगटी

दार्जिलिङ — कोरोना भाइरस संक्रमण रोक्न भुटान र सिक्किममा विदेशी पर्यटकलाई रोक लगाइए पनि छिमेकी दार्जिलिङले रोक नलगाउँदा स्थानीय चिन्तित भएका छन् ।

विदेशी नराेकिएका कारण दार्जिलिङवासी चिन्तित

डुवर्सस्थित भुटान सीमामा भुटान सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न निःशुल्क ह्यान्ड स्यानिटाइजर वितरण गर्न कन्टेनर राखेको छ । स्वास्थ्यकर्मीका अनुसार भुटानभरि नै यसप्रकारको पहल सुरु गरिएको छ । भुटान प्रवेश गरिरहेका सबैको स्क्रिनिङ जारी छ । सिक्किममा पनि हरेक नागरिकको स्क्रिनिङ चलिरहेको छ ।


सिक्किम प्रहरीले भारतीय पर्यटकसम्मको जाँचलाई चुस्त गरिएको बताए पनि दार्जिलिङमा भने विदेशी पर्यटकको घुमफिरमा रोक लगाइएको छैन । दार्जिलिङमा दैनिक सयौं पर्यटकको आवातजावत हुने गरेको छ । कोरोना भाइरसलाई लिएर सबैतिर सतर्कता अपनाइँदा दार्जिलिङमा विदेशी पर्यटकलाई भ्रमण खुला गरिएको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पश्चिम बंगाल सरकारले विदेशीलाई रोक्न कुनै पहल नगरे पनि केन्द्रीय गृहसचिव अजय भल्लाले हरेक सीमा नाकामा सुरक्षा जाँच र निगरानी चुस्त गर्न निर्देशन दिएका छन् ।

संक्रमण नफैलियोस् भनेर दार्जिलिङका स्थानीय मास्क लगाएर हिँड्न थालेका छन् । हरेक विद्यालयले विद्याथीलाई ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न र मास्क लगाउन निर्देशन दिएसँगै यसको प्रयोगमा वृद्धि भएको छ, जसले गर्दा स्यानिटाइजरको स्टक सकिएको छ । यद्यपि मास्क भने पर्याप्त मात्रामा रहेको दार्जिलिङका अधिकारीहरूले बताएका छन् ।


दार्जिलिङका सांसद राजु विष्टले कोरोना भाइरसको प्रकोपबाट दार्जिलिङ पहाडी क्षेत्रलगायत तराई–डुवर्स क्षेत्रलाई सुरक्षित राख्न तत्काल प्रभावकारी कदम चाल्न र विशेषज्ञ टोली खटाउन राज्य तथा केन्द्र सरकारसँग माग गरेका छन् । उनले दार्जिलिङ र कालेबुङ जिल्लाका सीमामा तत्काल कोरोना भाइरस स्क्रिनिङको सुरुवात गर्न पनि आग्रह गरेका छन् ।

‘डुवर्स, नेपाल, भुटान, बंगलादेश र चीनको अन्तर्राष्ट्रिय सीमालगायत असम र सिक्किम राज्यको सीमासँग जोडिएका कारण पनि दार्जिलिङमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना छ,’ विष्टले भनेका छन्, ‘यसैले पनि यी संवेदनशील क्षेत्रमा तत्काल आवश्यक पहल अनिवार्य छ ।’


सांसद विष्टले दार्जिलिङवासीलाई आतंकित नबन्नका लागि पनि आह्वान गरेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७६ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?