जापानी क्रुजबाट अस्ट्रेलियनहरुको उद्धार

नारायण खड्का

अस्ट्रेलिया — एक जापानी क्रुजमा कोरोनाका संक्रमित भेटिएपछि अलपत्र परेका आफ्‍ना नागरिकहरुको उद्धार प्रक्रिया अस्ट्रेलियाले सुरु गरेको छ । जापानको योकोहामा बन्दरगाहमा क्रुज राखिएको छ ।

जापानी क्रुजबाट अस्ट्रेलियनहरुको उद्धार

प्रधानमन्त्री स्कट मरिसनले दुईसाता अघिदेखि क्रुजमा अलपत्र परेका करिब २ सय नागरिकहरुलाई उद्धार गरेर बुधबार अस्ट्रेलिया ल्याउने बताएका हुन् ।

डायमण्ड प्रिन्ससेस नाम गरेको क्रुजमा यात्रु र चालकदलका सदस्यसहित ३ हजार ७ सय जनामध्ये ३ सय बढीमा कोरोना भाइरसको संक्रमण भएपछि अन्य यात्रुहरु क्रुजमा नै अलपत्र परेका छन् ।


संक्रमितहरुमध्ये २४ जना अस्ट्रेलियाली छन् । सरकारलाई उद्धार गर्न आग्रह गरिरहेका उनीहरुलाई १६ दिनपछि अस्ट्रेलियाले उद्धार गर्ने प्रक्रिया अघि बढाएको हो । उद्धारका लागि घरेलु विमान सेवा कम्पनी क्वान्टासको विशेष विमान मार्फत् उनीहरु बुधबार डार्विन आइपुग्नेछन् । ‘हामी उक्त डुंगामा रहेका आफ्‍ना नागरिकको सुरक्षा र कल्याणका बारेमा अत्यन्तै चिन्तित छौं र उनीहरुलाई घर ल्याउनेछौं,’ प्रधानमन्त्री मरिसनले सोमबार भने ।


यसअघि अस्ट्रेलियाले वुहानमा रहेका ३ सयबढी नागरिकलाई उद्धार गरिसकेको छ । प्रधानमन्त्री मरिसनले जापानको उक्त डुंगाबाट ल्याइने नागरिकलाई डार्बिनको होवार्ड स्प्रिङमा राखिने र दुईसातासम्म क्यारेन्टाइनमा बस्‍नुपर्ने बताएका छन् ।

उनले समग्र अस्ट्रेलियाली नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर कडा स्वास्थ्य सुरक्षा व्यवस्था अपनाएको जनाएका छन् । उक्त क्रुजबाट अमेरिकाले आफ्‍ना नागरिकहरुको उद्धार गरिसकेको छ । उद्धार गरिएकामध्ये १४ जनामा भाइरसको संक्रमण भएको पनि समाचारमा उल्लेख गरिएको छ ।


यसैबीच अस्ट्रेलियाले पहिलो चरणमा चीनको कोरोना भाइरस प्रभावित क्षेत्र वुहानबाट उद्धार गरेर ल्याएका दुई सय ४० जनामा संक्रमण नपाइएका कारण उनीहरुलाई घर फर्काउने तयारी गरेको छ । स्वाथ्यमन्त्री ग्रेग हन्टले उद्धार गरेर क्रिसमस आइल्याण्ड ल्याइएका सबै सोमबार घर फर्किने जनाएको समाचारमा जनाइएको छ । क्रिसमस आइल्याण्डमा दुई सातासम्म क्यारेन्टाइनमा राखिएका उनीहरुमा संक्रमणको कुनै संकेत नपाइएपछि घर फर्काउन लागिएको हो ।


अस्ट्रेलियामा अहिलेसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । जसमध्ये ८ जनामा भाइरसको संक्रमण हटिसकेको, दुईजना भाइरसबाट स्वास्थ्य लाभ गरिरहेको स्वास्थ्यमन्त्री हन्टले जनाएका छन् । विश्वभरमा अहिलेसम्म यस भाइरसबाट २ हजार ४८ को मृत्यु भइसकेको र ७० हजार ५ सय ४८ जना संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस भाइरसबाट सोमबार मात्र १ सय ५ जनाको मृत्यु भएको छ भने करिब २ हजार नयाँ संक्रमित पाइएको छ ।


यस्तै,अमेरिकाले पनि क्रुजबाट ३ सय ८० जनाको उद्धार गरेको छ । जाहाजमा रहेका ४० जना अमेरिकी नागरिकको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण देखिएपछि उनीहरुको जापानमै राखेर उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?