काठमाडौँ — चीनबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइनमा १४ देखि १६ दिनसम्म राखिने भएको छ ।
नेपाल वायुसेवा निगमको विशेष विमानबाट आइतबार बिहान करिब ३.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका १७५ जनालाई करिब दुई घण्टासम्म स्वास्थ्य परीक्षणलगायतका विभिन्न औपचारिकता पूरा गरेपछि खरिपाटी लगिएको थियो । ‘सबै जना पूर्ण स्वस्थ छन्, कुनै असामान्य लक्षण देखिएको छैन,’ स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्यसम्पादन केन्द्रका प्रमुख सागर दाहालले कान्तिपुरसँग भने, ‘क्वारेन्टाइनमा चौबीसै घण्टा एक चिकित्सक, दुई पारामेडिक्स र एक नर्सको टोली रहन्छ ।’ उनका अनुसार क्वारेन्टाइनमा बसेकाहरूको शरीरको तापक्रम हरेक दिन परीक्षण गरिन्छ ।
घर फिरेका नेपाली भन्छन्- ‘फर्कनै पाइँदैन जस्तो लागेको थियो, अहिले हर्षित छौं’
क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड र इन्टरनेसनल हेल्थ रेगुलेसन २००५ ले तोकेको प्रावधानअनुसारको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्वास्थ्यकर्मीको छुट्टाछुट्टै टिम त्यहाँ खटिएको छ । ‘हामीले सोचेभन्दा धेरै राम्रो पायौं,’ चीनको वुहानस्थित वाजोङ कृषि विश्वविद्यालयमा प्लान्ट प्याथोलोजीमा स्नातकोत्तर गरिरहेका सौरभ लुइँटेलले कान्तिपुरसँग फोनमा भने, ‘अहिले सबै ठीक छ, यहाँ बसुन्जेल यस्तै अवस्था हुनुपर्यो ।’ हरेक कोठामा तीन जना वा परिवारको भए दुई जनासम्म राखिएको उनले बताए । क्वारेन्टाइन स्थलमा करिब ६० वटा कोठा छन् । ६ जनाले एउटा शौचालय प्रयोग गर्ने गरी व्यवस्था मिलाइएको छ । उनीहरूलाई आइतबार बिहान खाजामा चना, स्यान्डविच, अन्डालगायत दिइयो भने खानामा भात, दाल, दुईथरी तरकारी, अचार र साग खुवाइएको छ ।
वुहानबाट फर्किएकाहरु भन्छन्- 'क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था सोचेभन्दा राम्रो'
खाना ‘ठीकै’ रहेको लुइँटेलले बताए । उनका अनुसार माइकबाट बोलाएपछि खाना–खाजा राखिएको ठाउँबाट आफैंले ल्याउनुपर्छ । कुनै बाहिरी व्यक्तिको सम्पर्कमा नआउन भनिएको छ । खाजा खाएपछि आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका टोलीले १७५ जनाकै र्यालको नमुना संकलन गरेको थियो । यो नमुनाको पोलिमर चेन रियाक्सन (पीसीआर) परीक्षणबाट कोरोना संक्रमण रहे, नरहेको निर्क्यौल गरिनेछ । परीक्षणको नतिजा आगामी बुधबारसम्म आउनेछ । दुई सातापछि फेरि यस्तै परीक्षण गरिनेछ । क्वारेन्टाइनमा मनोरञ्जनका लागि हरेक तलामा टेलिभिजन राखिएको छ । क्यारमबोर्ड, लुँडो आदिको व्यवस्था गरिएको छ भने ब्याडमिन्टनको दुइटा कोर्टसमेत बनाइएको छ । इन्टरनेटको व्यवस्था भए पनि त्यो नाम मात्रको रहेको लुइँटेलले बताए । ‘इन्टरनेट चल्दै चल्दैन, धेरै जनाले चलाएर हो कि,’ उनले भने ।
यस्ताे बन्याे खरिपाटी क्वारेन्टाइन [तस्बिरहरुसहित]
क्वारेन्टाइनमा पानी, मास्क, ह्यान्ड स्यानिटाइजर, औषधिलगायत आवश्यक सामग्री उपलब्ध छ । कसैमा शंकास्पद लक्षण देखिए थप परीक्षण र उपचारका लागि आइसोलेसन सुविधा भएका अस्पताल पठाइने आपतकालीन कार्यसम्पादन केन्द्रका प्रमुख दाहालले जानकारी दिए ।
