कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर फिरेका नेपाली भन्छन्- ‘फर्कनै पाइँदैन जस्तो लागेको थियो, अहिले हर्षित छौं’

१७५ जना फिर्ता, निवेदन दिएका १८५ जनामध्ये चार जनाले उतै बस्ने निर्णय गरे, छ जना ‘मेडिकल कारण’ ले उड्न पाएनन्
स्वरूप आचार्य

काठमाडौँ — चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।

घर फिरेका नेपाली भन्छन्- ‘फर्कनै पाइँदैन जस्तो लागेको थियो, अहिले हर्षित छौं’

नेपालीको उद्धारका लागि गएको नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान करिब १० बजे (नेपाली समय राति करिब ८ बजे) वुहानको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपाली समयअनुसार करिब १० बजे उडेको विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।

कोरोना भाइरस रोग २०१९ (कोभिड १९) को संक्रमण चीनभर र अन्य दुई दर्जन मुलुकमा फैलिएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ । अरू छ जना फर्कन पाएनन् । दूतावासका अनुसार चार जना ज्वरो देखिएकाले र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले उड्न नपाएका हुन् । घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन् ।

घर फर्कन पाएका विद्यार्थीका अभिभावकले राहतको सास फेरेका छन् । उनीहरूले आफ्ना सन्तानलाई स्वदेश फर्काउनका लागि सरकारलाई दबाब दिन संघर्ष समिति नै बनाएका थिए । ‘क्वारेन्टाइनमा राख्ने भनिएको खरिपाटीमा के–कस्तो व्यवस्था छ, हामीलाई थाहा छैन । देशमै फर्किएपछि जेसुकै होस् । १५–२० दिनको कुरा न हो,’ संघर्ष समितिका संयोजक वसन्त भण्डारीले भने, ‘अर्काको देशमा डरलाग्दो रोगको महामारी भएका बेला छोराछोरीको चिन्ताले मन पोलेको थियो । अब शान्त भयो ।’

अर्का अभिभावक दिनेश श्रेष्ठले क्वारेन्टाइनमा जति दिन राखे पनि आफ्नो कुनै गुनासो नरहने बताए । ‘क्वारेन्टाइनमा १४ दिन मात्र होइन, २१ दिनसम्म पनि राख्नुपर्ने हुन सक्छ भनेर हामीलाई जानकारी दिइएको छ । त्यसमा हाम्रो भन्नु केही छैन,’ उनले भने, ‘महामारीका बेला आफ्नो देश फर्कन पाउनु ठूलो कुरा हो ।’ श्रेष्ठले आफूलाई अहिले बच्चा जन्मिँदा अस्पतालको अपरेसन थिएटर बाहिर कुरिरहेको जस्तो भान भएको सुनाए । नयाँ कोरोना भाइरस संक्रमणको केन्द्र मानिएको हुबेई प्रान्तलाई नै चीन सरकारले ‘लकडाउन’ गरेपछि नेपालीहरू हतास थिए ।

चिनियाँ समयअनुसार शनिबार बिहान हुबेई प्रान्तका विभिन्न सहरबाट वुहानको तियानहे अन्तर्राष्ट्रिय विमानस्थलसम्म नेपालीलाई ल्याउन नेपाली दूतावासले पाँचवटा बसको प्रबन्ध गरेको थियो । हुबेईको चिङचौ, यान्स, सियान, यिछाङ, चिंमन र वुहानबाट विमानस्थलका लागि समय मिलाएर बसहरू छुटेका थिए । उद्धारको पर्खाइमा रहेका नेपाली सुरुमा बसमा सवार हुँदा तथा दुई घण्टाको अन्तरालमा विभिन्न रिफ्रेसमेन्ट सेन्टरमा रोकिँदा स्वास्थ्य जाँच गरिएको थियो ।

बसमा सवार भएर वुहानको विमानस्थल पुगेका विद्यार्थीले खानेकुराको व्यवस्था आफैं गरेका थिए । ‘हामी होस्टेलमै केही खाएर निस्किएका थियौं । त्यसपछि रिफ्रेसमेन्ट सेन्टरमा रोकिँदा पनि केहीले खानेकुरा किनेका थिए,’ सुदीप राउतले भने, ‘कोही बाहिरको खानेकुरा खान डराए ।’ उनले ढिलै भए पनि आफ्नो देश फर्किन पाउँदा सबै हर्षित भएको बताए । ‘यहाँ बसेर घरमा कुरा गर्दा अब फर्कनै पाइँदैन कि जस्तो लागेको थियो,’ उनले भने ।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार स्वस्थ देखिएकाहरू घर फर्कन पाएका हुन् । ‘उनीहरूमा रुघाखोकी वा ज्वरोको समस्या देखिएको छैन,’ उनले भने, ‘बोर्डिङ पास दिँदा पनि तापक्रम परीक्षण गरिएको थियो ।’ लम्सालका अनुसार वुहानबाट ५५, चिङचौबाट ४८, यान्सबाट २६, सियानबाट २९, यिछाङबाट ८ र जिङ्मेनबाट ९ जनाको उद्धार गरिएको हो ।

माघ १ गते पहिलो पटक विश्व स्वास्थ्य संगठनले जेनेभास्थित आफ्नो मुख्यालयमा पत्रकार सम्मेलन गरी चीनमा देखिएको नयाँ प्रकारको भाइरस विश्वभर फैलन सक्ने खतरा रहेको जानकारी दिएको थियो । त्यसको १७ दिनपछि कोरोनाको संक्रमण पूरै चीनभर र विश्वका कैयौं देशमा देखिएको भन्दै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको थियो । अहिले यो भाइरसको संक्रमण २९ देशमा देखिएको छ ।

यो भाइरसको संक्रमणका कारण विश्वभरमा एक हजार ५२७ जनाको मृत्यु भइसकेको छ भने ६७ हजार १९२ जना यसबाट संक्रमित भएको पुष्टि भएको छ । ८ हजार ५९४ जना भने संक्रमणको उपचारपछि निको भएका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?