काठमाडौँ — आइतबार झिस्मिसेमा १७५ जना नेपाली कोरोना संक्रमणको केन्द्र मानिएको चीनको हुबेइ प्रान्तका विभिन्न सहरहरुबाट उद्धार भएर नेपाल आइपुगे । उनीहरुलाई स्वदेश फर्काउनका लागि बेइजिङस्थित नेपाली दूतावासले सम्पूर्ण व्यवस्था मिलाएको थियो ।
उद्धार व्यवस्थापनको जिम्मा लिएको दूतावासले १७५ जना नेपालीलाई सरकारले निश्चित गरेको समावधीभर क्वारेन्टाइनमा बस्न मन्जुर भएको प्रतिबद्धाता पत्रमा समेत हस्ताक्षर गराएको थियो ।
उद्धार भएर काठमाडौं आइपुगेका नेपालीले दिएको जानकारी अनुसार दूतावासलाई बुझाइएको प्रतिवद्धता पत्रमा सरकारले तोकेको अवधिभर क्वारेन्टाइन क्षेत्रमा बिनाकुनै अटेर गरी बस्छु र सम्पूर्ण रुपमा सहयोग गर्छु नभए कानुन अनुसारको कारवाही भोग्न तयार छु भन्ने व्यहोरा लेखेर हस्ताक्ष र औंठाछाप गर्न लगाइएको थियो ।
