वुहानबाट फर्किएकाहरु भन्छन्- 'क्‍वारेन्टाइनमा खानेबस्‍ने व्यवस्था सोचेभन्दा राम्रो'

फाल्गुन ४, २०७६

स्वरूप आचार्य

काठमाडौँ — चीनको हुबेइ प्रान्तका विभिन्न ६ सहरबाट उद्धार भएर नेपाल आइपुगेका १७५ नेपालीले सरकारी व्यवस्थापन देखेर आफूहरु छक्कै परेको प्रतिक्रिया दिएका छन् । आइतबार बिहानपख काठमाडौंमा उत्रिएका उनीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरीको स्कर्टिङमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा व्यवस्था गरिएको क्‍वारेन्टाइन क्षेत्रमा लगिएको थियो ।

अबेर राति वुहानबाट उडेका उनीहरु लगभग जाग्रामकै अवस्थामा काठमाडौं उत्रिएका थिए । 'खरिपाटी आएपछि प्राय: हामी सबै सुत्यौं । हामीलाई यहाँ बस्दा पालना गर्नुपर्ने नियम र खानेपिउने समय तालिका दिइएको छ,' डा. जीतसिंह भण्डारीले भने, 'खानेकुराहरु बाहिर चउरमा बनाएको टेन्टमा लन्‍चबक्स बनाएर राखिँदो रहेछ । यहाँको व्यवस्था हामीले सोचेभन्दा पनि राम्रो छ ।'


यस्तै वुहानबाट फर्किएका अर्का चिकित्सा शिक्षाका विद्यार्थी डा. सुदीप राउतका अनुसार सरकारले वुहानदेखि नै राम्रो व्यवस्था गरेको थियो । 

यो पनि पढ्नुहोस् : यस्ताे बन्याे खरिपाटी क्वारेन्टाइन [तस्बिरहरुसहित]


'हामीलाई विमानस्थलसम्म पनि निकै राम्रोसँग लगियो । त्यसपछि विमानको यात्रा पनि निकै सुविधाजनक थियो,' उनले भने, 'विमानमा दिइएको खानाले नै हामीलाई निकै खुसी लागेको थियो । किनभने त्यो पूर्णरुपमा स्वास्थ्यको ख्याल गरेर, राम्रो हिसाबकिताब भएको लन्चबक्स थियो ।'


स्वदेश फर्कन पाउँदा अहिले सबै नेपालीहरु निकै हर्षित छन् । त्यसमाथि पनि सरकारले गरेको व्यवस्थाले उनीहरुको मन रमाएको छ । 


'हामीले गर्न नसक्ने त होइन रैछौं नि त,' डा. सबिर श्रेष्ठले भने, 'अलि अगाडि नै यो सबै भइदिएको भए झनै राम्रो हुन्थ्यो । ढिलै भए पनि देश फर्कन पाइयो । यति राम्रो व्यवस्था गरेर राखेको छ । भित्रैबाट खुसी लागेको छ ।'


यो पनि पढ्नुहोस् : ‘फर्कनै पाइँदैन जस्तो लागेको थियो, अहिले हर्षित छौं’

 

उनको अनुसार केही दिनयता हुबेइको लकडाउनलाई झनै सशक्तरुपमा लागू गर्न थालिएकोले सबैजना त्रसित थिए । 'पछिल्लो समय कोठाबाट बाहिर पनि निस्कन नदिने नीति लिएको छ,' उनले भने, 'अब त सामान पनि अनलाइन नै अर्डर गर्नुपर्ने नियम लागू हुनसक्‍ने सुनिएको थियो । जे भए पनि आफ्‍नो देश आइपुगियो, त्यसैमा खुसी छौं ।'

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully