कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोप : संक्रमित र मृतकको संख्या घट्दै गएको चीनको दाबी

मृतकको संख्या १७ सय नाघ्याे, ७१ हजार बढी संक्रमित
एजेन्सी

बेइजिङ — चीनले कोरोना भाइरसको नयाँ संक्रमित संख्या घटेको बताएको छ । लगातार तीन दिन नयाँ संक्रमितको संख्यामा गिरावट आएको उसले जनाएको हो ।

रोग नियन्त्रणबारे सरकारले चालेका ठोस प्रयासले काम गर्न थालेको उनीहरूको दाबी छकोरोना भाइरस संक्रमण फैलन नदिन चीनले चालेका कदमले बिस्तारै प्रभाव देखाउन थालेको छ,’ चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए

आइतबार चीनमा १०५ जनाको मृत्यु भएको छ। स्वास्थ्य आयोगका अनुसार कारोनाका कारण शनिबार चीनमा १४२ जनाको मृत्यु भएको थियो भने थप दुई हजार नौमा संक्रमण पाइएको थियो अघिल्लो दिन शुक्रबार १४३ जनाको मृत्यु भएको थियो दुई हजार ६४१ नयाँ संक्रमित पुष्टि भएका थिए

हालसम्म कोरोना भाइरस संक्रमणबाट चीनभर ७१ हजार ३२६ संक्रमित भएका छन् भने मृतकको संख्या १ हजार ७७५ पुगेको छ। चीनमा मात्रै एक हजार ७ सय ७० जनाको मृत्यु भएको छ ।चीनबाहिर करिब ३० देशमा लगभग पाँच सय संक्रमित पाइएका छन्

कोरोना संक्रमितमध्ये १० हजार ६१० जना निको भइसकेका छन्

कहाँ कति संक्रमित?

चीन-१,७७०मृत्यु,७०,५४८संक्रमित

हङकङ- १ मृत्यु, ५७ संक्रमित

जापान- १ मृत्यु, ४१२संक्रमित

फिलिपिन्स- १ मृत्यु, ३ संक्रमित

फ्रान्स- १ मृत्यु, १२ संक्रमित


संक्रमित मात्रै

मकाउ- १०

सिंगापुर- ७५

थाइल्यान्ड- ३४

दक्षिण कोरिया- २९

मलेसिया- २२

ताइवान- १८

भियतनाम- १६

जर्मनी- १६

अमेरिका- १५

अस्ट्रेलिया- १५

बेलायत- ९

यूएई-

क्यानडा- ८

भारत- ३

इटाली- ३

रुस- २

स्पेन- २

बेल्जियम- १

नेपाल- १

श्रीलंका- १

स्वीडेन- १

कम्बोडिया- १

फिनल्यान्ड- १

इजिप्ट- १ प्रकाशित : फाल्गुन ५, २०७६ ०९:१८

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पर्यटक बरु थोरै आऊन्, खर्च धेरै गरून्

थोरै खर्च गर्ने धेरै पर्यटकबाट भन्दा धेरै खर्च गर्ने थोरै पर्यटकबाट देशले अधिक लाभ लिन सक्छ 
उषा थपलिया

नेपाल भ्रमण वर्ष–२०२० को भव्य उद्‍घाटनको होहल्ला सेलाउन नपाउँदै एक पर्यटनकर्मीले दुखेसो पोखे, ‘अरू त कुरै छोडौं, युनेस्को विश्वसम्पदा सूचीभित्रका हाम्रा शौचालयको अवस्थाले नै यति निराश बनाउँछ ।’ पर्यटनलाई अर्थतन्त्रको एक प्रमुख आधार बनाउने लक्ष्यसहित सरकारले गत जनवरी १ मा भ्रमण वर्ष–२०२० अभियान शुभारम्भ गर्‍यो । 

अभियानका दौरान यो वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने संकल्प मात्र हैन, २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा मनाउने अनि १५ औं पञ्चवर्षीय योजनाको अन्त्यसम्म देशको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रबाट गराउने अपेक्षा सरकारको छ । जबकि हाल पर्यटनबाट देशको कुल गार्हस्थ्य उत्पादनमा ३ देखि ४ प्रतिशत हाराहारीको योगदान मात्र भइरहेको छ । विदेशी पर्यटकका लागि भ्रमण खुल्ला गरिएको ६९ वर्ष पुगेको छ र योसहित तीनवटा भ्रमण वर्ष मनाइएको छ ।

सन् १९९८ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखियो । लक्षित संख्याका सबै पर्यटक नेपाल आएनन्, तर नेपालमा पर्यटन विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र जनस्तरबीच संयुक्त प्रयासको थालनी गराउन उक्त कार्यक्रमले राम्रै भूमिका खेल्यो । त्यसपछि १० लाख पर्यटकलाई स्वागत गर्ने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०११ आयोजना गरियो । नेपाल आउने पर्यटकको संख्या त्यो वर्ष ८ लाखमै सीमित रह्यो तर माओवादी सशस्त्र द्वन्द्वका कारण विदेशीहरूमाझ कायम नेपालबारेको नकारात्मक छाप हटाउन सफल हुनु त्यो वर्षको उपलब्धि थियो । त्यसयता विदेशीहरूको नेपाल आगमन क्रमशः बढिरहेको छ । सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटक नेपाल आएको आँकडाले देखाउँछ । सन् २०१७ का तुलनामा यो संख्या २४ प्रतिशतले बढी थियो । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ विदेशी नेपाल आएको अध्यागमन विभागले केहीअघि सार्वजनिक गर्‍यो । गत वर्षदेखि नै भ्रमण वर्षको प्रवर्धनात्मक कार्यक्रम सुरु गरिएका थिए । त्यसको प्रचारप्रसारका लागि सरकार मात्र हैन, निजी क्षेत्र, नागरिक तह तथा गैरआवासीय नेपालीहरूसमेत सक्रिय रहँदै आएका थिए । यी सबै हुँदा पनि गत वर्षका तुलनामा करिब २ प्रतिशत बढी मात्रै पर्यटक नेपाल भित्रिनुलाई ठूलो उपलब्धि मान्न सकिन्न । अझ भ्रमण वर्ष सुरु भएको पहिलो र दोस्रो महिनाको तथ्यांक विश्लेषण गर्दा स्थिति प्रतिकूल बनेको देखिन्छ । अध्यागमन विभाग अनुसार, २०१९ को जनवरीको तुलनामा २०२० को जनवरीमा नेपाल आउने पर्यटकको संख्या झन्डै २५ हजारले घटेको छ । फेब्रुअरीमा बाह्य तथा आन्तरिक कारणले यो संख्या अझ घटेको अनुमान विभागको छ ।

देशमा पर्यटकको संख्या घोषणा गरिए बमोजिम भित्र्याउनु एउटा पक्ष हो भने उनीहरूको बसाइ अवधि लम्ब्याएर खर्च प्रवृत्ति बढाउनु त्योभन्दा महत्त्वपूर्ण पक्ष हो । थोरै खर्च गर्ने धेरै पर्यटकबाट भन्दा धेरै खर्च गर्ने थोरै पर्यटकबाट देशले अधिक लाभ लिन सक्छ । अहिले विदेशी पर्यटकले नेपालमा प्रतिदिन सरदर ५० अमेरिकी डलर खर्च गर्ने गरेको बताइन्छ । तसर्थ उनीहरूको खर्च प्रवृत्ति बढाउने वातावरण तय गरिनु धेरै पर्यटक भित्र्याउनुभन्दा बढी अपरिहार्य देखिन्छ । पर्यटन दशककै आसपासमा रहेर प्रत्येक विदेशीले गर्ने खर्च दैनिक ८० डलर पुर्‍याउने र वार्षिक ३५ लाख पर्यटक भित्र्याउने आकांक्षा सरकारले नराखेको हैन । तर त्यसलाई सम्भव बनाउने योजना अघि सार्न सकेको छैन । यसका लागि विदेशी पर्यटकलाई आकर्षित गर्ने र धेरै दिन व्यतित गर्ने प्याकेजहरूको आवश्यकता पर्छ । देशभित्र जे–जस्ता प्राकृतिक, जैविक, सांस्कृतिक, भौगोलिक, धार्मिक, पुरातात्त्विक विविधता छन्, ती सबैको स्वाद लिन सक्ने अवस्था बनाउनुपर्छ । यसका लागि पर्यटन सम्बद्ध हरेक निकाय, निजी क्षेत्र, तीनै सरकारबीचको समन्वयमा योजनाहरू बन्नुपर्छ । विगतदेखि चिनिएको पदयात्रा र पर्वतारोहणका लागि मात्र हैन, धार्मिक र सांस्कृतिक पर्यटकहरूलाई पनि आकर्षित गर्नैपर्ने देखिन्छ ।

केही उदाहरणीय काम भएका छन् । धार्मिक तीर्थस्थलका रूपमा चिनिएको लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक पाठ र भद्रचर्या उत्सव भयो । लुम्बिनी विकास कोषले ती गतिविधिमा पर्यटकलाई सहभागी हुने वातावरण बनाउँदा बसाइ लम्बिनुका साथ उनीहरूले गर्ने खर्चमा समेत बढोत्तरी भयो । कतिपय प्रादेशिक सरकारले सामुदायिक होमस्टे सञ्चालनका लागि सरकारी अनुदानको व्यवस्था गरेका छन् । होमस्टेले विदेशीहरूलाई स्थानीय रहनसहन र चालचलन मात्र सिकाउँदैन, स्थानीय उत्पादनलाई पनि बढावा दिन्छ, स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गराउँछ । यस्ता काम सबैतिर हुनु जरुरी छ । नेपालका निकुञ्ज तथा संरक्षित क्षेत्र वन्यजन्तु र जैविक विविधताले भरिपूर्ण छन् । नेपाल आउनेमध्ये ६० प्रतिशत पर्यटक यिनै क्षेत्रमा आकर्षित भएको सरकारी तथ्यांकले बताउँछ । त्यसैले यो क्षेत्रको बढावा पनि प्राथमिकतामा पर्नुपर्छ ।

प्रविधि र सहरीकरणभन्दा पुरातात्त्विक र धार्मिक महत्त्वका संरचनाको अवलोकनका लागि धेरै विदेशीले नेपाललाई गन्तव्य बनाउने गर्छन् । तर यी चीज क्रमशः मासिँदै गएका छन् । केहीअघि कान्तिपुर दैनिकमै प्रकाशित एउटा रिपोर्टले उपत्यकाका तीन सहरमा रहेका ११८ पोखरीमध्ये २५ पोखरीमा भवन बनेको, १६ पोखरी मैदानमा परिणत भएको र ९ पोखरी सुक्खा बनेको स्थिति उजागर गर्‍यो । विडम्बना, प्राचीनकालदेखिका ती पोखरी संरक्षण गर्नुपर्ने दायित्व भएका स्थानीय निकायले नै त्यहाँ भवन ठड्याउने नकाम गरे । त्यस्तै, भूकम्पले भत्किएका धार्मिक संरचनाहरू बनिसकेका छैनन् । अधिकांश विदेशीको पहिलो रोजाइमा पर्ने काठमाडौं, ललितपुर तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीका संरचनाहरूको समेत निर्माण अधुरै छ । सडक बनाउने नाममा हरियाली सखाप पारिएको छ । धूलो, धूवाँ र प्रदूषणले जो कोहीलाई हायलकायल पार्ने गर्छ । आचारसंहिताको रत्तिभर ख्याल नगर्ने सवारी साधनबाट पनि विदेशी पर्यटक उत्तिकै असरमा पर्ने गरेका छन् । सरदर उचाइका नेपालीकै टाउको ठोकिने कतिपय बसभित्र कोचाकोच गरेर उभिई सास्तीपूर्ण यात्रागर्ने विदेशीहरूले नेपालबारे के सन्देश लैजालान् ? स्वतन्त्र घुमफिरमा रम्ने विदेशीहरू सामान विक्रेताहरूद्वारा सताइएको जहीँतहीँ देखिन्छ । यस्ता व्यवहार रोक्न स्थानीय तह आवश्यक ठान्दैन ।

पर्याप्त सार्वजनिक शौचालयको व्यवस्था नहुनु अर्को ठूलो समस्या हो भने भएका शौचालय फोहोर र दुर्गन्धको निकृष्ट नमुना बनेका छन् । हरेक सार्वजनिक शौचालयले शुल्क लिने गर्छन् तर शौचालयको हालत त्यस्तो राख्दासमेत सरोकारवाला निकायको टाउको दुखेको पाइँदैन ।

यस्तो दुरवस्थाबीच चीनबाट फैलिरहेको कोरोना भाइरसले सबैलाई तर्साइरहेको छ । यसबाट भ्रमण वर्ष झन् प्रभावित हुने सम्भावना छ । समयक्रममा आइलाग्ने यी र यस्ता नियन्त्रण बाहिरका कारणले जुनसुकै कार्यक्रम प्रभावित भए पनि त्यो राष्ट्रिय लज्जाको विषय बन्दैन । सरम त तब हुन्छ, जब राज्यले अति आधारभूत पक्षलाई समेत व्यवस्थित नगर्दा विदेशी पर्यटकहरूले पाइलापाइलामा सास्ती खेप्नुपर्ने परिरहेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०९:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×