पछिल्लो समय नेपाली खानाका पारखीहरू रैथाने खान्कीमा रत्तिन थालेका छन् । स्वादसँगै स्वस्थकर पनि हुने भएपछि सहरदेखि गाउँसम्मै रैथाने र मौलिक जातका अन्नपात उपभोग गर्नेहरू दिनानुदिन बढ्दै गईरहेका छन् । तर त्यस अनुपातमा यस्ता अन्नबालीको उत्पादन भने घट्दो छ ।
What you should know
रुकुमपूर्व — ‘अल्छे तिघ्रो, स्वादे जिब्रो ।’ जनस्तरमा यो उखान त्यसै प्रचलित भएको होइन । खानपानमा स्वादिलो चाहिएपनि त्यसलाई उत्पादन गर्न भने हाम्राे खासै जाँगर चल्न छोडेको छ ।
पछिल्लो समय नेपाली खानाका पारखीहरू रैथाने खान्कीमा रत्तिन थालेका छन् । स्वादसँगै स्वस्थकर पनि हुने भएपछि सहरदेखि गाउँसम्मै रैथाने र मौलिक जातका अन्नपात उपभोग गर्नेहरू दिनानुदिन बढ्दै गईरहेका छन् । तर त्यस अनुपातमा यस्ता अन्नबालीको उत्पादन भने घट्दो छ । खेतीकिसानी गर्ने अधिकांश युवाशक्ति वैदेशिक रोजगारमा आकर्षित हुन थालेपछि खेतीपाती गर्ने क्रम घटेको हो ।
जबकी माग बढेसँगै सहरका गल्लीदेखी ठुल्ठुला होटेल तथा रेष्टुरेन्टको मेनुमा रैथाने खान्कीले प्राथमिकता पाईरहेको छ । तर माग अनुसार आपूर्ती हुन नसकेको व्यवसायीहरू बताउँछन् ।
गाउँघरमै रैथाने बाली उत्पादन घट्नुमा मूल बीउ उत्पादन तथा संरक्षण गर्न नसक्नु मुख्य समस्या रहेको सिस्ने गाउँपालिका–३ का किसान डन्नबहादुर खड्का बताउँछन् । यसको व्यावसायिक उत्पादन प्रवर्द्धन गर्नका लागी पनि स्थानीय सरकारहरूले पर्याप्त काम गर्नुपर्नेमा उनको जोड छ ।
गाउँका रैथाने धान, मकै, कोदो, फापर, जौ, सिमी, टिमुर, मास जस्ता रैथाने स्वादका खाद्यान्नको माग निकै भएपनि उत्पादन भने वर्षेनि घट्दै गइरहेको छ । यही माग र आपूर्तीबीचको सन्तुलनलाई मिलाउनका लागि धनकुटाको अमलेटारस्थित औद्योगिकग्राममा कोदो, फापर, मकै, स्थानीय दाल–गेडागुडी तथा अन्य परम्परागत खाद्यान्न प्रशोधन, प्याकेजिङ र बजारीकरण गरेर आफ्नै मौलिक ब्राण्ड ‘आनीको खाद्यउद्योग’ कोशी प्रदेशका विभिन्न जिल्लामा पुर्याइन थालिएको छ । तर उद्योग खोले पनि अझै माग अनुसार पुर्याउन नसकेको यसका संचालक रोशन राई सुनाउँछन् । ‘माग धान्न र उद्योगलाई टिकाईराख्नका लागि पनि यस्ता रैथाने अन्नबालीको उत्पादनमा लाग्न किसानहरुलाई हौसला दिईरहेका छौं,’ उनले भने ।
देशकै व्यापारिक केन्द्र मानिने चितवनका होटलमा अर्गानिक खानाको माग बढ्दो छ । ‘थकाली खाना’ नामबाट यहाँ थुप्रै होटल/रेष्टुरेन्ट खुलेपनि त्यसअनुरुप खानेकुरा नभएको ग्राहकहरू गुनासो गर्छन् । त्यसो त यहाँका होटल संचालकहरू पनि प्रचार गरे अनुसारको परिकार खुवाउन नसकेको स्वीकार गर्छन् । थकाली खाना खुवाउन उनिहरूलाई मुस्ताङको सिमी, टिमुर, जिम्बुलगायतका खान्की जुटाउनै सकस छ ।
केही युवा व्यवसायीले मिलेर नारायणगढमा ‘लिम्बाथकाली’ खोलेका छन् । यसका लागि उनिहरूले मुस्ताङबाटै कच्चापदार्थ ल्याउने गर्छन् । ‘तर अर्गानिक खान्कीका लागी आवश्यक पर्ने कच्चापदार्थ जुटाउनै गाह्रो परिरहेको छ,’ लिम्बाथकालीका संचालक कृष्ण पौडेल सुनाउँछन् ।
‘अहिले ग्राहकहरू स्वास्थमा सजग र अर्गानिक खानेकुराप्रति आकर्षित हुँदै गईरहेका त छन्, तर ग्राहकको माग अनुरुप हामीले पुर्याउन सकिरहेका छैनौं,’ पौडेलले थपे, ‘यसका लागि पर्याप्त मात्रामा कच्चा पदार्थ पाउनै सजिलो छैन ।’
चितवनमा मात्रै होईन देशका प्रायः प्रमुख सहरमा अचेल रैथाने खान्कीको लहर नै चलेको छ । विभिन्न देश–विदेशबाट पर्यटकको ओईरो लाग्ने पोखरामा पनि अहिले आधुनिक मेनुमा भन्दा मौलिक खानाको स्वाद लिन चाहने ग्राहकको ओइरो लाग्न थालेको छ ।
पर्यटकको अत्यधिक चहलपहल हुने लेकसाइडमा रहेका अधिकांश होटेल तथा रेष्टुरेन्टका मेनुमा रैथाने बालीबाट बनाइने विभिन्न परिकारको लामै सूची हुने गरेको छ । तर यसकालागी कच्चापदार्थ खोज्न मुस्ताङसम्मै जाँदा पनि पर्याप्त मात्रामा पाइन छोडेको यहाँका होटेल व्यवसायी विरेश शेरचन बताउँछन् ।
‘त्यसैले अब हाम्रा रैथाने बालीहरूको संरक्षण गरेर व्यावसायिक उत्पादनमा बढवा दिन सकेमा खाद्यान्नमा आयात घट्ने, स्वदेशमै रोजगारी सिर्जना हुने र मौलिक नेपाली भान्साले देशविदेशमा विशिष्ट परिचयसमेत बनाउने छ,’ शेरचन आशावादी छन् ।
मौलिक स्वादले भरिपूर्ण हाम्रा रैथाने बालीहरू केवल खाद्य उत्पादनको सूचक मात्रै नभई औषधीय गुणले पनि भरिपूर्ण भएको बताउँदै रुकुमपूर्वका मधुकर शाह यी बालीको माग आधुनिक बजारमा पनि हुनु राम्रो संकेत भएको मान्छन् ।