अमेरिकी साम्राज्यवादको खरो आलोचक अमेरिकी पप ब्यान्ड ‘मुना’को कथा

एल्बमको चर्चित गीत ‘बिग स्टिक’ ले अमेरिकी साम्राज्यवाद, गाजा युद्ध र अमेरिकी प्रहरीको सैन्यीकरणको कडा आलोचना गरेको छ । ‘मुना’ पनि यस गीतलाई एउटा राजनीतिक र भावनात्मक विस्फोटको आवाज भन्न रुचाउँछ ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — लस एन्जलसको एउटा सानो पप ब्यान्ड ‘मुना’ को सांगीतिक करिअरको सुरुवात हाँसो उठ्दो घटनाबाट भएको थियो । रातभरको उडान गरेर लन्डन आउनासाथ रेकर्ड लेबलले उनीहरूलाई लास भेगासको स्थानीय रेडियो स्टेसनले प्रायोजन गरेको एउटा कुकुर ‘एडप्सन फेस्टिभल’मा कन्सर्टका लागि पठाएको थियो ।

‘थकान र अनिदोका कारण हामी सबै बिरामी भएका थियौं, त्यसैले सुरुदेखि नै परिस्थिति खराब थियो,’ ब्यान्डकी गिटारिस्ट जोसेट मास्किन सम्झिन्छिन्, ‘हामीसँग साउन्ड प्राविधिक थिएनन् र गिटारबाट अनौठो र कानै खाने गरी ठूलो आवाज (फिडब्याक) आउन थाल्यो ।’ ब्यान्डकी लीड भोकलिस्ट केटी गेभिन थप्छिन्, ‘त्यो आवाज यति कर्कश थियो की वरपरका कुकुरहरू अत्तालिएर कन्सर्टभर नै भुकिरहे ।’ जबकी ब्यान्डसँग साउन्ड इन्जिनियर थिएनन् ।


आज त्यो सांगीतिक दुर्घटना ‘मुना’ का लागि केवल एउटा बिर्सन नसकिने सम्झना बनेको छ । विगत एक दशकको यात्रामा यो ब्यान्ड विश्वकै उत्कृष्ट र प्रभावकारी ‘लाइभ ब्यान्ड’ मध्ये एक बनेको छ । पंक, इलेक्ट्रोनिक र ८० को दशकको सांगीतिक झलक पाइने ‘मुना’ लाई विश्वप्रसिद्ध ह्यारी स्टाइल्सदेखि टेलर स्विफ्टसम्मले तारिफ गर्न थालेका छन् । केटी गेभिन, नाओमी म्याकफर्स र जोसेट मास्किनको त्रि–सदस्यीय यस ब्यान्डलाइ टेलर र ह्यारीले आफ्नो ‘म्युजिकल वर्ल्ड टुर’ मा समेत ओपनिंग आर्टिस्टका रुपमा सामेल गराएका थिए ।

यद्यपि, सन् २०२० मा कोरोना महामारीपछि बजेट कटौतीको कारण देखाउँदै ‘आरसीए रेकर्ड्स’ले उनीहरूसँगको सम्झौता तोडेपछि यो ब्यान्डको भविष्य संकटमा परेको थियो । तर, लगत्तै सन् २०२१ मा इन्डी स्टार फोबे ब्रिजर्सले उनीहरूलाई आफ्नो लेबल ‘स्याडेस्ट फ्याक्ट्री’मा आबद्ध गराइन् । ब्रिजर्ससँगको सहकार्यमा निस्किएको ‘सिल्क शिफोन’ गीत मुनाका लागि कोशेढुंगा साबित भयो ।


मे २०२६ मा चौथो एल्बमका रूपमा ‘डान्सिंग अन द वाल’ निकालेपछि त यो ब्यान्डले नयाँ उचाइ कायम गरिसकेको छ । यस एल्बमका गीतहरू अलि गम्भीर र प्रभावकारी देखिएका छन् । एल्बमको चर्चित गीत ‘बिग स्टिक’ ले अमेरिकी साम्राज्यवाद, गाजा युद्ध र अमेरिकी प्रहरीको सैन्यीकरणको कडा आलोचना गरेको छ । ‘मुना’ पनि यस गीतलाई एउटा राजनीतिक र भावनात्मक विस्फोटको आवाज भन्न रुचाउँछ ।

‘मान्छेहरु अनेकन तनाबबाट एकछिन भएपनि मुक्ति पाउन कन्सर्ट जाने गर्छन्, तर अहिलेको परिस्थिति यति भयावह छ कि मान्छे आक्रोश पोख्ने माध्यम खोजिरहेका छन्,’ गायिका गेभिन भन्छिन्, ‘यो गीत आजको समयको असहायताको भावनाबाट जन्मिएको हो । यो अहिले शक्ति फर्काउने माध्यम बनेको छ ।’ जुन गीतको शीर्षक राष्ट्रपति थियोडोर रुजवेल्टको प्रख्यात भनाइ ‘बिस्तारै बोल, तर ठूलो लौरो बोक’ बाट लिइएको हो ।

ग्याभिनका अनुसार रुजवेल्ट अमेरिकी साम्राज्यवादको प्रतीक हुन् । एल्बम आधिकारिक रूपमा रिलिज हुनुभन्दा अघि नै उनीहरूले ‘बीग स्टिक’ लाई ब्यान्डक्याम्प मार्फत केवल ४८ घण्टाका लागि बेचेर त्यसबाट उठेको सम्पूर्ण रकम दुई प्यालेस्टिनी चिकित्सकहरूले गाजामा चलाउने संस्था ‘पाल ह्युमानिटी’ लाई दिए, जसले उत्तरी गाजामा चिकित्सा सहायता, राहत सामग्री र बालबालिकाहरूलाई शिक्षा उपलब्ध गराउँछ ।


‘हामी सधैं राजनीतिक ब्यान्ड रहेका छौं, हामीले सधैं आफ्नो विश्वास खुलेर व्यक्त गर्दै आएका छौं,’ मास्किन भन्छिन् । तर कतिपय संगीत समीक्षकहरूले यसको आलोचना पनि गरेका छन् । एल्बम रिलिज भएपछि आएका समीक्षाहरू हेर्दा, धेरैले ठ्याक्कै त्यही कुराको अभाव औंल्याए जुन कुरा ब्यान्ड आफैंले एल्बमको केन्द्रीय शक्ति भनेर ‘स्पष्ट दृष्टिकोण र भावनात्मक तीव्रता’ दाबी गरेका थिए ।

‘क्वीर पप’को फराकिलो दायरा

आफ्ना गीतहरूमा लैङ्गिक अल्पसंख्यक समुदायका भावना, प्रेम र संघर्षलाई प्रस्टसँग प्रस्तुत गर्ने मुनाले ‘क्वीर’ शब्दलाई उत्सवका रूपमा स्थापित गर्न भूमिका खेलेको छ ।

सुरुवाती दिनमा आफ्नो पहिचान लुकाउन खोजे पनि पछि उनीहरूले आफ्नो वास्तविक पहिचानसहित संगीत सिर्जना गर्ने निर्णय गरे । आज च्यापेल रोन, रेने रेप र लिल नास एक्स जस्ता कलाकारहरूसँगै ‘क्वीर पप’ मूलधारको संगीतमा छाइरहँदा मुना ब्यान्ड यस परिवर्तनको अग्रपंक्तिमा उभिएको छ ।

आउँदो शरद ऋतुमा उनीहरू आफ्नो करियरकै सबैभन्दा ठूलो टुर ‘गेट्स सो हट टुर’ गर्दैछन् । दशक लामो यात्रापछि, उनीहरूले कहिल्यै कल्पना नगरेको जनसागरमाझ आफ्ना गीतहरू गुञ्जाइरहेका हुनेछन् ।

फिचर

कान्तिपुर

Link copied successfully