विश्वकपपछि ध्यान क्लब फुटबलतर्फ, स्टार फुटबलर को कता ?

स्पेनका लामिन यमाल जस्ता युवा स्टारहरूको भ्यालु आकाशिएको छ । रोबर्ट लेवान्डोस्की र क्यासेमिरो जस्ता भेट्रान खेलाडी अमेरिकातर्फ लाग्दा मार्क कुकुरेला चेल्सी छोडेर रियल म्याड्रिड पुगेका छन् ।

श्रावण ९, २०८३

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — फिफा विश्वकप २०२६ का खेल सकिएपनि यसको सरगर्मी भने अझै सेलाइसकेको छैन । विश्वभरका फुटबलप्रेमीमा यतिबेला एउटा फरक खालको उत्साह छाएको छ । उत्तर अमेरिकामा करिब एक महिनासम्म चलेको विश्वकपको समापनसँगै अब फुटबल जगतको ध्यान क्लब फुटबलतर्फ मोडिएको छ ।

विश्वकप लगत्तै स्टार खेलाडीहरू पनि क्लब फुटबलमा केन्द्रित हुन थालेका छन् । युरोपका ठूला लिगहरू नयाँ सिजनका लागि पूर्ण रूपमा तम्तयार देखिएका छन् ।
भर्खरै सम्पन्न विश्वकपले यो सिजनको क्लब फुटबलमा प्रभाव पार्ने देखिएको छ ।

स्पेनका लामिन यमाल जस्ता युवा स्टारहरूको भ्यालु आकाशिएको छ भने स्पेनका खेलाडीहरू विश्वविजेताको मनोबलका साथ क्लबमा फर्किएका छन् । यद्यपि, विश्वकपको थकान र फिफाको अनिवार्य २१ दिनको विश्राम नियमका कारण कतिपय ठूला खेलाडीहरूले सिजनका सुरुवाती खेलहरू गुमाउन सक्ने देखिएको छ, जसलाई व्यवस्थापन गर्नु क्लबहरूका लागि मुख्य चुनौती हुनेछ ।

ट्रान्सफर विन्डोको कुरा गर्दा, यो सिजन रोबर्ट लेवान्डोस्की र क्यासेमिरो जस्ता भेट्रान खेलाडीहरू युरोप छाडेर अमेरिकातर्फ लागेका छन् । १ सेप्टेम्बरसम्म चल्ने यो ट्रान्सफर विन्डोमा मार्कस रासफोर्ड जस्ता खेलाडीहरूको भविष्यलाई लिएर अझै पनि अन्योल छ ।

विश्वकपको समापनबाट क्लब फुटबलको सुरुवातसम्मको यो छोटो अवधिमा फुटबलको उत्साह भने रोकिएको छैन । विश्वकपका ३३ दिनपछि सुरु हुन लागेका यी ठूला लिगहरूले नयाँ स्टार, नयाँ प्रतिद्वन्द्वी र उपाधि होडका साथ पुनः विश्वभरका खेल प्रेमीहरूलाई मनोरञ्जन दिनेछ ।

युरोपेली क्लब फुटबलको नयाँ सिजनको सुरुवात इंग्लिस प्रिमियर लिगबाट हुँदैछ । २२ अगस्टदेखि सुरु हुने ईपीएलको तालिका नै सार्वजनिक भइसकेको छ । उपाधि रक्षाको यात्रामा रहने साविक विजेता आर्सनलले पहिलो खेल नवप्रवेशी क्लब कोभेन्ट्री सिटीसँग खेल्नेछ । कोभेन्ट्रीका लागि यो २५ वर्षपछिको प्रिमियर लिग पुनरागमन निकै विशेष हुने देखिएको छ ।

यो सिजन म्यानचेस्टर सिटी पेप ग्वार्डिओला बिनाको नयाँ युगमा प्रवेश गर्दैछ भने म्यानचेस्टर युनाइटेडमा माइकल क्यारिकले पूर्ण जिम्मेवारी सम्हालेका छन् । कोभेन्ट्रीसँगै हल सिटी र इप्सविच टाउनजस्ता नवप्रवेशी क्लबहरूको प्रदर्शन यो सिजनको मुख्य आकर्षण रहनेछ ।

यता स्पेनमा ला लिगा पनि १५ अगस्टबाट सुरु हुँदैछ । साविक विजेता बार्सिलोनाले एथलेटिक क्लबविरुद्ध खेल्दै सिजनको सुरुवात गर्नेछ भने जोसे मोरिन्होको नेतृत्वमा रहेको रियल म्याड्रिडले आफ्नो पहिलो खेलमा रियल सोसिडाडको सामना गर्नेछ । फुटबल प्रेमीहरूले यो सिजनको पहिलो ‘एल क्लासिको’ का लागि २६ अक्टोबरसम्म कुर्नुपर्नेछ ।

विश्वकप च्याम्पियन स्पेनका मार्क कुकुरेलासहित डेन्जल डमफ्रिस र ब्रनाडो सिल्भाको आगमनले रियल म्याड्रिडको टोली थप शक्तिशाली देखिएको छ भने हन्सी फ्लिकको नेतृत्वमा रहेको बार्सिलोना पुनः उपाधि होडमा हुनेछ ।

जर्मनीको बुन्डेसलिगा भने केही ढिलो अर्थात् २९ अगस्टदेखि सुरु हुनेछ । साविक विजेता बायर्न म्युनिखले भीआईएफबी स्टुटगार्टविरुद्ध खेल्दै आफ्नो उपाधि रक्षाको यात्रा थाल्नेछ । प्रशिक्षक विन्सेन्ट कोम्पनीको नेतृत्वमा रहेको बायर्नले घरेलु ट्रेबल जित्ने लक्ष्य राखेको छ भने निको कोभाचको प्रशिक्षणमा रहेको बोरुसिया डर्टमन्ड र बायर लिभरकुजेनले बायर्नको अधिपत्य तोड्ने रणनीति बनाउने छन् । यो सिजन साल्के ०४ जस्तो क्लबको पुनरागमनले लिगमा थप उत्साह थपेको छ ।

इटालीमा सिरि ‘ए’ को सिजन पनि २२ अगस्टदेखि हुनेछ । साविक विजेता इन्टर मिलानले मोन्जाविरुद्ध खेल्दै सिजनको ओपनिङ गर्नेछ । यो सिजन सिरि ‘ए’ का ठूला क्लबहरूमा प्रशिक्षक परिवर्तनको लहर देखिएको छ, जसमा म्यासिमिलानो एलेग्री नेपोलीमा र रुबेन अमोरिम एसी मिलानमा अनुबन्धित भएका छन् । यस्तै फ्रान्समा लिग वान २२ अगस्टदेखि सुरु हुनेछ, जहाँ पीएसजीले रेनेसविरुद्ध खेल्दै लगातार छैटौं पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

यस पटक युएफ च्याम्पियन्स लिग ८ सेप्टेम्बरदेखि हुँदैछ । सिजनको फाइनल आगामी वर्ष ५ जुनमा म्याड्रिडमा हुने तय भएको छ । सिजनको पहिलो युरोपेली उपाधिका लागि भने च्याम्पियन्स लिग विजेता पीएसजी र युरोपा लिग विजेता एस्टन भिल्लाबीच १३ अगस्टमा सुपर कप खेलिनेछ ।

विश्वकप २०२६फिचर

कान्तिपुर

Link copied successfully