भारतको ‘कक्रोच’ आन्दोलन: बलिउडमा दुई धार, किन चुप छन् सुपरस्टार ?

अभिनेत्री शबाना आजमीले विद्यार्थी मार्चमा कविता वाचन गर्दै ऐक्यवद्धता जनाउँदा अभिनेता प्रकाश राज भारतको संविधानको प्रतिलिपि नै हातमा बोकेर आन्दोलनमा पुगेका थिए ।

श्रावण ८, २०८३

कान्तिपुर संवाददाता

India’s ‘Cockroach’ Movement: Two Factions in Bollywood, Why Are the Superstars Silent?

What you should know

काठमाडौँ — भारतमा परीक्षामा भएको धाँधली र शिक्षा प्रणालीको सुधारका लागि सुरु भएको विद्यार्थी आन्दोलन तथा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को सडक संघर्षले दिल्लीको जन्तर–मन्तरदेखि संसद भवनसम्मको सडक तातिएको छ । पछिल्ला केही दिनमा विद्यार्थीमाथि भएको निर्मम प्रहरी दमनपछि बलिउडका गिनेचुनेका कलाकार, साहित्यकार तथा संगीतकर्मीहरूसमेत यस आन्दोलनको पक्ष र विपक्षमा मुखरित भएका छन् ।

स्नातक तहको मेडिकल (एमबीबीए, बीडीएस) अध्ययनका लागि भारतभर लिइने एक मात्र र अनिवार्य राष्ट्रिय प्रवेश परीक्षा ‘नेशनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट– अन्डरग्राजुएट’ (नीट–यूजी) मा हरेक वर्ष २० लाखभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्छन् । तर पछिल्लो पटक यसको परीक्षा हुनुअघि नै आर्थिक लेनदेनका आधारमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञानका प्रश्नपत्रहरू ‘लीक’ भएको खुलासा भएको थियो ।

India’s ‘Cockroach’ Movement: Two Factions in Bollywood, Why Are the Superstars Silent?

प्रश्नपत्र चुहावटका कारण परीक्षा रद्द गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको थियो । यसबाहेक सीबीएसईको डिजिटल मार्किङ र नतिजा पुनर्मूल्याङ्कनका त्रुटिहरूले पनि युवालाई आन्दोलित बनाउन थप बल पुर्‍याएको थियो ।

लाखौं विद्यार्थीको भविष्यसँग खेलबाड भएको, वर्षौंको मिहिनेत खेर गएको र केही विद्यार्थीहरूले आत्महत्यासमेत गरेको घटनाले गर्दा युवाहरू सडकमा ओर्लिन बाध्य भए । लगत्तै मे २०२६ मा भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीशले बेरोजगार युवालाई व्यंग्य गर्दै ‘कक्रोच’ (साङ्ला) उपमा दिएपछि झन् आगोमा घ्यू थप्ने काम गर्‍यो ।

आक्रोशित केही युवाले डिजिटल प्लाटफर्ममार्फत सांकेतिक रूपमा ‘कक्रोच जनता पार्टी’ गठन गरी केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा शिक्षा प्रणालीमा व्यापक सुधारको माग राख्दै आन्दोलन थाले ।

यो सांकेतिक आन्दोलन यतिबेला दिल्लीको जन्तर–मन्तर र संसद् भवन घेराउसम्म पुगेको छ । प्रदर्शनकारी विद्यार्थीहरूमाथि प्रहरीले गरेको बल प्रयोग र धरपकडपछि यतिबेला बलिउडका हस्तीहरूले पनि कडा प्रतिक्रिया जनाउन थालेका छन् । विगतमा यस्ता राजनीतिक/सामाजिक मुद्दामा मौन रहने बलिउडका शीर्ष स्टारहरूले पनि यसपटक विद्यार्थीको पक्षमा खुलेर मुख खोलेका छन् ।

India’s ‘Cockroach’ Movement: Two Factions in Bollywood, Why Are the Superstars Silent?

बलिउड अभिनेता सलमान खानले प्रश्नपत्र चुहावटको मुद्दालाई ‘अत्यन्तै गम्भीर’ भन्दै विद्यार्थीमाथि भएको हिंसाप्रति दुःख व्यक्त गरेका छन् । ‘यो एकदमै शान्तिपूर्ण आन्दोलन थियो, तर यसले हिंसात्मक रूप लिएको देख्दा दुःखी छु । घाइते विद्यार्थी र उनीहरूका परिवारप्रति मेरो समवेदना छ,’ उनले सोसल मिडियामा लेखेका छन्, ‘यो मुद्दा विद्यार्थी र शिक्षा प्रणालीबीचको हो, यसलाई राजनीतिक रूपमा ‘हाइज्याक’ गरिनु हुँदैन ।’

त्यसैगरी, अभिनेत्री आलिया भट्टले पनि विद्यार्थी आन्दोलनको समर्थनमा इन्स्टाग्राम स्टोरी पोस्ट गर्दै लेखेकी छन्, ‘यो विद्यार्थीहरूको लागि विद्यार्थीहरूद्वारा उनीहरूकै भविष्यका लागि गरिएको आन्दोलन हो । उनीहरू केवल आफ्नो मात्र होइन, आउने नयाँ पुस्ताको भविष्यको राम्रो बाटो निर्माण गर्दैछन् ।’

प्रसिद्ध बुकर पुरस्कार विजेता तथा सामाजिक अभियन्ता अरून्धती रोय सशरिर नै जन्तर–मन्तरस्थित आन्दोलनस्थलमा पुगेकी थिइन् । उनले यस आन्दोलनबारे ‘कक्रोच डेमोक्रेसीः अनआर्म्ड एन्ड डेन्जरस’ शीर्षकमा एक विस्तृत निबन्ध लेखेर ऐक्यबद्धता जनाएकी छन् ।

India’s ‘Cockroach’ Movement: Two Factions in Bollywood, Why Are the Superstars Silent?

रोयले यो आन्दोलन केवल परीक्षाको प्रश्नपत्र चुहावट वा शिक्षामन्त्री प्रधानको राजीनामामा मात्र सीमित नरहेर भारतको खस्किँदो लोकतन्त्र, बेरोजगारी र युवाको निराशाको राष्ट्रिय प्रतीक बनेको धारणा राखेकी छन् । उनले देशका मुख्य न्यायाधीशको व्यंगात्मक अभिव्यक्तिको विरोधबाट सुरु भएको ‘डिजिटल ट्रेन्ड’ अन्ततः कसरी भारतका युवाको आत्मसम्मान र अधिकारको आन्दोलन बन्यो भन्ने विषयलाई निबन्धमा प्रस्तुत गरेकी छन् ।

अभिनेत्री शबाना आजमी दिल्लीको जन्तर–मन्तरस्थित आन्दोलनस्थलमा पुगेर विद्यार्थीहरूसँगै मार्चमा सहभागी भइन् । उनले त्यहाँ कविता वाचन गर्दै देशको कूल गार्हस्थ उत्पादनको कम्तीमा ६ प्रतिशत बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा छुट्याउन सरकारसँग माग गरिन् । अभिनेता प्रकाश राजले भारतको संविधानको प्रतिलिपि नै हातमा बोकेर अनशनस्थल पुगेका थिए । उनले निर्वाचित सरकारलाई जनता र युवाप्रति जवाफदेही बनाउनुपर्ने बताए ।

गायक तथा अभिनेता दिलजीत दोसाञ्जले प्रहरी हस्तक्षेप र लाठीचार्जको निन्दा गर्दै इन्स्टाग्राममा लेखेका छन्, ‘विद्यार्थीहरूमाथि जे भयो, त्यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ । उनीहरूसँग यस्तो व्यवहार गरिनु हुँदैनथ्यो । म अधिकारीहरूलाई विद्यार्थीका माग सुन्न आग्रह गर्दछु । जनताको आवाज नै ईश्वरको आवाज हो ।’

विगतका किसान आन्दोलनको समर्थन गर्दा पनि आफूलाई ‘राष्ट्रविरोधी’ को आरोप लागेको सम्झँदै उनले थपे, ‘मलाई फेरि पनि राष्ट्रविरोधी भनिएला, तर भगवानले सबै हेरिरहनुभएको छ ।’

India’s ‘Cockroach’ Movement: Two Factions in Bollywood, Why Are the Superstars Silent?

अभिनेता सोनू सूदले ‘विद्यार्थीहरूलाई लाठी होइन, सहयोग र मार्गदर्शनको खाँचो भएको’ तर्क गर्दै विद्यार्थी आन्दोलनप्रति समर्थन जनाएका छन् । त्यसैगरी, अभिनेत्री भूमि पेड्नेकरले भनेकी छन्, ‘हिंसा र बल प्रयोगले शिक्षा क्षेत्रको समस्या समाधान हुन सक्दैन ।’ कलाकार दम्पत्ति रितेश देशमुख र जेनेलिया डिसुजाले युवा वर्ग नै लोकतन्त्रको ढुकढुकी भएकोले उनीहरूको आवाज दबाउन नहुने पक्षमा वकालत गरिरहेका छन् ।

अभिनेत्री प्रीति जिन्टाले पनि सामाजिक सञ्जालमार्फत शान्ति र न्यायको पक्षमा वकालत गरिरहेकी छन् । उनले युवा नै देशको मेरुदण्ड भएकाले उनीहरूमाथि हुने कुनै पनि प्रकारको दमन वा अन्याय गलत हुने र सरकारले उनीहरूका जायज मागहरूलाई वार्ताद्वारा समाधान गर्नुपर्ने धारणा राखेकी छन् ।

अर्की अभिनेत्री तथा पूर्व बिगबोस कन्टेस्टेन्ट आयशा खानले सामाजिक सञ्जालमार्फत सडकमा उत्रिएका विद्यार्थीहरूप्रति कडा ऐक्यबद्धता जनाउँदै लेखेकी छन्, ‘आफ्नो हक र निष्पक्ष परीक्षाको माग गर्ने विद्यार्थीमाथि यसरी बल प्रयोग गरिनु लज्जास्पद हो । हामीले युवाका आवाज दबाउन छाडेर उनीहरूलाई सुन्नुपर्छ ।’

भारतीय क्रिकेटका महान् खेलाडी सचिन तेन्दुलकरले भने आन्दोलनको राजनीतिक पाटोसँग आफूलाई टाढा राख्दै युवाको भविष्य र खेल तथा शैक्षिक वातावरणमाथि जोड दिएका छन् ।

वक्तव्य नै जारी गर्दै उनले भनेका छन्, ‘हाम्रा युवाहरूले कडा मिहिनेत गर्छन् । उनीहरूको मिहिनेतको कदर हुनुपर्छ र प्रणालीमा पारदर्शिता हुनुपर्छ ताकि कुनै पनि प्रतिभावान् युवा निराश हुन नपरोस् ।’ सचिनले विद्यार्थी र सरकार दुवैलाई शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न अपिल पनि गरेका छन् ।

India’s ‘Cockroach’ Movement: Two Factions in Bollywood, Why Are the Superstars Silent?

अभिनेत्री करीना कपूर तथा दक्षिण भारतीय सुपरस्टार कमल हसनले पनि विद्यार्थीमाथि भएको प्रहरी दमनको कडा आलोचना गरेका छन् । त्यस्तै, हलिउड अभिनेता जोन कुस्याकले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा भारतीय विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पोस्ट गरेका छन् ।

बलिउड अभिनेता इमरान खान, पूजा बेदीकी छोरी तथा अभिनेत्री अलाया एफ, र्‍यापर रफ्तार र गायक अनुव जैनलगायत मुम्बईमा आयोजना गरिएको विद्यार्थी ऐक्यबद्धता र्‍यालीमा प्रत्यक्ष सहभागी भएका छन् । त्यसैगरी, स्वरा भास्कर र कुणाल कामराले पनि दिल्लीको विरोध स्थलमा पुगेर विद्यार्थीहरूको आवाजलाई सामाजिक सञ्जाल र मिडियामार्फत अझ सशक्त बनाउन सहयोग गरे ।

उता, मुम्बईको एक कार्यक्रममा उपस्थित भएका गायक सोनू निगमलाई पत्रकारले जारी सीजेपी आन्दोलनमाथि गरिएको प्रहरी दमनबारे उनको प्रतिक्रिया लिन खोज्दा जवाफ दिन अस्वीकार गरेपछि नयाँ विवादमा तानिएका छन् ।

प्रश्न सुनेपछि सोनूले संक्षिप्त रूपमा ‘म यहाँ केका लागि आएको हुँ ?’ भन्दै प्रश्नबाट पन्छिन खोजेपछि आलोचना खेप्नु परिरहेको छ । जबकी भारतकै अन्य संगीतकार, गायक, कलाकारहरूले विद्यार्थीको पक्षमा खुलेर बोलिरहँदा सोनूले भने ‘गैरजिम्मेवार रूपमा पन्छन खोजेको’ भन्दै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको हो ।

यसबाहेक अभिनेता नसीरुद्दीन शाह, रत्ना पाठक शाह, प्रकाश राज र शबाना आजमीले २४ दिनभन्दा बढी अनशनमा बसेका सोनम वाङ्चुकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै विद्यार्थीका माग तुरुन्त पूरा गर्न सरकारलाई निरन्तर दबाब दिंदै आएका छन् ।

India’s ‘Cockroach’ Movement: Two Factions in Bollywood, Why Are the Superstars Silent?

अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक अभियन्ता सोनम वाङ्चुक र विद्यार्थीहरूले उठाएका जायज मुद्दाहरूको रक्षा हुनुपर्नेमा जोड दिएकी छन् भने अन्य अभिनेत्रीहरू हुमा कुरैशी, नन्दिता दास र सुतपा सिकदारले पनि प्रहरी दमनको कडा भर्त्सना गर्दै शिक्षामन्त्री र सरकारलाई विद्यार्थीहरूसँग रचनात्मक वार्ता गर्न आग्रह गरेका छन् ।

त्यसैगरी, जीनत अमान, वीर दास, सोनी राज्दान, अभय देओल, जोया अख्तर, अदिति राव हैदरी र पूजा भट्ट जस्ता बलिउड कलाकारहरूले पनि विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

कक्रोच जनता पार्टीको आन्दोलन अब केवल विद्यार्थीहरूको आन्दोलन मात्र रहेन । कलाकार, अभिनेता, संगीतकर्मीदेखि साहित्यिक र बौद्धिक वर्गले समेत ऐक्यबद्धता जनाउँदै आन्दोलनमा समेत सहभागी हुन थालेपछि यसलाई अन्तर्राष्ट्रिय मिडियाले पनि चासोका साथ कभरेज गर्न थालेका छन् ।

बलिउडका कलाकारहरूले विद्यार्थी आन्दोलनलाई समर्थन गरेपछि सामाजिक सञ्जाल तथा सत्तापक्षधर समर्थकहरूबाट कलाकारहरूमाथि नै तीव्र आलोचना पनि भएको छ । सत्तापक्षीय समर्थकहरूले बलिउड कलाकारहरूको समर्थनलाई ‘सस्तो पब्लिसिटी स्टन्ट’ गरेको आरोप लगाउँदै यस्ता हर्कतले ‘आन्दोलनमा घिउ थप्ने काम गरेको’ टिप्पणी गरेका छन् ।

उनिहरूले नै आन्लोलनप्रति समर्थन जनाउनासाथ दिलजीतलाई ‘अमेरिकामा बसेर भारतमा दंगा भड्काउन खोजेको’ र ‘भारत–विरोधी मानसिकता बोकेको’ भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् ।

कतिपय आलोचकले ‘कक्रोच पार्टी’ एउटा डिजिटल व्यंग्य मात्रै भएको तर यसलाई बलिउडका कलाकारहरूले राजनीतिक अभिष्ट पूरा गर्न हतियार बनाईरहेको आरोप लगाएका छन् ।

भारतमा फैलिएको ‘कक्रोच आन्दोलन’ले शिक्षा र बेरोजगारीको मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याइरहँदा बलिउड पनि स्पष्ट दुई ध्रुवमा बाँडिएको प्रष्टै देखिएको छ ।

बलिउडकै सुपरस्टार मानिने शाहरुख खान, आमिर खान, अक्षय कुमार, अमिताभ बच्चन, दीपिका पादुकोणलगायतले भारतको पछिल्लो सडक संघर्षका बारेमा पूर्ण मौनता साधेकोमा पनि विरोध भईरहेको छ । उनीहरूको यो मौनतालाई धेरैले सरकारको डर वा अप्रत्यक्ष रूपमा आन्दोलनलाई बेवास्ता गरेको रूपमा विश्लेषण गरेका छन् ।

आन्दोलन सुरु भएदेखि नै अभिनेता शाहरुख खानले कुनै पनि औपचारिक वा प्रत्यक्ष वक्तव्य दिएका छैनन् । तर, मिडियामा आएका खबरहरू अनुसार उनका नजिकका सूत्रहरूले उनी कुनै पनि विवाद वा राजनीतिक रंगबाट टाढा रहन चाहने भएकाले आधिकारिक प्रतिक्रिया नदिएको बताएका छन् । यद्यपि, सोसल मिडियामा शिक्षासम्बन्धी उनका पुराना अन्तर्वार्ता र भनाइलाई आन्दोलनकारी विद्यार्थीले व्यापक रूपमा सेयर गरिरहेका छन् ।

त्यसैगरी, आमिर खानले पनि सिधै ‘कक्रोच आन्दोलन’को नाममा कुनै प्रतिक्रिया नजनाए पनि एक शैक्षिक कार्यक्रमका क्रममा भारतको परीक्षा प्रणाली र पारदर्शीतामाथि प्रश्न उठाएका थिए । मिडिया रिपोर्ट अनुसार उनले ‘देशका युवाहरूको भविष्य पारदर्शी र निष्पक्ष प्रणालीमाथि टिकेको हुने तर त्यही प्रणालीप्रति नै युवाको विश्वास टुटेमा देशकै लागि खतरनाक हुने’ भन्दै अप्रत्यक्ष रूपमा विद्यार्थीहरूको निराशालाई सम्बोधन गरेका थिए ।

भारतीय मिडियाका अनुसार, ‘कक्रोच आन्दोलन’ ले बलिउडलाई ठूलो धर्मसंकटमा पारेको छ । एकातिर युवा दर्शक र फ्यानहरूको भावना विद्यार्थीहरूसँग जोडिएको छ भने अर्कोतिर सरकारसँगको सम्बन्ध बिग्रिने डरले नाम चलेका कलाकारहरूले आन्दोलनप्रति अप्रत्यक्ष वा सन्तुलित भाषा प्रयोग गर्न बाध्य छन् ।

यद्यपि, नयाँ पुस्ताका कलाकार र गैर–राजनीतिक अभियन्ताहरूले भने स्पष्ट रूपमा सीजेपी र विद्यार्थीका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन ठूलो भूमिका खेलिरहेका छन् ।

एजेन्सीको सहयोगमा

फिचर

कान्तिपुर

Link copied successfully