किन बिरामी जस्ता देखिए सलमान ? दीर्घराेगकाे आशंकामा चिन्तित फ्यान

सलमानको रुपरंगलाई लिएर यतिबेला सञ्जालदेखि मिडियासम्ममा निकै चर्चा छ । भिडियोमा उनको दुब्लो तथा वृद्ध शरीर, थकित अनुहार, हिंडडुलमा असहजता र सुस्तता प्रष्ट देखिन्छ ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Why Did Salman Appear Unwell? Fans Worried Amid Suspicions of Chronic Illness

What you should know

मुम्बई — मुम्बईमा हालै एक सार्वजनिक कार्यक्रममा देखा परेपछि बलिउड सुपरस्टार सलमान खान यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।

‘झोपडपट्टी पुनर्वास प्राधिकरण’ (एसआरए) अन्तर्गतको डाटा संकलन तथा पृथकीकरण सहयोग केन्द्र (आईटी सर्भर रुम) को उद्घाटन समारोहमा सहभागी हुने क्रममा सलमानले घरका लाभग्राहीहरूलाई चाबी हस्तान्तरण गर्नुका साथै केही परिवारहरूसँग अन्तरक्रिया पनि गरेका थिए ।

तर उक्त कार्यक्रमको भिडियोमा बलिउडका ‘दबंग’ अभिनेता सलमानको रुपरंगलाई लिएर सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्ममा निकै चर्चा र चिन्ता व्यक्त भइरहेका छन् । भिडियोहरूमा उनको दुब्लो शरीर, अनुहारमा देखिएको थकान र हिंडडुलमा असहजता र सुस्तताले उनका प्रशंसकहरू सलमानलाई के भएको हो भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । उक्त कार्यक्रमका भिडियोहरू भाइरल भएपछि उनी कुनै गम्भीर र दीर्घ रोगी वा बिरामी परेका त छैनन् भन्ने अड्कलबाजी सुरु भएको छ ।

Why Did Salman Appear Unwell? Fans Worried Amid Suspicions of Chronic Illness

भएको के हो ?

सलमानको स्वास्थ्यलाई लिएर मुख्य रूपमा दुईवटा विषय अगाडि आएका छन् । पहिलो, फिल्म ‘सिकन्दर’ को छायांकनका क्रममा उनका दुईवटा करङ भाँचिएका थिए । यस चोटका कारण उनलाई उठ्न, बस्न, खोक्न र हाँस्नसमेत निकै गाह्रो भएको थियो । दोस्रो, उनी लामो समयदेखि अनुहारको स्नायुमा अत्यधिक दुखाइ हुने गम्भीर रोग ‘ट्राइजेमिनल न्यूराल्जिया’बाट ग्रसित छन् । यिनै दुई कारणले पनि उनी गल्दै गएको हुन सक्ने अडकलबाजी गरिएको छ ।

किन त्यस्तो भयो ?

सलमान खानको शारीरिक र मानसिक अवस्था प्रभावित हुनुमा केही अन्य कारणहरू पनि हुन सक्ने अनुमान गरिएको छ । अप्रिल २०२४ मा बिश्नोई समूहका सुटरहरूले सलमान बस्दै आएको ग्यालेक्सी अपार्टमेन्टबाहिर अन्धाधुन्ध गोली चलाएका थिए ।

त्यसपछि उनको सुरक्षालाई ‘जेड प्लस’ को उच्च सुरक्षा घेरा प्रदान गरिएको छ । जसको अर्थ, सलमान जहाँ गए पनि २५ भन्दा बढी हतियारधारी प्रहरी, कमान्डो र निजी गार्डहरूको टोली साथमा हुन्छ । उनी बाहिर हिंडडुल गर्दा दुबईबाट आयात गरिएको विशेषखालको बुलेटप्रुफ ल्याण्ड क्रुजर प्रयोग गर्छन् भने ग्यालेक्सी अपार्टमेन्टका झ्यालहरूमा पनि बुलेटप्रुफ ग्लास जडान गरिएको छ ।

Why Did Salman Appear Unwell? Fans Worried Amid Suspicions of Chronic Illness

फुर्सदको समयमा वा तनाव हुँदा प्रायः पनभेलस्थित आफ्नो फार्महाउसमा सुस्ताउन गईरहने सलमानलाई यतिबेला सुरक्षाका कारण त्यहाँ पनि एक्लै जान प्रहरीले रोक लगाएको छ । यी सबै कारणले गर्दा पनि सलमान पछिल्लो समय निकै हतास र गलेको देखिएका हुनसक्छन् ।

त्यस्तै, फिल्म ‘सिकन्दर’ को एक्सन र डान्सका सिनहरू छायांकन गर्ने क्रममा सलमानको करङमा गम्भीर क्षति पुगेको थियो । दुईवटा करंग भाँचिएपछि पनि उनले फिजियोथेरापीको सहायता लिंदै छायांकन सकाएका थिए । चोटकै क्रममा पनि दैनिक १४ घण्टासम्म लगातार काम गर्नु, सेटमै फिजियोथेरापी गराउँदै अभिनय जारी राख्नुले उनी शारीरिक रूपमा निकै गलेका थिए ।

‘सिकन्दर’ मा उनीसँग काम गरेका सह–कलाकार र प्राविधिकहरूका अनुसार पनि सलमान सेटमै कुर्सीबाट उठ्न संघर्ष गरिरहेका हुन्थे । निर्देशकले ‘कट’ भन्नासाथ उनी फिजियोथेरापी गराउन जान्थे । यद्यपि, उनले आफ्नो दुखाइलाई सहँदै सुटिङ पूरा गरेका थिए ।

Why Did Salman Appear Unwell? Fans Worried Amid Suspicions of Chronic Illness

२८ अगस्ट २०२४ मा मुम्बईमा आयोजित ‘बच्चे बोले मोरया’ गणेश उत्सव कार्यक्रममा सहभागी हुँदा उनलाई कुर्सीमा बस्न–उठ्नै निकै असहज भएपछि धेरैले यसको कारणबारे जिज्ञासा राखेका थिए । त्यसको साता दिनपछि ‘बिग बोस १८’ को प्रोमो सुटिङका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनी आफैंले पहिलोपटक ‘मेरो दुईवटा करङ भाँचिएको’ भनेर सार्वजनिकरूपमा बोलेका थिए ।

पछिल्लो समय सलमानका लागि त्यति सुखद रहेन । आफु निकट मित्र बाबा सिद्दिकीको असामयिक निधनले विक्षिप्त बनिरहेका सलमानलाई लरेन्स बिश्नोईको गुन्डा समूहबाट निरन्तर ज्यान मार्ने धम्की आईरहेपछि उनी मानसिकरूपमा पनि निकै विक्षिप्त देखिएका थिए । ६० वर्षको उमेरमा पुगेका सलमानले फिल्मका पात्र चरित्र अनुसार कहिले वजन बढाउने त कहिले घटाउने गरिरहँदा पनि त्यसको असर उनको स्वास्थ्यमा बिस्तारै देखिन थालेको हुन सक्ने बताइन्छ ।

पछिल्लो अवस्था के छ ?

करङको चोटबाट सलमान बिस्तारै निको भइरहेका छन् । उपचार र फिजियोथेरापीपछि उनको शारीरिक अवस्था अहिले पहिलेभन्दा निकै सहज भएको छ । स्वास्थ्यमा समस्या आए पनि उनले आफ्ना कामहरू भने रोकेका छैनन् । ‘सिकन्दर’ को काम सकाएर उनी नयाँ प्रोजेक्टहरू र सार्वजनिक कार्यक्रमहरूमा नियमित सहभागी भइरहेका छन् ।

चोट लागेको भोलिपल्टै उनले फिल्मको एउटा गीतको छायांकन गरेका थिए । चोटका कारण खोक्न, हाँस्न वा बस्न गाह्रो भएपनि उनले दुखेको करङ समात्ने शैलीलाई नै निर्देशक एआर मुरुगदासले उक्त गीतको मुख्य ‘डान्स स्टेप’ बनाइदिएका थिए ।

हालैका दिन एक सार्वजनिक कार्यक्रममा टोपी लगाएर देखिएका सलमान थकित र वृद्ध देखिन्छन् । ‘हाम्रो हिरो वृद्ध हुँदैछ, उहाँ बिरामी जस्तै देखिनुहुन्छ,’ भिडियो हेरेपछि एक प्रशंसकले भनेका छन्, ‘उनको आँखामा थकान र अस्वस्थता प्रष्ट देखिन्छ, भगवानले उनको रक्षा गरून् ।’

टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस, एनडीटीभी जस्ता प्रमुख भारतीय सञ्चारमाध्यमहरूले सलमान खान शारीरिक चोट, मानसिक तनाव र निरन्तरको सुरक्षा चुनौतीका बाबजुद काममा खटिरहेको समाचार छापेका छन् । उनीहरूका अनुसार मिडियामा आएका ‘गम्भीर बिरामी’ भन्ने खालका खबरहरू केवल सार्वजनिक उपस्थितिमा देखिएको दुब्लोपन र थकानमा आधारित अड्कलबाजी मात्र हुन् ।

Why Did Salman Appear Unwell? Fans Worried Amid Suspicions of Chronic Illness

सलमान स्वयंले दिए जवाफ

आफ्नो स्वास्थ्यलाई लिएर मिडिया र इन्टरनेटमा अनेकौं खबरहरू फैलिएपछि सलमानले इन्स्टाग्राममा आफ्ना केही नयाँ तस्वीरहरू पोस्ट गर्दै ठट्यौली शैलीमा लेखेका छन्, ‘आप लोगों की तबियत कैसी है ? (अर्थात् तपाईंहरूको स्वास्थ्य अवस्था चाहिं कस्तो छ नि ?’ सलमानको यो ठट्यौली शैलीको पोस्टले नै उनी कुनै गम्भीर बिरामी नरहेको र आफ्ना प्रशंसकहरूलाई चिन्तित नहुन सन्देश दिएको प्रष्ट हुन्छ ।

टाउको दुख्ने पुरानै समस्या

यसअघि कपाल प्रत्यारोपणका कारण पनि उनले लामो समयदेखि टाउको दुखाईको समस्या झेल्दै आईरहेका थिए । सन् २००३ तिर सलमानले पहिलोपटक भारतमा फोलिक्युलर युनिट ट्रान्सप्लान्टेसन (एफयूटी) प्रविधिबाट कपाल रोपेका थिए । यस प्रविधिमा टाउकोको पछिल्लो भागबाट छालाको पट्टी नै निकालेर कपाल रोपिने भएकाले टाउकोमा लामो खत रहन्छ ।

तर पहिलो पटकको नतिजा राम्रो नभएपछि उनले सन् २००७ र २०१६ को बीचमा दुबई र भारतमा पटक–पटक एफयूटी प्रविधिसहित थप उपचार गराउनु परेको थियो । धेरैपटकको शल्यक्रियाका कारण टाउकोको दुखाइ र छालाको समस्या झेलिरहनु परेको थियो ।

सलमान विगत लामो समयदेखि अनुहारको स्नायुमा अत्यधिक दुखाइ हुने गम्भीर रोग ‘ट्राइजेमिनल न्यूराल्जिया’बाट ग्रसित छन् । यो अनुहारको स्नायुसँग सम्बन्धित एउटा निकै जटिल र अत्यधिक दुख्ने स्वास्थ्य समस्या हो । यसको दुखाइ यति तीव्र र असहृय हुन्छ कि सहन नसकेर कतिपय बिरामीहरूमा आत्महत्यासम्मको सोच राख्ने भएकोले यसलाई ‘सुसाइड डिजिज’ पनि भनिन्छ । सलमानले यस शल्यक्रिया अमेरिकामा गराएका थिए ।

चिकित्सा विज्ञानका अनुसार अनुहारको संवेदनशीलतालाई मस्तिष्कसम्म पुर्‍याउने मुख्य नसा ‘ट्राइजेमिनल नर्भ’ लाई कुनै रक्तनली वा हाडले थिच्दा यो समस्या देखिन्छ । सलमानका अनुसार उनलाई सन् २००७ मा फिल्म ‘पार्टनर’ को सुटिङका क्रममा पहिलोपटक यो समस्या महसुस भएको थियो । सह–अभिनेत्री लारा दत्ताले उनको अनुहारबाट कपाल हटाउन खोज्दा अनुहारमा करेन्ट लागेजस्तो तीव्र झट्का (इलेक्ट्रिक सक) र दुखाइ महसुस भएको थियो ।

सुरुमा डाक्टरहरूले यो दाँतको समस्या भन्ने ठानेर उपचार गर्दा दुखाइ कम नभएपछि मात्र स्नायुको खराबी भएको पत्ता लागेको थियो । सलमानले यो रोगसँग २००७–२०१४ सम्म करिब ७–८ वर्ष निरन्तर जुधिरहे । उनले बताए अनुसार हरेक ४–५ मिनेटमा अनुहारमा तीव्र दुखाइ हुन्थ्यो । हावाको सामान्य स्पर्श, पानी पिउँदा, कपाल छुँदा, दाँत माझ्दा वा खाना चपाउँदासमेत अनुहारमा करेन्ट लागेजस्तो असहृय दुखाइ हुने उनले सुनाएका थिए । एक पटक अण्डाको अम्लेट खाँदा पनि उनलाई डेढ घण्टासम्म दुखाइ सहेर बस्नुपरेको थियो ।

साधारण पेनकिलरले काम गर्न छाडेपछि सलमान सन् २०११ मा अमेरिका गएर न्युरोसम्बन्धि ‘गामा नाइफ सर्जरी’ गराएका थिए । करिब ८ घन्टासम्म चलेको यो सर्जरी अनुहारमा स्क्रूहरू कसेर गम्भीर रेडिएसन (विकिरण) को मद्दतले दुखेको नसाको भागलाई निष्क्रिय पारिएको थियो । शल्यक्रियापछि सलमानको ट्राइजेमिनल न्यूराल्जियाको दुखाइ भने पूर्ण रूपमा निको भइसकेको छ । डाक्टरहरूले सर्जरीपछि दुखाई २०–३० प्रतिशत मात्र कम हुन सक्ने बताएपनि आफ्नो दुखाइ पूरै निको भएको सलमान स्वयंले बताएका थिए ।

शल्यक्रियापछि मुख्य दुखाइ रोकिए पनि उनको मस्तिष्क र अनुहारको नसामा ‘आर्टेरियोभेनस मालफर्मे अर्थात् रक्तनलीहरूको असन्तुलित बनावट भने अझै कायम छ । सलमानले यसलाई ‘यो मसँगै र म यसैसँग बाँचिरहेको छु’ भनेका छन् । तर हालैको सलमान खानको कमजोर अवस्था देखिनुमा उनको कपाल प्रत्यारोपण वा ‘ट्राइजेमिनल न्यूराल्जिया’ का कारण भने नभएको बताइएको छ ।

फिचर

कान्तिपुर

Link copied successfully