१० हजार डलरमा एआईबाटै बन्यो ‘ओडिसी’ फिल्म, १० डलरमै हेर्न पाइने

२ सय ५० मिलियन डलरको लगानीमा बर्षौं लगाएर बनाइएको ‘द ओडिसी’ लाई टक्कर दिन आशा कुशाले साेही कथामा एआईमार्फत तीन महिनामै ‘ओडिसियसः द फल’ तयार पारेर रिलिज गरेका हुन् ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

The film 'Odyssey' was made by AI for $10,000, and can be watched for just $10

What you should know

काठमाडौँ — ग्रीक महाकाव्य ‘द ओडिसी’ मा आधारित दुई फरक शैलीका फिल्महरू यतिबेला विश्व सिनेमा जगत्मा निकै चर्चामा छन् । एकातिर हलिउडका चर्चित निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतीक्षित २ सय ५० मिलियन डलरको फिल्म ‘द ओडिसी’ हलमा प्रदर्शन भइरहेको छ भने अर्कातिर पूर्ण रूपमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिबाट निर्माण गरिएको ‘ओडिसियसः द फल’ (जसलाई ‘एआई ओडिसी’ फिल्म भनेर चिनिन्छ) ले बहस सिर्जना गरेको छ ।

इरानी–ब्रिटिस निर्माता तथा निर्देशक आश कुशा र उनको एआई स्टुडियो ‘फाउन्टेन जीरो’ ले निर्माण गरेको सबा दुई घन्टा लामो ‘ओडिसियसः द फल’ ले फिल्म निर्माणको भविष्यलाई लिएर नयाँ तरंग ल्याइदिएको छ ।

The film 'Odyssey' was made by AI for $10,000, and can be watched for just $10

के हो ‘एआई ओडिसी’ ? 

‘एआई ओडिसी’ कवि होमरको प्राचीन ग्रीक महाकाव्य ‘द ओडिसी’ मा आधारित एआई–निर्मित फिल्म हो । पर्दामा देखिने यसका दृश्य, लोकेसन र पात्रहरू सिनेमाटोग्राफरले क्यामेराबाट खिचिएका वा कलाकारले अभिनय गरेका होइनन्, बरू एआई भिडियो जेनेरेटर ‘केलिंग एआई’ को प्रयोग गरी कम्प्युटरबाट तयार पारिएका हुन् ।

नोलनको ‘द ओडिसी’ मा जस्तै यस एआई फिल्ममा पनि ट्रोजन वारपछि घर फर्कंदा राजा ओडिसियसले भोगेको मानसिक तनाव र संघर्षलाई नै एआई प्रविधिको माध्यमबाट काल्पनिक एवं भिजुअल शैलीमा प्रस्तुत गरिएको छ ।

क्रिस्टोफर नोलनको परम्परागत सिनेमा र आश कुशाको एआई फिल्म ‘ओडिसियसः द फल’ बीच धेरै भिन्नता र केही समानताहरू छन् । मुख्य भिन्नता यी दुवै फिल्मको निर्माण प्रविधिमा हो । नोलनले ग्रीकका गुफाहरू, विशाल पानीका ट्यांगदेखि विभिन्न प्रप्ससहित वास्तविक लोकेसन र आईम्याक्स ७० एमएम क्यामेरा प्रयोग गरेर फिल्मलाई खिचेका हुन् भने ‘एआई ओडिसी’ मा न कुनै क्यामेरा, भौतिक सेट वा वास्तविक सुटिङ सेटको नै प्रयोग भएको छ ।

The film 'Odyssey' was made by AI for $10,000, and can be watched for just $10

त्यसैगरी, नोलनको फिल्ममा म्याट डेमन, एन हृयाथवे र लुपिता न्योङ्गो जस्ता हलिउडका सुपरस्टारहरूको जीवन्त अभिनय रहेको छ भने ‘एआई ओडिसी’ मा डिजिटल लाइसेन्स लिइएका अनुहारहरूलाई कम्प्युटर जेनेरेटेड भ्वाइस र भिजुअलबाट पात्र बनाइएको छ ।

नोलनको फिल्म निर्माण गर्न सयौं प्राविधिक र कलाकारको वर्षौंको मेहनत लागेको छ भने ‘एआई ओडिसी’ केवल ३ महिनामा सीमित जनशक्तिले तयार पारेका हुन् ।

‘एआई ओडिसी’लाई मानवीय कलामाथिको ठाडो हमला भन्दै विश्वभरका फिल्मकर्मी र कलाकारहरुले पनि चर्को विरोध गरिरहेका छन् ।दुवै फिल्मको कथाको मुख्य स्रोत कवि होमरको हजारौं वर्ष पुरानो पौराणिक महाकाव्य ‘द ओडिसी’ नै हो । दुवै फिल्मले युद्धपछिको मानसिक आघात, घर फर्किने संघर्ष र मानव जीवनका चुनौतीहरूलाई आ–आफ्नो भिजुअल माध्यमबाट प्रस्तुत गरेका छन् । तर यी दुई फिल्मको निर्माण लागतमा भने निकै ठूलो भिन्नता छ ।

क्रिस्टोफर नोलनको ‘द ओडिसी’  २ सय ५० मिलियन डलर अर्थात ३३ अर्ब रूपैयाँ बजेटको फिल्म हो, जसको बजारीकरणमा समेत १६ अर्ब बराबरको खर्च भएको बताईन्छ । जबकी आशा कुशाको ‘एआई ओडिसी’ बनाउन मात्र २ हजारदेखि १० हजार डलरसम्म खर्च भएको अनुमान छ । जून फिल्म कुशाले करिब ३ महिनाको अवधिमा तयार पारेका हुन् ।

१७ जुलाईदेखि विश्वव्यापी प्रदर्शनमा आएको ‘द ओडिसी’ ले ओपनिङ विकेन्डबाट नै २ सय ६४ मिलियन डलर कमाई गरिसकेको छ भने ‘एआई ओडिसी’ आश कुशाको आफ्नै एआई स्टुडियोको आधिकारिक वेबसाइट फाउन्टेनजिरो डटकममार्फत १० डलर तिरेर हेर्न पाइन्छ । यसको आधिकारीक कमाई सार्वजनिक भईसकेको छैन । तर, यस फिल्मले निकै सानो बजेटमा पनि विशाल काल्पनिक कथा पर्दामा ल्याउन सकिन्छ भन्ने प्राविधिक पहुँच भने देखाएको छ ।

एआई–निर्मित फिल्मले हलिउडको व्यावसायिक बक्स अफिसमा नोलनसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसके पनि यसले स्वतन्त्र फिल्म निर्माताहरूका लागि नयाँ ढोका खोलिदिएको फिल्म विश्लेषकहरूको भनाइ छ ।

The film 'Odyssey' was made by AI for $10,000, and can be watched for just $10

‘भेराइटी’ मिडिया र केही प्रविधि ब्लगहरूले ठूलो बजेट र सयौं प्राविधिक बिना पनि एकैजना निर्देशक (आश कुशा) ले ३ महिनाभित्र १३५ मिनेटको फिल्म तयार पार्न सक्नु प्रविधिको हिसाबले ठूलो फड्को भएको स्वीकारेका छन् ।पूर्ण रूपमा एआईबाट निर्मित फिल्म ‘ओडिसियसः द फल’ प्रति सञ्चारमाध्यम, फिल्म समालोचक र दर्शकहरूको प्रतिक्रिया मिश्रित रहेको छ । प्रसिद्ध फिल्म तथा गेमिङ वेबसाइट ‘आईजीएन’ ले यसको ट्रेलर र त्यसका भिजुअलको आधारमा समीक्षा गर्दै ‘क्रिस्टोफर नोलनले यस फिल्मबाट डराउनुपर्ने वा डगमगाउनुपर्ने कुनै कारण नभएको’ टिप्पणी गरेको छ । ‘आईजीएन’ ले फिल्ममा पात्रहरूको अस्थिर अनुहार, संवाद र ओंठको तालमेल नमिलेको (लीप सिंक) र सानो डिब्बाभित्रबाट बोले जस्तो सुनिने डबिंग आवाजको कडा आलोचना गर्दै एआई प्रविधिको कमजोरी स्पष्ट देखिएको उल्लेख गरेको छ ।

त्यसैगरी, प्रविधि सम्बन्धी पत्रिका ‘फ्युचरिजम’ले यसलाई ‘एआई स्लोप’ (रद्दी एआई) को संज्ञा दिंदै एआईले जेनेरेट गरेका ‘स्क्रिनसेभर’ को संगालो जस्तो मात्र देखिएको तर्क गरेको छ ।

‘सीबीसी न्यूज’ ले यस फिल्मका दृश्यहरूमा एआईका गम्भीर प्राविधिक त्रुटिहरू र हास्यास्पद दृश्यहरू बढी भएको उल्लेख गर्दै यसले फिल्मको मानवीय संवेदनालाई मार्ने प्रयास गरेको टिप्पणी गरेको छ ।

यस फिल्मलाई मानवीय कलामाथिको ठाडो हमला भन्दै विश्वभरका फिल्मकर्मी र कलाकारहरुले पनि चर्को विरोध गरिरहेका छन् । क्यानाडाको फिल्म, टेलिभिजन र रेडियोका कलाकारहरूको संयुक्त संगठन ‘एक्ट्रा’ सहित विभिन्न देशका फिल्मकर्मीले यसलाई ‘मानवीय कथाका लागि खतराको घण्टी’ भनेका छन् ।

धेरै आलोचकले यस फिल्ममा लगातार ३ सेकेन्डभन्दा लामो कुनै पनि दृश्य नरहेकोले फिल्म हेर्दा आँखालाई थकान हुने र कथाको निरन्तरता नभेटिने बताएका छन् । त्यसो त फिल्म ‘ओडिसियसः द फल’ को कलात्मक पक्षको तीव्र आलोचना भए पनि केही प्राविधिक विश्लेषकहरूले यसको केही पक्षलाई लिएर तारिफ पनि गरेका छन् ।

‘भेराइटी’ मिडिया र केही प्रविधि ब्लगहरूले ठूलो बजेट र सयौं प्राविधिक बिना पनि एकैजना निर्देशक (आश कुशा) ले ३ महिनाभित्र १३५ मिनेटको फिल्म तयार पार्न सक्नु प्रविधिको हिसाबले ठूलो फड्को भएको स्वीकारेका छन् । 
यस फिल्ममा प्रयोग गरिएका पात्रका अनुहारहरू अरूको चोरेर नभई वास्तविक मानिसहरूसँग लिखित सहमति लिएर बनाइएकाले यसको कानुनी प्रक्रिया भने अन्य एआई प्रोजेक्टभन्दा राम्रो रहेको मानिएको छ । 
‘ओडिसियसः द फल’ एआई प्रविधिको एउटा प्रयोगको रूपमा चाखलाग्दो भए पनि एउटा राम्रो र भावनात्मक फिल्मको रूपमा भने पूर्ण रूपमा असफल भएको सञ्चारमाध्यमहरुको बुझाई छ । युट्युब र सोसल मिडियामा पनि अधिकांश दर्शकहरूले यसलाई ‘नोलनको ओडिसीको सस्तो र नक्कली प्रतिलिपि’ भन्दै जिस्क्याएका छन् ।

फिचर

कान्तिपुर

Link copied successfully