घरमै स्याहार, ब्रेल युनिकोड र एआई किसान : ७ स्टार्टअपका नयाँ प्रयोग

स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, वित्त लगायतका क्षेत्रमा नेपाली युवाले विकास गरेका ७ स्टार्टअपले प्रविधिमार्फत दैनिक जीवनका समस्या समाधान गर्ने नवीन उपाय प्रस्तुत गरेका छन् ।

श्रावण ४, २०८३

सजना बराल

Home care, Braille Unicode and AI farmers: 7 startups' new applications

What you should know

काठमाडौँ — अमेरिकी दूतावासको सहयोग र अद्यान्त एडभाइजरीद्वारा आयोजित ‘कोड फर इम्प्याक्ट’ ह्याकाथनमा विभिन्न १९० कम्पनीले स्वास्थ्य, शिक्षा, पर्यटन र समावेशिताका क्षेत्रमा प्रविधिमार्फत समस्या समाधान गर्ने स्टार्टअप प्रस्तुत गरे ।

प्रविधिलाई मानिसका दैनिक समस्या समाधानसँग जोड्ने उद्देश्यसहित गरिएको प्रतियोगितामा ७ वटा समूहलाई उत्कृष्ट घोषणा गरिएको थियो । आशीर्वाद केयर, नेप्ट्यु, डेटा हिटी र सिनप्टिकले राष्ट्रिय विजेता बन्दै नगद पुरस्कारसमेत पाए । यी नवउद्यमहरूले विशेषगरी स्वास्थ्य, वित्त, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा काम गरिरहेका छन् । कस्ता छन् त ती सात स्टाटअर्प ?

आशीर्वाद केयर : ज्येष्ठ नागरिकको सहारा

उमेर घर्कंदै गएका र स्वास्थ्य समस्याले थला परेका ज्येष्ठ नागरिकलाई उनीहरूको घरमै पुगेर उपचार र हेरचाह सुविधा प्रदान गर्ने गरी ‘आशीर्वाद केयर’ ले सेवा सञ्चालनमा ल्याएको छ । नेपालमा बढ्दै गएको ज्येष्ठ नागरिकको संख्या र उनीहरूले भोग्नुपरेको स्वास्थ्य जटिलतालाई सम्बोधन गर्न यो सेवा सञ्चालनमा ल्याएको कम्पनीका सहसंस्थापक डा. रोहित रावतले बताए ।

Home care, Braille Unicode and AI farmers: 7 startups' new applicationsपाटन एकेडेमी अफ हेल्थ साइन्सेसको क्लिनिकल डिपार्टमेन्टमा कार्यरत रावतका अनुसार ‘आशीर्वाद केयर’ चिकित्सककै टोलीले विकास गरेको प्रविधिमा आधारित केयर कोअर्डिनेसन प्लाटफर्म हो । केयर गिभर सेवाको शुल्क बिरामीको अवस्था र आवश्यकताअनुसार तय गरिएको छ । यसका लागि न्यूनतम ८ घण्टाको सिफ्ट हुनुपर्ने कम्पनीले जानकारी दिएको छ । सामान्य केयरका लागि प्रतिघण्टा १ सय रुपैयाँ लाग्छ । एनजे फिडिङ, सक्सन, डिमेन्सियाजस्ता विशेष केयर चाहिने बिरामीको हकमा भने प्रतिघण्टा १५० रुपैयाँसम्म शुल्क लाग्छ ।

सुरुमा रावत र प्रतीक गौतमले पाँच लाख रुपैयाँ लगानीमा सुरु गरेको यो स्टार्टअप अहिले डा. शीतांशु ढकाल र प्रवेश गौतम गरी ५७ जनाको टिममा विस्तार भइसकेको छ । यसमा ५० जना तालिम प्राप्त केयरगिभर आबद्ध छन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सेवा दिइरहेको यस संस्थाले हालै अस्पतालमा कुरुवा बस्ने ‘हस्पिटल असिस्टेन्स सेवा’ पनि सुरु गरेको छ ।

यसको माग र लोकप्रियता निकै बढिरहेको रावतको अनुभव छ । ‘यो सेवा सुरु गरेको करिब २ महिना भयो, निकै पपुलर भइरहेको छ,’ उनले भने, ‘हाल बीपी स्मृति, टिचिङ र पाटन हस्पिटलहरूमा १० जना क्लाइन्टका लागि हाम्रा कुरुवाले सेवा दिइसकेका छन् । यस सेवाका लागि हामीले प्रतिघण्टा ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म शुल्क लिने गरेका छौं ।’

नेपएआई : ब्रेल अब युनिकोडमा पनि

पोखराको ‘एक्सेस कोड’ समूहले ब्रेललिपिलाई सबैले पढ्न सक्ने गरी डिजिटल अक्षर वा युनिकोडमा बदल्ने ‘नेपएआई’ प्रविधि विकास गरेको छ । यस टिममा अरुण श्रेष्ठ, छवि आले, रोहनराज पौडेल र धीरज चौरसिया आबद्ध छन् ।

Home care, Braille Unicode and AI farmers: 7 startups' new applications

टोलीका सदस्य छवि आफैं दृष्टिविहीन भएकाले यो प्रविधि उनको आफ्नै भोगाइको जगमा निर्माण भएको हो । उनले एपलाई आवश्यक ब्रेल डेटासेट तयार पार्ने काम गर्दै आएका छन् । ‘विद्यार्थीले ब्रेलमा लेखेका कुरा शिक्षक वा अभिभावकले बुझ्न नसक्दा सिकाइ प्रक्रिया नै सुस्त हुने गर्छ,’ उनी भन्छन्, ‘हामी ब्रेलमा लेख्छौं, ब्रेलमै परीक्षा दिन्छौं तर ती सामग्रीलाई सामान्य अक्षरमा बदल्ने ट्रान्सक्राइबर नहुँदा हाम्रो कापी जाँच्न र फिडब्याक दिन हप्तौं कुर्नुपर्ने बाध्यता छ ।’

नेपालमा १ लाख ४५ हजारभन्दा बढी दृष्टिविहीन व्यक्ति छन् । उनीहरूलाई बैंक खाता खोल्न, रकम भुक्तानी गर्न, हस्ताक्षर लिन, बैंकिङ एप्लिकेसनको पहुँच दिन बैंकहरूले आनाकानी गर्दै आएका छन् । यस्तोमा ब्रेल टु युनिकोड प्रविधिले सहज बनाउने छविको अपेक्षा छ । ‘दृष्टिविहीन व्यक्तिलाई काममा राख्न चाहने तर सञ्चारको खाडलका कारण हिचकिचाउने रोजगारदाताका लागि पनि यो एउटा प्रभावकारी माध्यम बन्नेछ,’ उनले भने, ‘यसले हाम्रो रोजगारीको अवसरलाई पनि फराकिलो बनाउनेछ । नेपाल नेत्रहीन संघ र अपांग महासंघजस्ता संस्थाहरूले आफ्ना सदस्यको शैक्षिक र व्यावसायिक विकासका लागि यसलाई संस्थागत रूपमै प्रयोग गर्न सक्छन् ।’ एक्सेस कोडबाट सशुल्क सेवा दिने यो टिमको बिजनेस मोडल हो ।

डेटा हिटी : सीमापार लेनदेन सहज बनाउँदै

डिजिटल भुक्तानीको क्षेत्रमा काम गरिरहेको ‘डेटा हिटी’ ले भने सीमापार लेनदेनलाई सहज बनाउने लक्ष्य राखेको छ । यसका सहसंस्थापक कविश पोखरेलका अनुसार उनीहरूले पहिलेदेखि नै अन्तर्राष्ट्रिय प्रोडक्ट बनाउँदै आएका थिए । तर, काम गर्दा बाहिरबाट भुक्तानी ल्याउन धेरै गाह्रो भएपछि यसको समाधान खोज्ने क्रममा डेटाहिटीले ‘एलिट्रा’ एपको अवधारणा विकास भएको कविशको भनाइ छ ।

Home care, Braille Unicode and AI farmers: 7 startups' new applications‘हामीले क्रस बोर्डर पेमेन्टलाई छिटो–छरितो गराउँछौं, नेपालमा रहेका अमेरिकी कम्पनीहरूलाई नेपालमा पैसा ल्याउन पेमेन्ट सेवा दिइरहेका छौं,’ उनले भने, ‘डेटा हिटीले परम्परागत बैंकिङ प्रणालीको विकल्पमा तत्काल सेटलमेन्ट हुने प्रविधि विकास गरेको छ ।’ यस समूहमा कविशसँगै अंशु रेग्मी र रिज महर्जन छन् ।

कविशका अनुसार ‘एलिट्रा’ एपले ‘नन–कस्टडियल एबीआई’ मार्फत सीमापार हुने लेनदेनलाई केही मिनेटमै फर्छ्योट गराउँछ । परम्परागत बैंकिङ प्रणालीमा रेमिट्यान्स रकम नेपाल आइपुग्न कैयौं दिन लाग्ने र ‘प्रि–फन्डिङ’ को समस्या हुने गरेकामा यस प्रविधिले त्यसलाई तत्कालै समाधान गर्ने कविशको दाबी छ । 'हामी कुनै रेमिट्यान्स कम्पनी वा भुक्तानी सेवा प्रदायक भने होइनौं,’ उनले भने, ‘हामी केवल प्रविधि कम्पनी हौं । हामी लाइसेन्स प्राप्त बैंक र वित्तीय संस्थाहरूलाई प्राविधिक सेवा दिन्छौं । हामीले विद्यमान ठूला फिनटेक कम्पनीसँग प्रतिस्पर्धा गर्ने नभई उनीहरूलाई नै सेवा दिने हिसाबले प्रोडक्ट डिजाइन गरेका छौं ।’

क्याड कोडर : औषधि खोजदेखि अपोइन्टमेन्टसम्म

स्वास्थ्य क्षेत्रको समस्यालाई मध्यनजर गर्दै झापाका विशाल शर्मा, रितेश राउत, प्रस्ताव श्रेष्ठ र समीशा योङहाङको टोली ‘क्याड कोडर’ ले ‘डोज’ नामक प्लाटफर्म तयार पारेको छ । यो स्टार्टअपले बिरामी, डाक्टर, अस्पताल र औषधि पसललाई एउटै सञ्जालमा जोड्ने काम गर्छ ।

Home care, Braille Unicode and AI farmers: 7 startups' new applications

विशेषगरी औषधि र स्वास्थ्य सेवाको विवरण पाउन झन्झटिलो हुने नेपाली परिवेशमा यसले पारदर्शी सूचना उपलब्ध गराउने विशालले बताए । ‘नेपालमा स्वास्थ्यसम्बन्धी विवरणहरू छरिएका छन् र पहुँचयोग्य छैनन्,’ उनी भन्छन्, ‘बिरामीहरूले आधिकारिक औषधि पहिचान गर्न, मूल्य तुलना गर्न वा सजिलै डाक्टर फेला पार्न सक्दैनन् । डोजले प्रयोगकर्तालाई औषधि खोज्ने, मूल्य तुलना गर्ने र अस्पतालको अपोइन्टमेन्ट बुक गर्ने सुविधा एकै ठाउँमा दिन्छ ।’

औषधिको जथाभावी प्रयोग रोक्न यसमा प्रेस्क्रिप्सन प्रमाणीकरणको सुविधासमेत राखिएको छ । क्याड कोडरले आफ्नो प्रविधिमा डिंगो र ल्याङचेनजस्ता आधुनिक सफ्टवेयर पूर्वाधारको प्रयोग गरेको जनाएको छ । हाल यो स्टार्टअप अस्पताल र औषधि पसलहरूसँग साझेदारी गर्दै आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा छ ।

नेप्ट्यु : पर्यटकलाई मौलिक अनुभव

पर्यटन क्षेत्रमा ‘नेप्ट्यु’ ले एआईमार्फत नयाँ र ओझेलमा परेका गन्तव्य खोज्न पर्यटकलाई मद्दत गरिरहेको छ । यो हाइपर–लोकल टुरिजम एप भएको र यसले विशेषतः विदेशी पर्यटकलाई नेपालको स्थानीय अनुभव बुझ्न र उनीहरूका लागि यात्रा तालिका (आइटिनरी) बनाउन मद्दत गर्ने नेप्ट्युकी बिजनेस लिड अलिशा हाडाले जानकारी दिइन् ।

Home care, Braille Unicode and AI farmers: 7 startups' new applications

‘अहिले एपमा सबै फिचर थपिसकिएको त छैन तर एआई आइटिनरी र स्थानीय ठाउँहरूको जानकारी भने उपलब्ध छ,’ अलिशाले भनिन्, ‘केही समयपछि पर्यटकले यसबाटै स्थानीय गाइड बुक गर्न सक्नेछन् । नेपालमा हुने होली, जात्रा वा मड फेस्टिभलजस्ता सांस्कृतिक कार्यक्रममा स्थानीय गाइडले पर्यटकलाई घुमाउने र मार्गनिर्देशन गर्ने व्यवस्था हामी गर्नेछौं । स्थानीय परिकार र भक्तपुरका माटोका भाँडा बनाउनेजस्ता अनुभवलाई पनि प्याकेजमा समेटेर पर्यटकलाई उपलब्ध गराउने हाम्रो योजना छ ।’

सन् २०२२ मा सुबोध कठायतले नेप्ट्युको अवधारणा बनाएका थिए । अमेरिकाको न्युजर्सी इन्स्टिट्युट अफ टेक्नोलोजीमा अध्ययनरत सुबोध र अलिशासँगै टिममा संस्थापक इन्जिनियरका रूपमा धीरज केसी र केशव थापा आबद्ध छन् ।

सिनप्टिक : अटिजम भएका बालबालिकालाई साथी

Home care, Braille Unicode and AI farmers: 7 startups' new applications‘सिनप्टिक’ ले भने अटिजम वा सिकाइमा समस्या भएका, कम बोल्ने बालबालिकाका लागि अगमेन्टेड रियालिटी (एआर) प्रविधिबाट शब्दावली सिक्ने वातावरण बनाएको छ । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत आर्य पाठक, हिमेश दुलाल, सफलनरसिंह श्रेष्ठ, शोहम कायस्थ र श्रेयान वस्तीले बनाएको कार्ड एआई एपले भौतिक लर्निङ कार्डहरूलाई एआरमार्फत थ्रीडी दृश्य र आवाजमा बदल्ने काम गर्छ ।

‘हाम्रो एपमार्फत कुनै पनि भौतिक कार्ड स्क्यान गर्दा सम्बन्धित जीव वा वस्तुको थ्रीडी मोडेल देखिन्छ,’ आर्यले भने, ‘साथै, नेपाली तथा अंग्रेजी दुवै भाषामा आवाज र प्राकृतिक ध्वनि सुनिने हुँदा बालबालिकाहरूले खेलौनाजस्तै मानेर सजिलै शब्दहरू सिक्न सक्छन् ।’

आर्यको बुझाइमा नेपालमा अटिजमको आधिकारिक र भरपर्दो सरकारी तथ्यांकको अभाव भए पनि विश्व स्वास्थ्य संगठन र छिमेकी देशहरूको सूचकलाई आधार मान्दा यहाँ करिब ३ लाख बालबालिका यसबाट प्रभावित भएको अनुमान छ । यही गम्भीर समस्यालाई सम्बोधन गर्न आफूहरूले विगत एक वर्षदेखि त्रिभुवन विश्वविद्यालयको कग्निटिभ साइन्स एन्ड साइकोलिङ्ग्विस्टिक ल्याब र होप केयर सेन्टर फर चायल्ड डेभलपमेन्ट एन्ड रिसर्च सेन्टरसँग सहकार्य गर्दै आएको छ । हाल उनीहरूले तयार पारेको प्रारम्भिक प्रोटोटाइप १ जना शिक्षक, ३ जना अभिभावक र ६ जना थेरापिस्टहरूले परीक्षणका रूपमा प्रयोग गरिरहेका छन् ।

मिथिला कोडर : किसानको सल्लाहकार

जनकपुरको ‘मिथिला कोडर’ ले किसानका लागि स्थानीय भाषामै कृषि परामर्श दिने काम गरिरहेको छ । यो स्टार्टअपले विकास गरेको ‘एग्रिसेन्स’ एपले किसानहरूलाई बिउ रोपेदेखि बाली भित्र्याउन्जेलसम्म विज्ञलेझैं दिशानिर्देश गर्छ । आफूहरूले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट माटोको विवरण र मौसमको जानकारी लिएर कुन जमिनमा कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने ठोस सुझाव दिने गरी एप तयार पारेको समूहका अमरदीप सोनीले कान्तिपुरलाई बताए ।

Home care, Braille Unicode and AI farmers: 7 startups' new applications

समूहमा अमरदीपसँगै पुरुषोत्तम यादव, श्यामसुन्दर यादव र सत्यनारायण साह आबद्ध छन् । ‘हामी चारै जना डेभलपर हौं र हामी आफैं किसान पनि हौं, त्यसैले यो हाम्रै पारिवारिक समस्या थियो,’ अमरदीपले भने, ‘तराईका किसानहरूले अझै पनि पुरानै ढंगले खेतीपाती गरिरहेका छन् र अनुमानका भरमा काम गर्नुपर्ने बाध्यता देखेर हामीले एग्रिसेन्स एप बनाइरहेका हौं । किसानले विज्ञको अभावमा भोग्नुपर्ने समस्यालाई प्रविधिमार्फत समाधान गर्ने लक्ष्य राखेका छौं ।’ बालीमा कुनै रोग लागेमा किसानले फोटो खिचेर पठाउनेबित्तिकै एआईको प्रयोग गरी त्यसको उपचार विधि एपले बताउने उनको भनाइ छ ।

०००

विजेता टोलीलाई पुरस्कार वितरण समारोहमा बोल्दै ह्याकथनका निर्णायकसमेत रहेका अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपाली युवाको सिर्जनशीलता र अमेरिकी प्रविधिको सहकार्यले नयाँ अवसर सिर्जना गर्ने बताएका थिए । उनले उद्यमशीलतालाई सगरमाथा आरोहणसँग तुलना गर्दै शिखरमा पुग्नु मात्र सफलता नभई यो यात्राको आधा भाग मात्र भएको उल्लेख गरे । ‘सफलताका लागि एक्लै नभई बलियो साझेदारी र तयारी आवश्यक पर्छ,’ उनले भने ।

आद्यन्त एडभाइजरीकी सहसंस्थापक स्तुति बस्न्यातले भने प्रविधिलाई मानिसका वास्तविक समस्या समाधानमा जोड्नु नै कार्यक्रमको मुख्य उपलब्धि रहेको बताइन् । अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालका अध्यक्ष कैलाश विजयानन्दले सहभागी स्टार्टअपहरूले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने समाधान खोज्ने प्रयत्न गरेको उल्लेख गरे ।

फिचर

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully