नेपालमै बन्यो ‘हाइब्रिड’ रकेट, तर उडानका लागि कानुनी बाटो अझै बन्द

नेपालका केही युवा इन्जिनियर र अनुसन्धानकर्ताहरुले पनि यसमा केही उपलब्धि हासिल गरेका छन् । उनीहरुले हाइब्रिड रकेट निर्माण गरेर ग्राउन्ड परीक्षणसमेत गरिसकेका छन् ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — अमेरिका, चीन, भारतलगायत मुलुकले रकेट निर्माण गरेर अन्तरिक्षमा प्रक्षेपण गरेको हामीले सुन्दै आएका छौं । 

नेपालका केही युवा इन्जिनियर र अनुसन्धानकर्ताहरुले पनि यसमा केही उपलब्धि हासिल गरेका छन् । उनीहरुले हाइब्रिड रकेट निर्माण गरेर ग्राउन्ड परीक्षणसमेत गरिसकेका छन् । तर, यसलाई प्रक्षेपण गर्न भने कानुन अभाव छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान-नास्टको मेकर स्पेसको एक कुनामा युवा इन्जिनियरहरु र अनुसन्धानकर्ता दुई वर्षदेखि निरन्तर यसैगरी खटिइरहेका छन् । उनीहरुले उद्देश्य हो रकेट निर्माण र त्यसको सफल परीक्षण । 

म्याक–२४ अर्बिटल्सले नास्टको सहकार्यका नेपालमै बनाएको यो पहिलो हाइब्रिड रकेट हो । अर्थात् यो रकेट व्यावसायिक प्रयोगलाई ध्यानमा राख्दै आधुनिक प्रविधिमा आधारित भएर निर्माण गरिएको छ । हुनत म्याक–२४ अर्बिटल्सले यसअघि पनि सानो आकारका २ दर्जनभन्दा बढी रकेट सफलतापूर्वक परीक्षण गरिसकेको छ। तर, अहिले विकसित गरिएको हाइब्रिड रकेटका लागि २०२४ देखि निरन्तर काम भइरहेको थियो । 

हाल यो रकेटको ५५ पटक ग्राउन्ड टेस्ट भइसके पनि रकेट परीक्षणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा १ किलोमिटरसम्मको उडान परीक्षणका लागि पनि विभिन्न प्रशासनिक तथा प्राविधिक झन्झट भोग्नुपरिरहेको छ।

म्याक–२४ अर्बिटल्सका संस्थापक मोहन तामाङले अनुमति लिने काम भइरहेको बताए। ‘ग्राउन्ड टेस्ट हामीले गरिसक्यौं। इन्जिनले काम गर्छ। तर, रकेटको पूरा प्रणाली चाहिँ रकेट उडिसकेपछि मात्रै परीक्षण हुन्छ। उडान परीक्षणको अनुमतिका लागि हामीले कुरिरहेका छौं,’ उनले भने, ‘नेपालबाट एक सय किलोमिटरभन्दा माथि प्रक्षेपण गर्नका लागि अरू देश तथा निकायको समेत सहमति चाहिन्छ।’

म्याक–२४ अर्बिटल्सले पहिलो चरणमा रकेटलाई करिब १ किलोमिटर उडाउने योजना रहेको छ। त्यसपछि २० किलोमिटरसम्म परीक्षण उडान गर्ने र दीर्घकालीन रूपमा अन्तरिक्षसम्म पुग्न सक्ने रकेट विकास गर्ने लक्ष्य लिइएको छ। तर, त्यसका लागि बजेट अभाव तथा कानुनी समस्या छ । हालसम्म हाइब्रिड रकेट प्रणाली विकासमा करिब ३० लाख रुपैयाँ खर्च भइसकेको छ। 

नेपालबाट १ सय किलोमिटर भन्दामाथि प्रक्षेपण गर्नका लागि अरु देश तथा निकायको समेत सहमति चाहिन्छ । ‘एकदेखि १० किलोमिटरसम्म नेपाली सेना वा सुरक्षा निकायको अनुमति लिएर गर्न सकियो। तर, सय किलोमिटरभन्दा माथिको अन्तरिक्षमा पठाउनका लागि चाहिँ अन्तर्राष्ट्रिय निकायको समेत अनुमति लिनुपर्छ,’ नास्टको स्पेस रिसर्च सेन्टरका प्रमुख हरिराम श्रेष्ठको भनाइ छ। ‘यसको प्रक्षेपण गर्नका लागि चाहिँ हामीलाई ठूलो क्षेत्र वा समुद्रजस्तो ठाउँ चाहिन्छ। त्यसकारण नेपालमा अलि कठिन छ।’

हाल म्याक–२४ अर्बिटल्सले नास्टबाट प्राप्त अनुदान तथा विभिन्न स्रोतबाट जुटाएको लगानीमार्फत् हाइब्रिड रकेट बनाएको हो । ४ दशमलब १ मिटर लामो यो रकेट प्रक्षेपणसंगै नेपाललाई आफ्नै कृत्रिम उपग्रह प्रक्षेपण गर्न सक्ने राष्ट्रको रूपमा स्थापित गर्न अनुसन्धाकर्ताहरुको लक्ष्य छ । 

यद्यपि, रकेट विकासको यात्रा सहज छैन। स्वदेशमै निर्माण गरिएको यस हाइब्रिड रकेटलाई नेपालको विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

फिचर

कान्तिपुर

Link copied successfully