उद्धारपछि काखमा लिएर शिशुलाई स्तनपान गराएको भिडियो भाइरल भएपछि मन्त्री सीता वादीको मातृत्वप्रति सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ ।
What you should know
काठमाडौँ — बिहीबार साँझदेखि सामाजिक सञ्जालमा महिला तथा बालबालिका मन्त्री सीता वादीले उद्धार गरिएकी शिशुलाई स्तनपान गराएको भिडियो सर्वत्र फैलियो । भिडियो देखेर धेरैले सामाजिक सञ्जालमा भावुक सन्देश पोस्ट गरे ।
मन्त्री वादी स्वयं मन्त्रालय जाँदा काखमा १९ महिने छोरा च्यापिरहेकी हुन्छिन् । विभिन्न कार्यक्रममा जाँदा होस् वा मन्त्रालयमा बैठक गरिरहेको क्षण, काखमा बसिरहेका छोरा मातृस्नेहबाट वञ्चित हुन पाउँदैनन् ।
चर्चित भिडियोमा स्तनपान गराइएकी शिशु नेपाल बाल संगठनबाट शनिबार उद्धार गरिएका १७ दिने बालिका हुन् । ‘जब मैले उसलाई काँखमा राखेँ, आफ्नै बाबु सम्झिएँ । थाहै नपाई मेरो आँखा रसाउन थालेछ,’ कान्तिपुरसँगको कुराकानीमा मन्त्री वादीले भनिन् ।
१२ वर्षको उमेरदेखि बालगृहमा हुर्किएकी उनलाई बालबालिकाको मुद्दाले छिटो छुन्छ । ‘जिन्दगीमा न सांसद कहिले हुन्छु सोचेको थिएँ, न मन्त्री । अचानक जिम्मेवारी पाएँ । तर जुन मन्त्रालय पाएँ त्यसलाई म नजिकबाट रिलेट गर्न सक्थेँ,’ मन्त्री वादीले भनिन् ।
मन्त्री वादीले शिशुलाई स्तनपान गराएको घटना गत आइतबारको हो । शनिबार उनको निर्देशनमा नक्सालस्थित नेपाल बाल संगठनको केन्द्रीय कार्यालयमा रहेको बालगृहबाट २ वर्षमुनिका २० जना बालबालिकाको उद्धार गरिएको थियो । त्यसमध्ये १५ दिनदेखि २ वर्षसम्मका १२ बालक र ८ बालिका थिए ।
उद्धार टोलीमा मन्त्रालयका सचिवालय टोली, काठमाडौं महानगरपालिका १ नम्बर वडा समिति सदस्य, महानगर बाल उद्धार कार्यदल संयोजक, काठमाडौं महानगर बाल अधिकार समिति सदस्य र प्रहरी वृत्त मालिगाउँका प्रतिनिधिको समेत सहभागिता थियो ।
उद्धार गर्नुभन्दा दुई हप्ताअघि । ‘नेपाल बाल संगठन पानी परेको बेला हेर्न आउनु, कस्तो अवस्था छ,’ एकदिन मन्त्री वादीको पोस्टमा एक जनाको कमेन्ट आएको रहेछ । सचिवालयले त्यो कमेन्ट देखाएपछि मन्त्री झस्किइन् । त्यसपछि नेपाल बाल संगठनमा रहेका बालबालिकाको अवस्था बुझ्न जाने योजना बनाइन् ।
उनी अनुगमनमा गएको दिन नै त्यहाँ बालबालिकाको अवस्था देखेर बिथोलिइन् । ‘त्यहाँ बालबालिकालाई जसरी राखिएको थियो, त्यो देखेर म भावुक भएँ । बालबालिकाहरूको अनुहारभरि सिँगान र लगाएको कपडा फोहोर थियो,’ उनले भनिन्, ‘त्यहाँबाट फर्किनासाथ मैले यो अवस्था सुधार्न बाल संगठनका व्यवस्थापन पक्षलाई लिखित रुपमै निर्देशन दिएकी थिएँ ।’
तर अचानक अघिल्लो साता काठमाडौं महानगरपालिका वडा नम्बर १ कि वडा सदस्य रसला तण्डुकारले सामाजिक सञ्जालमा फोटो पोस्ट्याइन् । त्यो तस्बिरमा नेपाल बाल संगठनले संरक्षण गरेको बालबालिकाको दयनीय अवस्था थियो । उनले तस्बिरसँगै लेखिन्, ‘बाल मन्दिरमा रहेको बालबालिकाहरूको स्वास्थ्यमा गम्भीर असर पर्न गई जनजीवन अस्तव्यस्त भइरहेको छ ।’
मन्त्री वादीले त्यो तस्बिर देख्नासाथ उद्धारका लागि निर्देशन दिइन् । त्यो दिन झमझम पानी परिरहेको थियो । साँझको ६ बजेतिर बालबालिकाको लागि उद्धार टोली त्यता निस्कियो । ‘२ वर्षमुनिका बालबालिका राख्ने कोठामा ढल पसेको थियो । उनीहरूलाई अफिस कोठामा सारिएको रहेछ । एउटा म्याटमा २० जना दुधे बच्चाहरूलाई अव्यवस्थित तरिकाले सुताइएको थियो । कुखुरालाई चारो दिए जसरी चाउचाउ छरिदिएको थियो,’ उद्धारमा संलग्न मन्त्रीकी स्वकीय सचिव सोनी भट्टराईले भनिन् । ‘उद्धारमा म पनि जाने तरखरमा थिएँ । तर मेरो बाबु बिरामी थियो,’ मन्त्री वादीले थपिन् ।
उद्धारमा संलग्नका अनुसार नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले भने बालबालिकाहरूलाई त्यहाँबाट लान दिइरहेकी थिइनन् । बाल संगठन बन्द गराउने नियतले यस्तो गरिएको उनको आरोप थियो । ‘तर हामीले त्यस्तो बिजोग अवस्थामा बालबालिकालाई कसरी देख्न सक्थ्यौँ । हामीले उनीहरूलाई उद्धार गरेर लैजाँदै गर्दा साँच्ची बालबालिकाले न्याय पाएजस्तो भयो,’ उद्धारमा खटिएका मन्त्रीका अर्का स्वकीय सचिव रमेश रोक्काले भने । लाने बेला गाडीमा चढेपछि दुई बालक उनको काखमा रमाइरहेका थिए । त्यो देखेर आफूले आँसु थाम्न नसकेको उनले बताए ।
जुन बालगृहमा बालबालिका उद्धार गरेर राखिएको थियो, त्यहाँ कुनै पनि कुराको कमी हुन नदिन मन्त्री वादीले सचिव र सहसचिवलाई डाकेर बैठक राखिन् । उद्धारमा जान नपाए पनि भोलिल्ट साँझ उद्धार गरेर राखिएको बालगृहमा डाक्टर रामजी रामको चिकित्सकीय टोली लिएर पुगिन् ।
कोही बच्चाका आँखा पाकेका थिए, कसैका छालामा समस्या । कोही खोकीले ग्रस्त थिएन । डा. रामजी रामको टोलीले स्वास्थ्य जाँच गरिरहेको थियो । मन्त्री आफैं बच्चाहरूको दिसा सफा गर्ने र जिउ सफा गर्ने ध्याउन्नमा थिइन् ।
त्यही क्रममा १७ दिनकी शिशु लगातार रोइरहिन् । उनको रुवाइ कसैले पनि साम्य पार्न सकेन । उद्धारमा संलग्न टोलीले बच्चाका लागि दूध मगाए । तर त्यहाँ दूध पनि थिएन । मन्त्री शिशुको नजिक गएर काखमा लिइन् । बच्चालाई आफ्नो छातीमा टाँसिन् र दूध खुवाइन् । त्यसपछि शिशुको रुवाइ बन्द भयो । त्यो दृश्य देखेर मन्त्रीकी स्वकीय सचिव सोनीले भावुक हुँदै भनिन्, ‘यो बच्चाले जन्मेदेखि आजसम्म दूध खान पाएको रहेनछ है ।’ मन्त्रीले जवाफ फर्काइन्, ‘अब उसको आमै म भएँ नि ।’
अहिले उक्त बालगृहमा उद्धार गरिएका बालबालिका हेर्न पाँच महिला खटाइएको छ । उनीहरू १ जनाले पाँच बालबालिकाको स्याहार गर्नेछन् ।
‘हामीले उहाँहरूलाई कहाँबाट तलब दिने टुंगो नगरी राख्यौँ । यो आकस्मिक अवस्था थियो । अहिले बालबालिकाहरूमा धेरै सुधार आएको छ,’ मन्त्री वादीले भनिन् ।
उनले त्यो दिन ती शिशुलाई दुई पटकसम्म स्तनपान गराइन् । ‘मन्त्रीज्यूले रुँदै स्तनपात गराउनुभएको देखेर हामी पनि निकै भावुक भयौँ,’ सोनी भन्छिन् ।
बालबालिकालाई उद्धार गरेर ल्याएपछि मन्त्री वादीलाई बाल संगठन बन्द गराउन लागेको आरोप थियो । आरोपबारे उनी भन्छिन्, ‘हामीलाई त यो बन्द गर्नु छैन । कसैसँग रिस पनि छैन । मात्र यहाँ बालबालिकाको राम्रो व्यवस्था हुनुपर्यो भन्ने हो ।’
अहिले उनीहरूलाई जहाँ राखिएको छ त्यो अस्थायी सेल्टर भएको उनी बताउँछिन् । ‘यो अस्थायी मात्र हो । नेपाल बाल संगठन नेपाल सरकारको जग्गा हो । त्यसलाई राम्रोसँग सदुपयोग गरेको भए समस्या नै आउँथेन । यो त पहिल्यै गर्न सकिन्थ्यो नि,’ उनले भनिन् ।
त्यहाँ निर्माणाधीन भवनबारे आफूहरूले चासो राखिरहेको उनले बताइन् । ‘चार महिनामा हस्तान्तरण गर्ने भनिएको छ । मलाई अब त्यो भवनभित्र बालबालिकाका लागि नमुना नै बनाउन मन छ । कम्तीमा अभिभावक नभएका बच्चाले अभिभावकहीन महसुस गर्न नपाउन्,’ उनले भनिन् ।
बाल संगठनलाई लिएर मन्त्री वादीको एउटा योजना पनि छ । उनी योजनाबारे भन्छिन्, ‘सरकारी कर्मचारीको वर्षको एक दिनको तलब मात्र राख्ने हो भने १ अर्ब चानचुन हुने रहेछ । त्यो पैसाले यो संस्थालाई धेरै राम्रो बनाउन सकिन्छ । बालबालिकाको लागि उत्कृष्ट व्यवस्था गर्न सकिन्छ ।’ बालगृहमा हुर्किएका धेरैको नागरिकताको समस्या छ । मन्त्री वादीले त्यो समस्या समाधानका लागि पनि आफूहरुले काम गरिरहेको सुनाइन् ।
नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या न्यौपानेसँग पनि हामीले मन्त्रीको निर्देशनमा भएको उद्धारको विषयबारे सोध्यौँ । उनले पुरानो ढल र निर्माणाधीन भवनको लेदोका कारण पानी जमेर समस्या हुन पुगेको बताइन् । ०७८ सालमै सम्पन्न हुनुपर्ने मूल भवनको मर्मत र 'रेट्रोफिटिङ' को काम ठेकेदारको ढिलासुस्तीले गर्दा अहिलेसम्म पनि पूरा नहुँदा बालबालिकाहरूले यस्तो समस्या भोग्नुपरेको उनले सुनाइन् । तर सरकारी टोली उद्धारमा आउनुअघि नै आफूहरूले सुरक्षित ठाउँमा सारेको दाबी उनको छ ।
‘हामीले संकटको समयमा सरकारी टोली आउनुभन्दा पहिले नै बालबालिकाहरूलाई सुरक्षित रूपमा संगठनको आफ्नै कार्यालय क्षेत्रमा सारेर खाना खुवाउने प्रबन्ध गरिरहेका थियौँ । सरकारले बालबालिकाको सुरक्षा गर्नु उसको दायित्व हो । म सरकारको यो कदमलाई सकारात्मक रूपमा लिन्छु,’ उनले भनिन् ।
उद्धारमा संलग्न महानगर बाल अधिकार समिति सदस्य प्रविन सिलवालले महानगरपालिकाको वातावरण विभाग र वडा नम्बर १ को कार्यालयले यसअघि पनि थुप्रै पटक ढल निकासाका लागि काम गरिरहेकै अवस्था भएको बताए ।
‘त्यसदिन चाहिँ जीर्णोद्धारको कामले गर्दा थप समस्या देखिएको र २ दिनदेखि अविरल वर्षा समेत भएकाले बालबालिका नै त्यो स्थानबाट सुरक्षाका दृष्टिकोणले स्थानान्तरण गरिएको हो,’ उनले भने । बाल मन्दिर काठमाडौंका दुवै बालगृहरू महानगर क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ बाल गृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ बमोजिमको मापदण्ड कायम गराउन महानगरपालिका र नेपाल बाल संगठनबीच आवश्यक समन्वय भइरहेको उनले बताए ।
